जेनजी आन्दोलनमा कारागारबाट फरार भएका बलात्कार मुद्दाका दोषी आफ्नै घरबाट पक्राउ !
इटहरी– जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी झण्डै चौध महिनापछि आफ्नै घरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे छन्। उनलाई आइतबार साँझ करिब ६ बजे प्रहरीले आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी पोष्ट सामझालाबाट खटिएको प्रहरी टोलीले खत्वेलाई घरमै फेला पारेर पक्राउ गरेको हो।
खत्वेलाई सुनसरी जिल्ला अदालतले २०८१ माघ ३ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
अदालतको फैसला कार्यान्वयनका क्रममा कारागारमा रहेका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको मौका छोपेर फरार भएका थिए। त्यसयता उनी प्रहरीको खोजीमा थिए।
कारागारबाट फरार भएका कैदीबन्दीको खोजी तथा नियन्त्रण गर्ने अभियानकै क्रममा प्रहरीले खत्वेलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका खत्वेलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

