जेनजी आन्दोलनको अराजकतामा भागेका कैदी अझै बेपत्ता, बलात्कारीदेखि हत्यारासम्मका २ हजार ८९६ जना फरार !
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते उत्पन्न अव्यवस्थाको मौका छोपेर कारागार तथा बालगृहबाट फरार भएका कैदीबन्दीमध्ये दुई हजार ८९६ जना अझै पक्राउ परेका छैनन्। फरार हुनेमा बलात्कार, हत्या, लागुऔषध कारोबार, डाँकाचोरी, ठगी र अपहरणजस्ता गम्भीर अपराधमा संलग्न भई सजाय भुक्तान गरिरहेका कैदीसमेत छन्। आन्दोलनका क्रममा फरार भएकामध्ये ठूलो संख्या अझै कारागारको पहुँचबाहिर रहनुले सुरक्षा चुनौती कायमै रहेको देखाएको छ।
कारागार व्यवस्थापन विभागको अभिलेखअनुसार हालसम्म फरार रहेका दुई हजार ८९६ जनामध्ये दुई हजार ६७६ जना नेपाली र २२० जना विदेशी नागरिक छन्। आन्दोलनका क्रममा कारागार र बालगृहबाट गरी कुल १४ हजार ५४९ जना फरार भएका थिए। तीमध्ये अधिकांशलाई पक्राउ वा फिर्ता ल्याइए पनि हजारौँ अझै सम्पर्कबाहिर छन्।
फरार कैदीबन्दीको अपराधसम्बन्धी विवरणले अवस्था थप गम्भीर देखाउँछ। विभागको अभिलेखअनुसार जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक हजार ३२ जना अझै फरार छन्। त्यस्तै, लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न ९३७ जना पक्राउ पर्न बाँकी छन्।
कर्तव्य ज्यान मुद्दाका ४९३ जना, चोरीका २४३ जना, डाँकाचोरीका १३६ जना, ठगीका ७६ जना र बैंकिङ कसुरका ५६ जना पनि फरार सूचीमा छन्। यसैगरी सुन चोरी पैठारीका ३५ जना र वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न २५ जना अझै नियन्त्रणमा आउन सकेका छैनन्।
बाँकी १३७ जनामध्ये सवारी ज्यान, चेक अनादर, बहुविवाह, हातहतियार तथा खरखजाना, सहकारी ऐनसम्बन्धी कसुर र ज्यान मार्ने उद्योगलगायतका मुद्दाका कैदीबन्दी छन्। विभागका अनुसार यीमध्ये अधिकांश दोषी ठहर भइसकेका व्यक्ति हुन् भने केही पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त हुन्।
केन्द्रीय कारागारबाट मात्रै १ हजार १३१ जना फरार
कारागारगत विवरण हेर्दा सबैभन्दा धेरै कैदीबन्दी केन्द्रीय कारागारबाट फरार भएका छन्। उक्त कारागारबाट भागेका एक हजार १३१ जना अझै फिर्ता आएका छैनन्। महोत्तरी कारागारबाट फरार भएका ३०६ जना र कैलाली कारागारबाट भागेका ३०५ जना पनि अझै पक्राउ पर्न सकेका छैनन्।
त्यस्तै, नख्खु कारागारबाट २५३ जना, नवलपरासी कारागारबाट १७५ जना, कास्की कारागारबाट १४४ जना, कपिलवस्तु कारागारबाट ११६ जना र दाङको तुलसीपुर कारागारबाट ५७ जना फरार छन्। अन्य कारागारबाट भागेका ४०९ जना पनि अझै विभागको फरार सूचीमा छन्।
दैनिक पक्राउ परिरहेका छन्, केही पुनः अपराधमा संलग्न
प्रहरीका अनुसार फरार कैदीबन्दीको खोजी अभियान अझै जारी छ। प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेका अनुसार दैनिकजसो फरार कैदीबन्दी पक्राउ परिरहेका छन्।
फरार व्यक्तिहरूको खोजीका लागि जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली गठन गरी परिचालन गरिएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले पनि विभागबाट प्राप्त फरार सूचीका आधारमा खोजी गरिरहेका छन्।
प्रहरीले पछिल्ला दिनमा पक्राउ गरेका केही व्यक्तिको आपराधिक अभिलेख जाँच गर्दा उनीहरू जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी रहेको खुलेको छ। विगतमा लागुऔषध कारोबार, जबरजस्ती करणी, कर्तव्य ज्यान र डाँकाचोरीजस्ता मुद्दामा दोषी ठहर भएर जेल परेका केही व्यक्ति पुनः आपराधिक गतिविधिमा संलग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको अपराध अभिलेख प्रणाली (सीआरएस) जाँच गर्दा पटकपटक मुद्दा चलेर कारागार पुगेका व्यक्तिहरू पनि पछिल्लो समय पक्राउ परेको अवस्थामा भेटिएका छन्। डीआईजी काफ्लेले फरार कैदीबन्दीको निगरानीका लागि सूचना संयन्त्र परिचालन गरी खोजी भइरहेको बताएका छन्।
उनका अनुसार फरार कैदीबन्दीमध्ये केहीलाई पक्राउ गरी पुनः कारागार बुझाइसकिएको छ। तर बाँकी रहेका व्यक्तिहरूको खोजी र निगरानीलाई प्रहरीले निरन्तरता दिइरहेको छ।
विदेशी फरारमध्ये अधिकांश भारतीय नागरिक
फरार भएका २२० विदेशी नागरिकमध्ये अधिकांश भारतीय रहेको प्रहरीको भनाइ छ। उनीहरू कारागारबाट भागेपछि भारततर्फ गएको हुन सक्ने भएकाले पक्राउ गर्न चुनौती रहेको प्रहरी स्रोतले जनाएको छ।
भारतीय सीमातर्फ फरार भएका व्यक्तिहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएका छन्। खुला सीमाका कारण उनीहरूको आवागमन तथा सम्भावित लुक्ने स्थान र अवस्थाको पहिचान गर्न सुरक्षा निकायले सूचना संयन्त्रसमेत परिचालन गरिरहेको छ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएको घटनाले त्यसपछिको सुरक्षा व्यवस्थापन र फरार व्यक्तिहरूको खोजीलाई चुनौतीपूर्ण बनाएको छ। आन्दोलन भएको लामो समय बितिसक्दा पनि बलात्कार, हत्या, लागुऔषध कारोबारलगायत गम्भीर अपराधमा संलग्न हजारौँ कैदीबन्दी पक्राउ नपर्नुले उनीहरूको खोजी, निगरानी र पुनः अपराध हुन नदिनुपर्ने आवश्यकतालाई थप गम्भीर बनाएको छ।
लोकप्रिय
ताजा अपडेट
शवसमेत नभेटिएको ममता हत्या प्रकरणमा न्यायको फैसला, नरेश भट्ट फर्स्ट डिग्री मर्डरसहित तीन अभियोगमा दोषी !

