बिरालो र खरायोको खानाको प्याकेटभित्र २२ करोडको सेतो हेरोइन, अन्तर्राष्ट्रिय ड्रग्स सञ्जालका मुख्य व्यक्ति पक्राउ

काठमाडौँ– बिरालो र खरायोको खाना राखिएको प्याकेटभित्र लुकाएर ल्याइएको ५ किलो ५०० ग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपाल आएका भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज टिघारेको लगेज जाँच गर्दा २२ करोड रुपैयाँभन्दा बढी मूल्यको हेरोइन बरामद भएको हो।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार शनिबार विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा टिघारेलाई जाँच गरेको थियो। उनको लगेजभित्र रहेको बिरालो र खरायोको खानाको प्याकेटमा लुकाइएको अवस्थामा सेतो हेरोइन फेला परेको ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुन्छ। भारत पुगेपछि यसको मूल्य अझ बढी हुने प्रहरीको भनाइ छ।

अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति भएको प्रहरीको दाबी
प्रहरीले पक्राउ परेका टिघारे अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्तिमध्ये एक रहेको दाबी गरेको छ। उनको विगतको यात्रा विवरण र नेपाललाई ट्रान्जिट बनाएर लागूऔषध ओसारपसार गरेको घटनाले अनुसन्धानलाई थप गम्भीर बनाएको ब्युरोको भनाइ छ।

एसपी रेग्मीका अनुसार टिघारे यसअघि दुईपटक नेपाल आएको अनुसन्धानबाट खुलेको छ। पहिलोपटक सन् २०२५ नोभेम्बर ४ मा लाओसबाट नेपाल आएका उनी हवाई मार्ग हुँदै भारत गएको पाइएको छ। दोस्रोपटक सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाटै नेपाल आएर स्थलमार्ग हुँदै भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यसपटक भने थाइल्यान्डबाट नेपाल आएका उनी ठूलो परिमाणको सेतो हेरोइनसहित पक्राउ परेका हुन्। यसअघि पनि नेपाललाई लागूऔषध ओसारपसारको ट्रान्जिटका रूपमा प्रयोग गरेको हुन सक्ने आशंकामा प्रहरीले उनको यात्राको विवरण र सम्पर्क सञ्जालमाथि अनुसन्धान गरिरहेको छ।

आधा दर्जनभन्दा बढी देशको भ्रमण, मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद
प्रहरीका अनुसार टिघारेले लाओसबाहेक जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरिसकेको खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको ब्युरोले जनाएको छ।

प्रहरीले उनको अन्तर्राष्ट्रिय यात्रा विवरण, विभिन्न मुलुकमा भएको आवतजावत र लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक दाबीअनुसार उनी अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालका महत्वपूर्ण व्यक्ति हुन्। तर, उक्त सञ्जालमा उनको वास्तविक भूमिका, नेपालमा कसलाई लागूऔषध बुझाउने योजना थियो र भारतसम्म पु¥याउने प्रक्रियामा अरू को–को संलग्न छन् भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ।

नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्‍याउने योजना ?
यस घटनाले अन्तर्राष्ट्रिय लागूऔषध तस्करले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरिरहेको हुन सक्ने सुरक्षा चुनौतीलाई फेरि सतहमा ल्याएको छ। लाओसबाट नेपाल हुँदै भारत पुगेको विगतको यात्रासँग यसपटक थाइल्यान्डबाट नेपाल आएको घटनालाई जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

विशेषगरी घरपालुवा जनावरको खानाका प्याकेटभित्र लागूऔषध लुकाएर ल्याइएको घटनाले तस्करहरूले सुरक्षा जाँच छल्न अपनाउने नयाँ–नयाँ तरिकाबारे पनि प्रश्न उठाएको छ।

विमानस्थलमा यात्रुको यात्रा विवरण र शंकास्पद गतिविधिको विश्लेषण गरी निगरानी गर्ने क्रममा पक्राउ परेको ब्युरोले जनाएको छ। यसले अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध नियन्त्रणका लागि अपनाइने प्रोफाइलिङ र जाँच प्रक्रियाको महत्वसमेत देखाएको छ।

१५ वर्षदेखि जन्मकैदसम्म सजाय हुन सक्ने
प्रहरीले टिघारेविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ।

उक्त ऐनअनुसार बरामद लागूऔषधको प्रकृति र परिमाणका आधारमा उनलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्युरोले जनाएको छ।

प्रहरीले उनको साथबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एउटा पासपोर्ट र एउटा मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ। मोबाइलको डिजिटल विवरण, सम्पर्क सञ्जाल र अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कागजातको विश्लेषणबाट कारोबारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित गन्तव्यबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

करिब २२ करोड रुपैयाँ मूल्यको हेरोइन बरामद हुनु ठूलो सफलता भए पनि अनुसन्धानको मुख्य चुनौती यसको स्रोत, गन्तव्य र अन्तर्राष्ट्रिय सञ्जालसम्म पुग्नु हो। पक्राउ परेका व्यक्तिलाई मात्र कारबाही गरेर तस्करीको सञ्जाल समाप्त हुँदैन। नेपाललाई ट्रान्जिट बनाएर लागूऔषध ओसारपसार गर्ने गिरोहका अन्य सदस्य र उनीहरूको सम्पर्क सञ्जाल पहिचान गर्नु अब प्रहरी अनुसन्धानको महत्वपूर्ण पक्ष बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट