ममताको न्यायका लागि ४७ मिनेट अदालतमा गर्जिइन् सारा सामी, नरेशका झुटमाथि गरिन् प्रमाणसहित प्रहार !
काठमाडौँ– अदालतको कठघरामा अभियुक्त नरेश भट्ट थिए, तर ४७ मिनेटसम्म अदालतमा गुञ्जिएको आवाज ममता काफ्ले भट्टका लागि थियो। हत्या गरिएकी ममताको शवसमेत फेला नपरेको अवस्थामा अमेरिकी सरकारी वकिल सारा सामीले अभियुक्तका झुट, विरोधाभास र क्रूरतामाथि एकपछि अर्को प्रहार गरिन्।
उनको आवाजमा कानुनी तर्क मात्रै थिएन, ममताको न्यायका लागि हुंकार र परिवारको पीडाको गर्जना पनि थियो। अन्तिम बहसका क्रममा सामीले नरेशको बचाउको कथालाई प्रमाणका आधारमा चुनौती दिइन्। ममताको जीवनमाथि नियन्त्रण जमाइएको अभियोजन पक्षको दाबी, मृत्युबारे नरेशले दिएका परस्पर विरोधी बयान र शव टुक्रा पारेर फालेको उनको स्वीकारोक्तिलाई जोड्दै उनले निर्णायक मण्डलसमक्ष प्रश्नमाथि प्रश्न उठाइन्।
‘ममताको अन्तिम सम्झनासमेत नरेशलाई नियन्त्रण गर्न नदिनुहोस्,’ उनको यो आग्रह अदालतमा उपस्थित परिवार र शुभचिन्तकका लागि भावुक क्षण बन्यो। ममताको शव नभेटिएकाले परिवारले अन्तिम संस्कारसमेत गर्न नपाएको पीडालाई उनले न्यायिक बहसको केन्द्रमा राखिन्। उनको तर्क थियो—ममताको मृत्यु मात्रै होइन, उनको अन्तिम पहिचान र सम्झनामाथि पनि नरेशको नियन्त्रण कायम रहन दिनु हुँदैन।
सामीले बहसको सुरुवात नरेशले ममतालाई पठाएको धम्कीपूर्ण सन्देशबाट गरिन्। ‘अब तिमीले धेरै पछुताउनुपर्ने दिन आउँदैछन्’ भन्ने आशयको उक्त सन्देश ममता हराउनुभन्दा १६२ दिनअघि पठाइएको थियो। सामीले त्यसलाई पछिल्ला घटनासँग जोड्दै नरेशको नियतबारे प्रश्न उठाइन्।
उनले ममताको फोन, आर्थिक पहुँच र गाडी प्रयोगमाथि नियन्त्रण गरिएको अभियोजन पक्षको दाबी पनि प्रस्तुत गरिन्। बाहिरबाट सामान्य देखिने वैवाहिक सम्बन्धभित्र ममता डर र नियन्त्रणमा बाँच्न बाध्य भएको उनको तर्क थियो। नरेशलाई उनले ‘मास्टर म्यानिपुलेटर’ अर्थात् अरूलाई आफ्नो प्रभावमा राखेर भ्रमित पार्न माहिर व्यक्तिका रूपमा चित्रण गरिन्।
नरेशले ममताले विष सेवन गरेर आत्महत्या गरेको र आफूले उनलाई बचाउन लामो समय प्रयास गरेको दाबी गरेका थिए। तर शव टुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका नरेशले प्रहरीलाई तत्काल खबर किन गरेनन् भन्ने प्रश्न सामीले उठाइन्। घटनास्थलमा भेटिएको रगत, सरसफाइका सामग्री, आरा खरिदको विवरण, सीसीटीभी फुटेज र नरेशका बयानबीचका विरोधाभासलाई उनले प्रमाणका रूपमा जोडिन्।
उनको बहसको अर्को पक्ष ममताको परिवारले भोगिरहेको पीडा थियो। छोरीको शव कहाँ छ भन्ने थाहा नपाउनु, अन्तिमपटक अनुहार हेर्न नपाउनु र धार्मिक संस्कारअनुसार बिदाइ गर्न नपाउनु—यी सबै पीडालाई सामीले अदालतसमक्ष राखिन्। उनले ममताको शव भर्जिनियाको ल्यान्डफिलमा फालिएको हुन सक्ने अभियोजन पक्षको तर्कसमेत प्रस्तुत गरिन्।
करिब छ हप्तासम्म चलेको सुनुवाइपछि नोभेम्बर १० मा निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गर्यो। उनको सजाय निर्धारण सन् २०२७ मार्च १२ मा हुने तय भएको छ।
सारा सामीको ४७ मिनेट लामो बहस अहिले नेपालदेखि विदेशसम्मका नेपालीमाझ चर्चित बनेको छ। उनको साहस, आत्मविश्वास, प्रमाणमाथिको पकड र पीडितको पक्षमा निर्भीक रूपमा उभिने शैलीको प्रशंसा भइरहेको छ। विशेषगरी ममताको अन्तिम सम्झनासमेत अभियुक्तको नियन्त्रणमा नछाड्न गरिएको आग्रहले धेरै नेपालीको मन छोएको छ।
ममता अदालतमा उपस्थित भएर आफ्नो पीडा सुनाउन सकिनन्। तर उनको पक्षमा सारा सामीले उठाएको आवाजले न्यायिक बहसलाई केवल अभियुक्तको अपराधमा सीमित राखेन। पीडितको अस्तित्व, परिवारको पीडा र न्यायको अर्थसमेत सम्झायो। अदालतमा उनको गर्जना यही थियो—ममताको आवाज दबिए पनि उनको न्यायको माग दबिनु हुँदैन।

