भीमफेदी दुर्घटनाः पाँच र तीन वर्षका बालक बाँचे, तर गुमाए आमाबुवाको काख! टुहुरा भएकोसमेत थाहा छैन, उजाडियो संसार!

काठमाडौँ– छठ पर्व मनाउन अविभावकसँगै सर्लाहीको सुन्दरपुर फर्किने तयारीमा रहेका पाँच वर्षीय सक्षम यादव र तीन वर्षीय सुजन यादवका लागि बिहीबार बिहानको यात्रा जीवनकै सबैभन्दा ठूलो वियोग बनेर आयो। उनीहरू दुर्घटनामा बाँचे, तर अब कहिल्यै फर्केर नआउने गरी आमाबुवा गुमाए।

उमेरले अझै संसार बुझ्न नसकेका यी दुई बालकलाई आफूहरूको जीवनबाट आमाबुवाको माया सधैँका लागि खोसिएको कुरा थाहा छैन। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको हृदयविदारक दुर्घटनामा उनीहरूका बुवा ३५ वर्षीय गुड्डु यादव र आमा ३२ वर्षीया गायत्री देवी यादवको घटनास्थलमै मृत्यु भयो।

छठ मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस करिब ७ सय मिटर तल खोल्सामा खस्दा उनीहरूका आमाबुवाले ज्यान गुमाएका हुन्।

दुर्घटनामा पाँच वर्षीय सक्षम र तीन वर्षीय सुजन पनि घाइते भए। उनीहरूको टाउको र हातखुट्टामा चोट लागेको थियो। सक्षम उपचारपछि डिस्चार्ज भइसकेका छन् भने सुजनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ।

दुर्घटनाबाट जोगिएका उनीहरूका लागि अब अस्पतालको उपचारपछि घर फर्किने ठाउँ त छ, तर घरमा पर्खेर बस्ने आमाबुवा छैनन्। बाल्यकालमा बिरामी पर्दा सुमसुम्याउने, भोक लाग्दा खाना खुवाउने र डर लाग्दा अँगालोमा बेर्ने हात अब उनीहरूले पाउने छैनन्।

दुर्घटनामा बाँचेका सुन्दरपुरकै ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू सबै छठ पर्व मनाउन घर फर्किरहेका थिए। गाउँकै चिनजानका व्यक्तिहरू भएकाले गाडी रिजर्भ गरेर यात्रा गर्ने व्यवस्था मिलाइएको थियो। राति करिब डेढ बजे गाडी हिँडेपछि यात्रुहरू निदाएका थिए।

‘बिहानीपख हामी सबै निद्रामै थियौँ। गाडी भीरमा ओइरिएपछि मात्रै ब्युँझियौँ,’ मुकेशले सुनाए। दुर्घटनामा उनी आफैँ पनि घाइते भए। तर उपचारपछि डिस्चार्ज भएलगत्तै उनी मृतकका परिवार र घाइतेहरूको व्यवस्थापनमा जुटिरहेका छन्।

अर्का घाइते देवेन्द्र राय (बेचु) पनि दुर्घटना हुँदा निदाइरहेका थिए। गाडी खोल्सामा पुगेपछि मात्रै दुर्घटना भएको थाहा पाएको उनले बताए। आफूहरू उद्वार गर्न सक्ने अवस्थामा नरहेपछि प्रहरीलाई खबर गरेको उनको भनाइ छ।

यो दुर्घटनाले सुन्दरपुर टोलका धेरै परिवारलाई शोकमा डुबाएको छ। एउटै टोलका १४ जनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन्। मृतक र घाइतेमध्ये कतिपय एउटै परिवारका सदस्य हुन्। कसैले श्रीमती गुमाएका छन्, कसैले सन्तान, कसैले भाइ गुमाएका छन् त कसैले आमाबुवा।

पाँच वर्षीय सक्षम र तीन वर्षीय सुजनको पीडा भने अझै गहिरो छ। उनीहरूले दुर्घटनामा आमाबुवा गुमाएका छन्, तर उमेरका कारण त्यसको स्थायी अर्थ बुझ्ने अवस्थामा छैनन्। उनीहरूलाई अहिले उपचार, आफन्त र वरिपरिको वातावरण मात्रै थाहा होला। तर समयसँगै जब उनीहरूले आमाबुवाको अभाव बुझ्दै जानेछन्, यो दुर्घटनाले दिएको चोट अझ गहिरो हुँदै जानेछ।

छठको खुसी बाँड्न गाउँ फर्किँदै गरेका परिवारका सदस्यहरू अब बाकसमा फर्किए। सुन्दरपुरमा आफन्तको स्वागतका लागि प्रतीक्षा गरिरहेका घरहरूमा अहिले रुवाबासी छ। पर्वको तयारीमा जुटेको बस्ती एकै बिहान शोकमा डुब्यो।

भीमफेदीको त्यो दुर्घटनाबाट केही मानिसले जीवन त जोगाए, तर उनीहरूमध्ये कतिपयले आफ्नो संसार नै गुमाएका छन्। सक्षम र सुजनका लागि अब सबैभन्दा ठूलो प्रश्न उनीहरूको उपचार मात्रै होइन—आमाबुवाको माया र संरक्षणबिनाको जीवन कसरी अघि बढ्छ भन्ने हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट