भीमफेदी दुर्घटनाको मृतक संख्या बढ्दै १४ पुग्यो, उद्वारपछि खोजी गर्दा थप तीन शव भेटिए !
काठमाडौँ– मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनाले झन् भयावह रूप लिएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर १४ पुगेको छ। सुरुमा १० जनाको मृत्यु भएको खबर आएकोमा उद्वार तथा खोजीका क्रममा थप शव फेला पर्दै जाँदा मृतक संख्या १४ पुगेको हो।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्वारमा खटिएको थियो। सुरुमा ११ जनाको शव हेटौँडा अस्पताल पुर्याइएको थियो। त्यसपछि घटनास्थलमा थप खोजी गर्दा तीन जनाको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जना र चालक छन्। मृतकमा ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पहिचान खुलेको छ।
थप फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रारम्भिक विवरणमा जनाइएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूमध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा–४ का ३४ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन्।
अन्य तीन जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय यादवलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ। उनीहरूको अवस्थाबारे प्राप्त विवरणमा देवेन्द्र रायको अवस्था गम्भीर र अन्य दुईको अवस्था मध्यम रहेको उल्लेख छ।
काठमाडौँबाट सर्लाहीतर्फ छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेका थिए। एउटै गाउँका आफन्त र छिमेकीको ठूलो संख्यामा मृत्यु भएपछि सर्लाहीको सुन्दरपुरटोल शोकमा डुबेको छ। चाडपर्व मनाउन घर फर्किने यात्राको अन्त्य एकै गाउँका परिवारमा अपूरणीय क्षतिका रूपमा भएको छ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन। सडकबाट करिब ७०० मिटर तल खसेको गाडीमा कति यात्रु सवार थिए भन्ने विषयमा पनि प्रारम्भिक विवरण र पछिल्ला सूचनाबीच अन्तर देखिएको छ। दुर्घटनाको कारण, यात्रु संख्या र थप तीन मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान तथा विवरण संकलन गरिरहेको छ।

