शशांक कोइरालाको राजनीतिक यात्रा निर्णायक मोडमाः बीपीको विरासतबाट देउवा समूहको सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको इतिहास, विरासत र नेतृत्वको राजनीतिमा कोइराला परिवारको नाम सधैँ केन्द्रमा रह्यो। बीपी कोइरालाले स्थापना गरेको पार्टीको नेतृत्व गर्ने सम्भावित उत्तराधिकारीका रूपमा कुनै समय हेरिएका शशांक कोइराला अहिले आफ्नै राजनीतिक भविष्यको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्।

पार्टीको आधिकारिक नेतृत्वको विवाद नसुल्झिए समानान्तर महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाले शशांकलाई नै सभापतिका रूपमा अघि सार्ने संकेत दिएका छन्। देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको १५औँ महाधिवेशनबाट शशांकलाई सभापति बनाउने रणनीति बनाएको छ।

महाधिवेशन तयारी समितिको संयोजकसमेत रहेका शशांकलाई नेतृत्वमा स्थापित गर्ने विषयमा देउवा स्वयं सकारात्मक देखिएपछि उक्त समूहभित्र उनको विकल्प खोज्ने सम्भावना कमजोर बनेको नेताहरूको दाबी छ।

देउवा पक्षका एक शीर्ष नेताका अनुसार शशांकलाई महाधिवेशन आयोजक समितिको जिम्मेवारी दिनु औपचारिक व्यवस्थापन मात्रै थिएन, उनलाई भावी सभापतिका रूपमा अघि बढाउने पूर्वतयारीसमेत थियो। ‘शेरबहादुर दाइले शशांक कोइरालालाई नै सभापति बनाएर जानुपर्छ भन्नुभएको छ। यो समूह नै शेरबहादुर देउवा समूहको हो। उहाँको चाहना बाहिरबाट नेतृत्व आउने अवस्था छैन,’ ती नेताले भने, ‘उहाँलाई महाधिवेशन गराउन मात्रै जिम्मेवारी दिइएको होइन। मलाई शशांक कोइरालालाई नै अगाडि बढाउनुपर्छ भन्नुभएको छ।’

देउवाको यो संकेतसँगै कांग्रेसको समानान्तर राजनीतिक अभ्यासमा शशांकको भूमिका आयोजक समितिको संयोजकबाट सम्भावित सभापतिसम्म विस्तार भएको छ। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासमेत उनलाई नेतृत्वमा पु¥याउन सकारात्मक रहेको देउवा पक्षको दाबी छ।

तीनै नेताको समर्थन जुट्नु शशांकका लागि महत्वपूर्ण राजनीतिक आधार बनेको छ। सिटौला १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी थिए भने सिंह र निधिले १४औँ महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। अघिल्ला महाधिवेशनमा फरक राजनीतिक समूह र प्रतिस्पर्धामा रहेका नेताहरू अहिले शशांकको नेतृत्वमा एउटै कित्तामा उभिने परिस्थिति बनेको छ।

१४औँ महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी रहेका शेखर कोइरालासमेत अहिले देउवा समूहसँग कार्यगत एकतामा देखिएका छन्। पार्टीको वैधानिकता विवादले सिर्जना गरेको परिस्थितिले कांग्रेसभित्र पुराना प्रतिस्पर्धीलाई एउटै राजनीतिक समीकरणमा ल्याएको छ।

शशांकलाई आयोजक समितिको नेतृत्वमा ल्याउने निर्णय पनि यही समीकरणको परिणाम थियो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का आयोजक समितिको नेतृत्व लिन पछि हटेपछि देउवा पक्षले शेखर कोइरालालाई नेतृत्व सम्हाल्न प्रस्ताव गरेको थियो। नेता रमेश लेखकमार्फत पठाइएको प्रस्तावमा शेखर सकारात्मक थिए।

शेखरले आफू नेतृत्व लिन तयार रहेको संकेत दिए पनि पार्टी एकताका लागि संवाद अघि बढाउनुपर्ने भन्दै पूर्वमहामन्त्री शशांकलाई संयोजक बनाउन सुझाव दिएका थिए। त्यसबेला विदेशमा रहेका देउवालाई पनि शशांकलाई संयोजक बनाउने प्रस्तावबारे जानकारी गराइएको थियो।

देउवाले बीपी कोइरालाका छोरा शशांकलाई नेतृत्वमा ल्याउनु उपयुक्त हुने प्रतिक्रिया दिएको नेताहरूको भनाइ छ। त्यसपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र शशांकबीच सहमति जुटेको थियो। उक्त सहमतिलाई चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा अन्य शीर्ष नेताहरूलाई समेत जानकारी गराइएको थियो।

प्रकाशशरण महत, एनपी साउद र रमेश लेखकले पनि शशांकको नेतृत्वमा महाधिवेशनमा जाने सहमतिमा समर्थन जनाएका थिए। यही सहमतिलाई आगामी महाधिवेशनबाट सभापति चयन गर्ने आधारका रूपमा देउवा समूहले अघि बढाएको छ।

पार्टी विभाजनको नेतृत्व नगर्ने अडान राख्दै आएका पूर्णबहादुर खड्का भने यो समूहबाट अलग भएका छन्। यसले देउवा समूहभित्र नेतृत्वको समीकरण मात्र होइन, पार्टीको भावी राजनीतिक दिशाबारे पनि मतभिन्नता रहेको देखाउँछ।

देउवाको समर्थन, आकांक्षीको व्यवस्थापन
शशांकलाई सभापति बनाउने रणनीति अघि बढे पनि देउवा समूहभित्र सभापतिका आकांक्षी नै नभएका भने होइनन्। प्रकाशशरण महत र एनपी साउदले पनि नेतृत्वका लागि रुचि देखाएका छन्। महतले सभापतिको दाबेदारीबारे निर्णय गर्नुअघि नेताहरूसँग छलफल गर्ने बताएका छन्।

‘साथीहरूसँग छलफल गरेर सभापतिको दाबेदारीका विषयमा टुंगो लगाउँछु। एनपीजीसँग पनि छलफल भएको छैन,’ महतले भने। तर, देउवाले नै शशांकलाई अघि सारेपछि महत र साउदले त्यसलाई चुनौती दिने सम्भावना कम रहेको देउवा पक्षीय नेताहरूको बुझाइ छ। देउवा समूहमा लामो समयदेखि प्रभाव राख्दै आएका नेताहरूलाई एक ठाउँमा राखेर सर्वसम्मत नेतृत्व चयन गर्ने रणनीति देखिन्छ।

यसका लागि वरिष्ठ नेताहरूको व्यवस्थापनदेखि पदाधिकारी चयनसम्मको गृहकार्य भइरहेको छ। विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई वरिष्ठ नेताका रूपमा व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ। प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायतका नेताहरूलाई पदाधिकारीमा समेट्ने तयारी छ।

हाल कायम पदाधिकारीको संख्यालाई आधार बनाएर महाधिवेशन गर्ने र त्यसपछि सभापतिले मनोनयन गर्ने पदमा केही थप व्यवस्था गर्न सकिने देउवा समूहको योजना छ। यसबाट सभापतिको प्रतिस्पर्धा टार्दै विभिन्न गुट र नेताहरूलाई एउटै संरचनामा समेट्ने प्रयास भइरहेको देखिन्छ।

चिकित्सकबाट महामन्त्री हुँदै सभापतिको दाबेदार
शशांकको राजनीतिक यात्रा अन्य नेताहरूको भन्दा फरक पृष्ठभूमिबाट सुरु भएको हो। राजनीतिमा प्रवेश गर्नुअघि उनी चिकित्सक थिए। नेत्र विशेषज्ञका रूपमा परिचित शशांकलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सक्रिय राजनीतिमा ल्याएका थिए।

२०६२ सालमा सम्पन्न कांग्रेसको ११औँ महाधिवेशनबाट उनी केन्द्रीय राजनीतिमा प्रवेश गरे। खुलातर्फ २५ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा शशांक पनि निर्वाचित भएका थिए। त्यही समय गिरिजाप्रसादले शेखर कोइरालालाई समेत मनोनयन गरेर केन्द्रीय कार्यसमितिमा ल्याएका थिए।

कोइराला परिवारको राजनीतिक विरासत बोकेका शशांकले छोटो समयमै पार्टीभित्र आफ्नो स्थान बनाए। २०७२ सालमा भएको १३औँ महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भए। उक्त निर्वाचनमा उनले देउवा समूहका अर्जुननरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहका गगन थापालाई पराजित गरेका थिए। शेखर कोइराला भने केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका थिए।

त्यसपछि शशांकलाई बीपी कोइरालाको राजनीतिक विरासतको स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिन थालियो। पार्टीभित्र उनको पारिवारिक पहिचान, कार्यकर्तामाझको भावनात्मक आकर्षण र विभिन्न समूहसँग संवाद गर्न सक्ने क्षमताले उनलाई भावी सभापतिको सम्भावित उम्मेदवार बनाएको थियो।

१४औँ महाधिवेशनमा पनि उनको सभापति बन्ने आकांक्षा थियो। तर संस्थापन पक्षबाट देउवा पुनः उम्मेदवार बनेपछि इतर समूहबाट शेखर कोइराला अघि आए। अन्ततः शशांक सभापतिको प्रतिस्पर्धामा उत्रिएनन्।

अहिले भने परिस्थिति फेरिएको छ। कुनै समय सिंगो कांग्रेसको नेतृत्व गर्ने सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका शशांक पार्टीको वैधानिकता विवादबाट बनेको अलग राजनीतिक संरचनाको सभापति बन्ने बाटोमा छन्।

बीपीको पार्टीबाटै अलग हुने विडम्बना
शशांकको सम्भावित नेतृत्वसँग जोडिएको सबैभन्दा गम्भीर प्रश्न उनको राजनीतिक विरासतसँग सम्बन्धित छ। बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसको मूल नेतृत्व कसले गर्ने भन्ने विवाद अब कानुनी र राजनीतिक दुवै मोर्चामा पुगेको छ।

हाल कांग्रेसको वैधानिक नेतृत्व गगन थापाको हातमा छ। गत पुसमा भएको विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापा असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन्। उक्त विशेष महाधिवेशन र त्यसपछि भएको नियमित महाधिवेशनमा सहभागी नभएका देउवा पक्षीय नेताहरू भने छुट्टै राजनीतिक संरचना बनाएर अघि बढिरहेका छन्।

थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले वैधता दिएको थियो। तर उक्त निर्णय त्रुटिपूर्ण रहेको जिकिरसहित सर्वोच्च अदालतले गत साउनमा पुनरावलोकनको अनुमति दिएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी विवाद फेरि सक्रिय भएको छ।

यही विवादको अन्तिम टुंगो नलागे आगामी स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने समयसीमाअघि देउवा पक्षले शशांकको नेतृत्वमा नयाँ दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्ने नेताहरूको आकलन छ। त्यसका लागि ‘नेपाली राष्ट्रिय कांग्रेस’, ‘नेपाली कांग्रेस (मूलधार)’ र ‘अग्रगामी कांग्रेस’ लगायतका नामसमेत प्रस्तावका रूपमा चर्चामा ल्याइएको छ।

यसरी नयाँ दल दर्ता गर्नुपर्ने अवस्था आए शशांकले आफ्नै पिता बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसको मूल संरचनाबाट अलग राजनीतिक अस्तित्व स्वीकार गर्नुपर्नेछ। यही सम्भावनाले उनको नेतृत्वको राजनीतिक अर्थलाई थप जटिल बनाएको छ।

बीपीका तीन छोरामध्ये प्रकाश र शशांक सक्रिय राजनीतिमा आए। जेठा छोरा प्रकाश कोइराला भने २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको कदमको समर्थन गरेपछि कांग्रेसबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका थिए। त्यसयता उनी पार्टीको मूल राजनीतिक प्रवाहबाट बाहिर छन्।

प्रकाश मूलधारबाट बाहिरिएपछि गिरिजाप्रसाद कोइरालाले कोइराला परिवारको राजनीतिक उपस्थिति कायम राख्न शेखर र शशांकलाई एकसाथ केन्द्रीय राजनीतिमा अघि सारेका थिए। तर अहिलेको वैधानिकता विवादले नयाँ परिस्थिति सिर्जना गरेको छ। देउवा समूहले कानुनी मान्यता पाउन नसकेको अवस्थामा शशांक र शेखरसमेत कांग्रेसको मूलधारबाट बाहिरिने सम्भावना रहन्छ।

यसले कोइराला परिवारको राजनीतिक विरासत कुन संरचनामा रहने भन्ने प्रश्न खडा गरेको छ। बीपीको नाम र विरासत बोकेर कांग्रेसको नेतृत्व गर्ने अपेक्षा गरिएका शशांक आफैँले नेतृत्व गर्ने पार्टीको नाम र राजनीतिक पहिचानसमेत अलग बनाउनुपर्ने अवस्थामा पुग्न सक्छन्।

कांग्रेसको भविष्य अदालतको निर्णयमा
कांग्रेसभित्रको अहिलेको संघर्ष केवल सभापतिको पदका लागि भइरहेको प्रतिस्पर्धा मात्र होइन। यो पार्टीको वैधानिकता, संस्थागत निरन्तरता, नेतृत्वको स्वामित्व र ऐतिहासिक विरासतसँग जोडिएको विवाद हो।

एकातिर गगन थापा नेतृत्वको कार्यसमिति पार्टीको आधिकारिक संरचनाका रूपमा अघि बढिरहेको छ भने अर्कोतिर देउवा पक्षले समानान्तर महाधिवेशनमार्फत आफ्नो राजनीतिक अस्तित्व र नेतृत्व स्थापित गर्न खोजिरहेको छ। यस्तो अवस्थामा शशांकलाई सभापतिमा अघि सार्नु देउवा समूहका लागि रणनीतिक निर्णयसमेत हुन सक्छ।

बीपी कोइरालाको पारिवारिक विरासतले शशांकलाई भावनात्मक र ऐतिहासिक पहिचान दिन्छ। देउवाको समर्थनले उनलाई संगठनात्मक शक्ति र नेतृत्वको दाबी गर्ने आधार दिन सक्छ। तर यी दुवै आधारले मात्रै सिंगो कांग्रेसको वैधानिक नेतृत्व सुनिश्चित गर्दैनन्।

अन्ततः सर्वोच्च अदालतको अन्तिम फैसला र निर्वाचन आयोगको निर्णयले कुन पक्षले आधिकारिक नेपाली कांग्रेसको पहिचान पाउने भन्ने टुंगो लगाउनेछ। त्यसको परिणामले शशांकको राजनीतिक भविष्य मात्र होइन, कांग्रेसको विभाजन, कोइराला परिवारको विरासत र पार्टीको ऐतिहासिक पहिचानसमेत प्रभावित गर्नेछ।

कुनै समय बीपीको उत्तराधिकारीका रूपमा सिंगो कांग्रेसको सभापति बन्ने अपेक्षा गरिएका शशांक अहिले देउवा समूहको सभापति बन्ने सम्भावनासम्म आइपुगेका छन्। प्रश्न अब उनले सभापति जित्छन् कि जित्दैनन् भन्ने मात्रै रहेन, उनले नेतृत्व गर्ने राजनीतिक संरचना नै बीपीले स्थापना गरेको नेपाली कांग्रेस रहन्छ कि त्यसबाट अलग नयाँ दल बन्छ भन्ने हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट