फिल्मको प्रचारमा ‘नक्कली पक्राउ’: गौरी मल्ललाई हर्क साम्पाङको जेल हाल्ने धम्की—‘सरकारमा पुगे ढुंगा बोक्न लगाउँछु’ !

काठमाडौँ– चलचित्रको प्रचारका लागि गरिएको ‘नक्कली पक्राउ’ प्रकरणले अभिनेत्री गौरी मल्ललाई राजनीतिक विवादमा तानेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उक्त गतिविधिलाई आपराधिक कामको संज्ञा दिँदै गौरी मल्ललाई जेल हाल्ने र जेलभित्रै श्रमदानका नाममा ढुंगा बोकाउने चेतावनी दिएका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिमा गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन्। चलचित्रको प्रचारका लागि प्रहरी पक्राउको नाटक गर्नु सामान्य ठट्टा नभई आपराधिक कार्य भएको उनको दाबी छ।

उनले अंग्रेजीमा लेखेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन्। उनले चलचित्रको प्रचारका लागि आपराधिक प्य्रांक गरिन्। यो आपराधिक कार्य हो। हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ।’

चलचित्र प्रचारका क्रममा गरिएको एउटा प्य्राङ्कलाई लिएर साम्पाङले दिएको यो अभिव्यक्तिले कलाकारको प्रचार शैलीसँगै राजनीतिक नेतृत्वको भाषा र अभिव्यक्तिको सीमाबारे पनि बहस निम्त्याएको छ।

पक्राउको नाटकलाई साम्पाङले भने ‘आपराधिक काम’
शनिबार चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको पोसाकमा आएका व्यक्तिहरूले कार्यक्रमस्थलमा प्रवेश गरेर अभिनेत्री गौरी मल्लसहित निर्देशक बिक्की अग्रवाल, हास्यकलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएको नाटक गरेका थिए।

कार्यक्रममा उपस्थित दर्शक र सञ्चारकर्मीले सुरुमा घटनालाई वास्तविक पक्राउ ठानेका थिए। कलाकारहरूलाई बाहिर निकालेर प्रहरी भ्यानमा राखिएपछि घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। पछि उक्त गतिविधि चलचित्रको प्रचारका लागि गरिएको प्य्राङ्क भएको खुलाइएको थियो।

तर, प्रचारको नाममा वास्तविक प्रहरी कारबाहीजस्तो दृश्य प्रस्तुत गरिएको भन्दै आलोचना भएको थियो। प्रहरी पक्राउको नाटकले दर्शक र सञ्चारकर्मीलाई झुक्याएको तथा प्रहरी संगठनको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको टिप्पणी सार्वजनिक भएका थिए।

‘मैले सरकारलाई प्रश्न सोधें’
साम्पाङले अर्को सामाजिक सञ्जाल पोस्टमा गौरी मल्ल पक्राउ परेको दृश्य सञ्चारमाध्यममा व्यापक रूपमा आएपछि आफूले सरकारलाई प्रश्न गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘गौरी मल्ल पक्राउ परेको छ्यापछ्याप्ती मिडियामा आयो ! मैले सरकारलाई प्रश्न सोधें ! केही घण्टापछि होइन, जोक गरेको, प्र्याङ्क गरेको भनियो ! त्यतिका पत्रकारका हूलले क्यामेरामा सुट गरे ! अब भन्नुस् !’

उनले चलचित्र प्रचारका लागि गरिएको यस्तो गतिविधिको औचित्यमाथि प्रश्न उठाउँदै त्यसबाट तयार पारिएको सामग्री कस्तो होला भनेर पनि टिप्पणी गरेका छन्। गौरी मल्लजस्तो स्थापित अभिनेत्रीले यस्तो गतिविधिमा सहभागी हुनु उचित नभएको उनको आशय छ।

साम्पाङले अभिनेत्री र चलचित्र निर्माण टोलीसँग यसबारे जवाफ मागेका छन्। उनको प्रश्न छ—‘अब गौरी मल्ल र त्यो टिमले जवाफ दिने कि नदिने ?’

प्रचारको नाममा जे गरे पनि छुट हुन्छ ?
चलचित्रको प्रचारका लागि नयाँ शैली अपनाउने क्रममा वास्तविक प्रहरी कारबाहीजस्तो दृश्य सिर्जना गर्दा त्यसले पार्ने प्रभावबारे प्रश्न उठ्नु स्वाभाविक हो। कार्यक्रमस्थलमा उपस्थित मानिसले वास्तविक पक्राउ ठान्ने र त्यसका दृश्य सञ्चारमाध्यममा फैलिने अवस्था सिर्जना भएपछि प्रचार र भ्रमबीचको सीमामाथि बहस भएको छ।

तर, साम्पाङले प्रयोग गरेको भाषा पनि उत्तिकै प्रश्नयोग्य छ। कुनै गतिविधि गैरकानुनी हो वा होइन भन्ने निर्णय अनुसन्धान र कानुनी प्रक्रियाबाट हुनुपर्ने विषय हो। सरकारमा पुगेपछि जेल हाल्ने र ढुंगा बोकाउने चेतावनी दिनु राजनीतिक असन्तुष्टि व्यक्त गर्ने सामान्य शैली मात्र होइन, कानुनी प्रक्रियामाथि राजनीतिक शक्तिको प्रभावबारे प्रश्न उठाउने अभिव्यक्ति पनि हो।

एउटा पक्षले चलचित्रको प्रचारका नाममा जनतालाई झुक्याउने गतिविधि गरेको आरोप खेपिरहेको छ भने अर्को पक्षले त्यसको विरोध गर्ने क्रममा जेल र सजायको धम्की दिएको छ। त्यसैले यो विवाद गौरी मल्लको प्य्राङ्कमा मात्र सीमित छैन। सार्वजनिक व्यक्तित्वको जिम्मेवारी, प्रचारको मर्यादा र राजनीतिक नेतृत्वको अभिव्यक्तिको स्तरसँग पनि जोडिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट