चार वर्षको सजाय, तीन वर्षमै रिहाइ ! नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी जेलबाट छुट्दै

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा हुने भएका छन्। चार वर्ष कैद सजाय सुनाइएका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअन्तर्गत २५ प्रतिशत कैद छुट पाएपछि तीन वर्षमै सजाय भुक्तान गरेको आधारमा रिहाइ पाउने भएका हुन्।

काठमाडौं जिल्ला अदालतको तहसिल शाखाले कात्तिक १३ गते उनको कैद अवधि गणना गरी संशोधित कैदी पुर्जी कारागार पठाएपछि रिहाइको प्रक्रिया अघि बढेको हो। अदालतको आदेशअनुसार कात्तिक २६ गते उनी कारागारबाट बाहिरिने तयारीमा छन्। तर रिहाइअघि पीडित राहत क्षतिपूर्तिबापत तोकिएको एक हजार ६ सय रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम बुझाएपछि र अन्य कुनै मुद्दा वा पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको अवस्थामा उनी रिहा हुनेछन्।

काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै रायमाझीलाई चार वर्ष कैद, ४० हजार रुपैयाँ जरिवाना र एक हजार ६ सय रुपैयाँ पीडित राहत क्षतिपूर्ति भराउने फैसला गरेको थियो। फैसलापछि उनी सजाय भुक्तानका लागि डिल्लीबजार कारागारमै रहँदै आएका थिए।

रायमाझीको रिहाइको मुख्य आधार ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बनेको छ। उक्त व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका कैदीलाई कैद सजायमा २५ प्रतिशत छुट दिन सकिने प्रावधान छ। रायमाझी कात्तिक २५ गते ६५ वर्ष पूरा गर्ने भएपछि उक्त सुविधा लागू हुने आधार बनेको हो।

चार वर्षको कैद सजायमा २५ प्रतिशत छुट दिँदा एक वर्ष घटेर तीन वर्ष कायम हुन्छ। रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। पक्राउ परेदेखि नै निरन्तर थुनामा रहेका उनले २०८३ वैशाख १९ गते तीन वर्ष कैद अवधि पूरा गरिसकेको अदालतको कैद गणनामा देखिएको छ। ज्येष्ठ नागरिकसम्बन्धी सुविधा लागू भएपछि उनको कैद अवधि पूरा भएको मानिएको हो।

अदालतले कैद सजायसँगै तोकेको ४० हजार रुपैयाँ जरिवाना नबुझाएबापत लाग्ने थप कैद अवधिसमेत यसअघि थुनामा बसेको अवधिबाट हिसाब मिलान हुने गरी गणना गरिएको छ। तर पीडित राहत क्षतिपूर्तिबापतको एक हजार ६ सय रुपैयाँ भने रिहाइअघि नै बुझाउनुपर्नेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको आरोपमा तत्कालीन राजनीतिक तथा प्रशासनिक वृत्तका व्यक्तिहरूमाथि अनुसन्धान भएको थियो। प्रकरणमा विभिन्न व्यक्ति पक्राउ परेका थिए। पूर्वउपप्रधानमन्त्री तथा पूर्वमन्त्री रायमाझी पनि यही प्रकरणमा पक्राउ परेका थिए।

लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका रायमाझी पक्राउ परेदेखि नै कारागारमा रहँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट