गालीले रातभर निद्रा हराएपछि ज्योतिषीकहाँ पुगे दीपकराज गिरी, साढेसाती कटाउन पूजा गर्दा पनि घटेन आलोचना!
काठमाडौँ– सामाजिक सञ्जालमा लगातार गाली आउन थालेपछि हास्यकलाकार तथा निर्माता दीपकराज गिरी ज्योतिषीकहाँ पुगेका थिए। गालीका कारण रातभर निद्रा नलाग्ने र मानसिक तनाव हुने अवस्था आएपछि उनले ज्योतिषीसँग आफ्नो समस्याबारे सल्लाह लिए। तर, ज्योतिषीको सुझावअनुसार साढेसातीको दशा कटाउन पूजा गरेर त्यसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दा पनि उनी आलोचनाबाट बच्न सकेनन्।
गिरीले सामाजिक सञ्जालमा लेखेको लामो टिप्पणीमा आफ्नो सुरुवाती अनुभव सुनाउँदै गालीगलौजले आफूलाई निकै प्रभावित पार्ने गरेको बताएका छन्। उनका अनुसार सुरुका दिनमा सामाजिक सञ्जालमा गाली आउँदा रातभर निद्रा लाग्दैनथ्यो। मनमा त्यही टिप्पणी खेलिरहन्थ्यो। सुरुमा त एउटा गालीले एक सातासम्मै मानसिक रूपमा असर गर्ने गरेको उनले उल्लेख गरेका छन्।
गालीको असर क्रमशः घट्दै गए पनि एक समय आफू निकै तनावमा पुगेको गिरीले बताएका छन्। त्यसपछि उनले ज्योतिषीलाई फोन गरेर आफूलाई मात्रै किन यसरी गालीको वर्षा भइरहेको छ भनेर जिज्ञासा राखेका थिए।
ज्योतिषीले साढेसातीको दशा लागेको भन्दै पूजा गर्न सुझाव दिएपछि गिरीले पनि त्यसैअनुसार पूजा लगाएको सुनाएका छन्। तर, पूजा गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यहाँ पनि आलोचना सुरु भयो। उनलाई टिप्पणी गर्नेहरूले ‘पाप गरेर अब आएर धर्मकर्ममा लागिस् ?’ भन्ने आशयका प्रतिक्रिया दिएको गिरीले स्मरण गरेका छन्।
पूजा गर्दा पनि गालीबाट छुटकारा नपाएको उनको अनुभवले सामाजिक सञ्जालमा व्यक्त हुने प्रतिक्रियाको चरित्रमाथि व्यङ्ग्य गरेको छ। कुनै काम गर्दा पनि आलोचना र नगर्दा पनि आलोचना खेप्नुपर्ने अवस्था बनेको उनको भनाइ छ।
गिरीले आफ्नो पोस्टमा अहिले सामाजिक सञ्जालमा गालीगलौज एउटा संस्कृतिजस्तै बनिसकेको टिप्पणी गरेका छन्। फरक विचार राख्दा, फरक आस्था व्यक्त गर्दा वा कुनै विषयमा मौन बस्दा पनि गालीको सामना गर्नुपर्ने अवस्था रहेको उनको विश्लेषण छ। चलचित्रको पोस्टर हेरेरै बहिष्कारको घोषणा गर्ने र कसैले बोलेको कुरालाई अनेक अर्थ लगाएर घृणा फैलाउने प्रवृत्ति बढेको उनले बताएका छन्।
उनले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले समेत सामाजिक सञ्जालमा गाली खाएको देखेपछि बल्ल आफ्नो समस्या व्यक्तिगत नभएको महसुस भएको उल्लेख गरेका छन्। पाँच दशकभन्दा बढी समय कला क्षेत्रमा बिताएका र विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा योगदान दिएका कलाकारहरूमाथि समेत अपमानजनक टिप्पणी हुनु दुःखद भएको उनको आशय छ।
हरिवंश आचार्यले केही मानिसको काम नै नकारात्मकता फैलाउने र गाली गर्ने बनेको टिप्पणी गरेको प्रसंग पनि गिरीले उल्लेख गरेका छन्। पछिल्लो समय केही दिन गाली नआए पनि के नपुगेजस्तो लाग्न थालेको भन्दै उनले व्यङ्ग्य गरेका छन्।
आफूले सामाजिक सञ्जालमा पाउने गाली देखेर पत्नीसमेत चिन्तित हुने गरेको गिरीले बताएका छन्। तर, मदनकृष्ण र हरिवंशले समेत गाली खाएको देखेपछि पत्नीले पनि कमेन्ट बक्स हेर्न छाडेको उनको भनाइ छ।
गिरीको यो टिप्पणी सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रियाको विषय बनेको छ। केहीले सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र बहिष्कारको प्रवृत्तिबारे उनले उठाएको विषयलाई समर्थन गरेका छन्। अर्कोतर्फ, केही प्रयोगकर्ताले उनको विगतका अभिव्यक्ति र व्यवहारलाई जोड्दै अहिलेको आलोचनालाई आफ्नै कर्मको परिणाम भएको टिप्पणी गरेका छन्।
यसरी गालीबाट बच्न ज्योतिषीको सल्लाहमा पूजा गर्दासमेत आलोचना खेप्नुपरेको अनुभव सुनाएका गिरीले अन्ततः गालीलाई गायत्री मन्त्र सम्झेर रिसाउनुको सट्टा हाँसेर बाँच्नुपर्ने निष्कर्ष निकालेका छन्। उनको पोस्टको अन्त्य व्यङ्ग्यात्मक नारासहित छ— ‘जय गाली, जय घृणा !’


