१२ वर्षअघि चुरियामाईमा ट्रक दुर्घटनाले लगेको थियो सर्लाहीका ७ जनाको ज्यान, अहिले भीमफेदीमा बन्यो फेरि एकै गाउँका १३ जनाको चिहान!
सर्लाही– मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरलाई गहिरो शोकमा डुबाएको छ। १२ वर्षअघि मकवानपुरकै चुरियामाईमा भएको ट्रक दुर्घटनामा सर्लाहीका सात जनाले ज्यान गुमाएका थिए। अहिले भीमफेदीको चिसापानीगढीमा भएको अर्को दुर्घटनामा सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको छ। १२ वर्षको यो अन्तरालमा एउटै जिल्लाका परिवारले फरक–फरक समयमा उस्तै पीडा भोग्नुपरेको छ।
छठ पर्व मनाउन काठमाडौँबाट घर फर्किंदै गरेका आफन्त दुर्घटनामा परेपछि सुन्दरपुरका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन। छठघाट सजाउने, पूजा सामग्री जुटाउने र परदेशबाट फर्किने आफन्तको स्वागत गर्ने तयारीमा रहेका गाउँले अहिले एकअर्कालाई सम्हाल्न नसक्ने अवस्थामा छन्। पर्वको उल्लास एकाएक शोक र विलापमा बदलिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान करिब ६ बजे काठमाडौँबाट सर्लाही आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भयो। तीमध्ये १३ जना सुन्दरपुरका थिए। तीन बालिकासहित १४ जनाको मृत्यु भएको घटनामा ६ जना घाइते भएका छन्।
दुर्घटनाको खबर फैलिएपछि गाउँमा रुवाबासी सुरु भयो। छठ मनाउन घर आउने भन्दै अघिल्लो साँझ फोन गरेका आफन्त भोलिपल्ट बिहानै कहिल्यै नफर्किने गरी बिदा भएको खबर परिवारले पत्याउन सकेनन्। कतिपय परिवारले एउटै दुर्घटनामा घरका धेरै सदस्य गुमाएका छन्। कसैले छोरा–बुहारी, कसैले नाति–नातिना र कसैले श्रीमती, छोरी तथा भाइहरू गुमाएका छन्।
छोरा र बुहारी गुमाएका प्रमोद यादवका लागि यो खबर असह्य बन्यो। उनका छोरा गुड्डु यादवले बुधबार साँझ गाउँका साथीभाइसँगै परिवार छठ मनाउन भोलिपल्ट घर आइपुग्ने जानकारी दिएका थिए। घरमा पर्वको तयारी चलिरहेको थियो। तर बिहीबार बिहान आएको दुर्घटनाको खबरले उनको परिवारमा बज्रपात भयो।
गुड्डु र उनकी श्रीमती गायत्री देवी यादवका दुई छोरा सक्षम र सुजन पनि त्यही गाडीमा थिए। दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भए भने तीन वर्षीय सुजन घाइते भए। सक्षमलाई दुर्घटनामा आमाबुबाको मृत्यु भएको जानकारी छैन। बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको उनले बताएका छन्। शरीरमा चोटपटक लिएर घर फर्किएका उनी अहिले अभिभावक गुमाएको यथार्थबाट अनभिज्ञ छन्। अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ।
भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए। दैनिक श्रम गरेर परिवारको भविष्य बनाउने सपना देखेका दम्पतीको दुर्घटनामा मृत्यु भएपछि पाँच र तीन वर्षका दुवै बालक अभिभावकविहीन भएका छन्।
अर्को परिवारको पीडा झन् कहालीलाग्दो छ। अवधेश यादवकी गर्भवती श्रीमती ३५ वर्षीया पुनम यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा उनका दुई भाइको दुर्घटनामा मृत्यु भएको छ। परिवारका ६ सदस्य गुमाएका अवधेशका १४ महिने छोरा सुदीप भने घाइते छन्। उनको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
छठ मनाउन सबैजना गाउँ फर्किने तयारीमा थिए। तर परिवारका सदस्यलाई घर पठाएर आफू पछि आउने तयारीमा रहेका अवधेशका लागि केही घण्टामै जीवनको सबैभन्दा ठूलो विपत्ति आइपुग्यो। श्रीमती, तीन छोरी र दुई भाइ गुमाएपछि उनको संसार उजाडिएको छ। घाइते छोराको उपचार चलिरहँदा एकैपटक यति धेरै आफन्त गुमाएको पीडा परिवारले कसरी सहने भन्ने प्रश्न गाउँलेका सामु छ।
दुर्घटनामा निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि मृत्यु भएको छ। त्यस्तै, अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायले पनि ज्यान गुमाएका छन्। दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ।
एकै परिवारका छ जना गुमाएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नु भएको छ। उनी पटकपटक अचेत हुने गरेको स्थानीयले बताएका छन्। छिमेकीले मृतकको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेका छन्। तर एकैपटक परिवारका धेरै सदस्य गुमाएकी उनलाई सान्त्वनाका शब्दले पनि सम्हाल्न सकेको छैन।
सुन्दरपुरमा अहिले छठको तयारी रोकिएको छ। घरघरमा शोक छ, छठघाट सुनसान छन्। पाहुनालाई स्वागत गर्ने तयारीमा रहेका परिवार शव गाउँ आइपुग्ने प्रतीक्षामा छन्। गाउँका मानिसहरू कसको घरमा गएर कसलाई सान्त्वना दिने भन्ने अवस्थामा छन्।
सुन्दरपुरका लागि यो पीडा नयाँ भने होइन। १२ वर्षअघि पनि मकवानपुरकै चुरियामाईमा भएको ट्रक दुर्घटनाले सर्लाहीको तत्कालीन औरही गाविसका धेरै परिवारलाई यस्तै शोकमा डुबाएको थियो। सर्लाहीबाट हेटौँडातर्फ जाँदै गरेको ना.४ ख १२५२ नम्बरको ट्रकमा बसेर धान काट्ने कामका लागि चितवन जाँदै गरेका औरही–८ का सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीले ज्यान गुमाएका थिए।
प्रहरीका अनुसार उकालो सडकमा ट्रक चलाइरहेका सहचालकले स्टेयरिङ नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो। उनीहरू ट्रकमा लोड गरिएको इँटामाथि बसेर यात्रा गरिरहेका थिए। ट्रक पल्टिँदा इँटाले थिचिएर उनीहरूको मृत्यु भएको थियो।
त्यतिबेला रोजगारीका लागि यात्रा गरिरहेका मजदुरले ज्यान गुमाएका थिए। अहिले छठ पर्व मनाउन घर फर्किंदै गरेका परिवारका सदस्यले ज्यान गुमाएका छन्। दुर्घटनाको स्वरूप र समय फरक भए पनि दुवै घटनाले सर्लाहीका नागरिकमा गहिरो घाउ छाडेका छन्। १२ वर्षको अन्तरालमा मकवानपुरमै भएका यी दुई दुर्घटनाले यात्रु सुरक्षाको प्रश्न फेरि उठाएको छ।
भीमफेदी दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुमानमा चालकको थकान, निद्रा र क्षमताभन्दा बढी यात्रु राखिएको हुन सक्ने विषय उठाइएको छ। १४ सिट क्षमताको भनिएको गाडीमा २० जना यात्रु सवार रहेको विवरण सार्वजनिक भएपछि यात्रु क्षमताको पालना, चालकको विश्राम, रुटमा हुने प्रहरी जाँच र सवारी सञ्चालनको निगरानीमाथि पनि प्रश्न उठेका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारण छानबिनपछि मात्रै यकिन हुनेछ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिम अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ। दुर्घटना कसरी भयो र भविष्यमा यस्ता घटना रोक्न के गर्नुपर्छ भन्ने विषयमा अध्ययन हुने प्रशासनले जनाएको छ।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवसहितको टोली घटनापछि मकवानपुर पुगेको थियो। अध्यक्ष यादवले दुर्घटनाको गम्भीर छानबिन हुनुपर्ने र दोषी देखिने पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। उनका अनुसार गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ। मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
तर पीडित परिवारको माग राहत रकममा मात्रै सीमित छैन। उनीहरू दुर्घटनाको निष्पक्ष अनुसन्धान, लापरबाही गर्ने पक्षको पहिचान र कारबाही तथा पीडित परिवारका लागि उचित राहत र दीर्घकालीन सहयोगको माग गरिरहेका छन्।
१२ वर्षअघि चुरियामाईमा सात जनाको ज्यान गएको थियो। अहिले भीमफेदीमा फेरि १४ जनाले ज्यान गुमाएका छन्, जसमध्ये १३ जना एउटै गाउँका छन्। दुर्घटनापछि छानबिन समिति गठन हुनु र राहत घोषणा हुनु तत्कालका आवश्यकता हुन्। तर यस्ता घटना दोहोरिन नदिन सवारी क्षमताको पालना, चालकको काम गर्ने समय र विश्राम, यात्रु विवरणको अभिलेख तथा सडकमा हुने निगरानी प्रभावकारी बनाउनु अझ महत्वपूर्ण छ।
सुन्दरपुरका परिवार अहिले आफ्ना आफन्तको शव पर्खिरहेका छन्। उनीहरूका लागि छठ पर्व मात्र खोसिएको छैन, धेरै घरको भविष्य र सहारा पनि एकैपटक हराएको छ। १२ वर्षको अन्तरालमा एउटै जिल्लाले दोहो¥याएर भोगेको यो पीडाले एउटा गम्भीर प्रश्न छाडेको छ—दुर्घटनापछि शोक, छानबिन र राहतको घोषणा मात्रै हुने हो कि यात्रुको ज्यान जोगाउने जिम्मेवारी पनि अब प्रभावकारी रूपमा पूरा हुन्छ?

