छठको पोखरीमा जातका छुट्टाछुट्टै घाटः सप्तरीमा दलितलाई अझै अलग राख्ने विभेद, अन्याय सहन नसकेर पोखरी नै छाडे

राजविराज– सूर्यको उपासना, समानता र साझा आस्थाको पर्व छठमा सप्तरीका केही पोखरी भने जातीय विभेदका मौन साक्षी बनेका छन्। एउटै जलाशय, एउटै सूर्यको पूजा र एउटै पर्व भए पनि दलित समुदायका लागि छुट्टै घाट बनाइएका छन्। कतै गैरदलितको घाटमा जान नपाएर डोम समुदाय आफ्नै छुट्टै घाटमा सीमित छ भने कतै विभेद सहन नसकेर दलित समुदायले वर्षौंदेखि छठ मनाउँदै आएको पोखरी नै छाड्नुपरेको छ।

सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टीस्थित दर्पी पोखरी यसको एउटा उदाहरण हो। पोखरीको दक्षिणतर्फ अन्य समुदायका लागि बेहुलीझैं सिँगारिएको छठघाट छ। पूर्वीछेउमा भने डोम समुदायका लागि छुट्टै घाट बनाइएको छ। पीपलको रुखछेउमा रहेको उक्त घाटमा डोम परिवारले वर्षौंदेखि अलग्गै बसेर छठ मनाउँदै आएका छन्।

बैजनाथ मरिक, शम्भु मरिक र गंगानारायण मरिकका परिवारले विगत ८–१० वर्षदेखि त्यही छुट्टै घाटमा छठ मनाउँदै आएका छन्। गैरदलित समुदायको घाटमा जान नपाउने अवस्था रहेको बैजनाथ बताउँछन्। ‘पहिला अलिक बढी नै विभेद हुन्थ्यो। अहिले केही कम भए पनि अझै भेदभाव हटेको छैन,’ उनले भने, ‘हामी उनीहरूको घाटमा जान मिल्दैन। छेउछाउबाट हेर्न मात्रै पाइन्छ।’

छठमा बाँसको चोयाबाट बनाइएका ढाकी, छिटी र नाङ्लोलगायतका सामग्रीमा फलफूल तथा प्रसाद राखेर सूर्यलाई अर्घ्य दिइन्छ। तर, यिनै सामग्री बनाउने समुदायले आफूले बनाएका सामग्री चढाउने पर्वमा समेत विभेद भोग्नुपरेको बैजनाथको गुनासो छ।

‘हामीले बनाएको सामग्रीमा राखेर फलफूल, मिठाईलगायतका सामग्री भगवानलाई चढाउँछन् तर हामीसँग विभेद गरेको देख्दा मन भक्कानिएर आउँछ,’ उनले भने। उनका अनुसार घाटमा मात्रै होइन, बालबालिकाको आवागमनमा समेत रोकटोक हुने गरेको छ। ‘खै, किन हामी अछुत भएर जन्मियौं ? मानव भएर जन्मिँदा पनि कहिल्यै मानवसरह व्यवहार नपाउँदाको पीडा छ,’ बैजनाथले भने।

विभेद सहन नसकेर छाडे पुर्ख्यौली पोखरी
सप्तरीकै विष्णुपुर गाउँपालिका–७ स्थित अमृत पोखरीमा पनि वर्षौंदेखि छठ मनाउँदै आएका राम (चमार) समुदायले गैरदलितसँगै एउटै घाटमा पूजा गर्न पाएनन्। जातका आधारमा छुट्टाछुट्टै घाट बनाउनुपर्ने अवस्थाको विरोध गर्दै स्थानीय युवाले अन्ततः उक्त पोखरीमा छठ मनाउनै छाडे।

पाँच–सात वर्षयता उनीहरूले सोही वडाका तरबरा र गोसाई पोखरीमा छुट्टै घाट बनाएर छठ मनाउँदै आएका छन्। जलकुम्भीले ढाकिएको तरबरा पोखरी सफा गरेर दलित समुदायले आफ्नै घाट बनाएको स्थानीय कासिन्द्र रामले बताए। ‘जलकुम्भीले ढाकिएको पोखरीलाई झबर राम, जगजीवन राम, लालेश्वर राम, रामविलास रामलगायत मिलेर सफा गर्‍यौं। त्यसपछि यहाँ दलित समुदायले छठघाट बनाएर पर्व मनाउन थालेका हौं,’ उनले भने।

उनका अनुसार तरबरा पोखरीमा १७ र गोसाई पोखरीमा ३२ दलित परिवारले छठ मनाउँदै आएका छन्। एउटै पोखरीमा सबै समुदायसँगै बसेर पर्व मनाउन नपाएपछि उनीहरूले नयाँ ठाउँ रोज्नुपरेको उनको भनाइ छ। विभेद अन्त्य गर्न कानुन र नीति बने पनि सामाजिक व्यवहारमा परिवर्तन नआएको कासिन्द्रको गुनासो छ। छठलाई जातजाति छुट्याएर होइन, सबै समुदाय एकै ठाउँमा बसेर मनाउने साझा पर्वका रूपमा विकास गर्नुपर्ने उनको जोड छ।

तर, विष्णुपुर–७ का वडाध्यक्ष लोचन साहु भने आफ्नो क्षेत्रमा जातीय विभेद नरहेको दाबी गर्छन्। उनका अनुसार केही समुदायले आफूलाई पायक पर्ने स्थान रोजेर छुट्टै छठ मनाएका हुन्। ‘हामीले पनि नहरमा छठ पर्व मनाइरहेका छौं, यहाँ सबै समुदाय सँगै छौं। केहीले पायक पर्ने ठाउँ रोजेको मात्रै हो, कुनै विभेद छैन,’ उनले भने।

रौतहटमा पनि छुट्टै पण्डाल, एउटै पर्वमा अलग्गै बस्नुपर्ने बाध्यता
सप्तरीमा देखिएको जातीय विभेदको अभ्यास रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपैडास्थित चाँदी नदी किनारमा पनि देखिएको छ। त्यहाँ माझी (मुसहर) र महरा समुदायका लागि छुट्टै पण्डाल बनाइएको छ।

चौधरी समुदायको बाक्लो बस्ती रहेको राजपैडामा महरा र मुसहर समुदायका करिब ३० घरपरिवार छन्। तीमध्ये केही परिवारले तीन वर्षयता अलग्गै पण्डालमा बसेर छठ मनाउँदै आएका छन्। ६५ वर्षीया भगलीदेवी माझीले वर्षौंदेखि अन्य समुदायसँग एउटै पण्डालमा बसेर छठ मनाउँदै आएकी थिइन्। तर, अहिले छुट्टै पण्डालमा पूजा गर्नुपर्ने अवस्थाले उनलाई दुःखी बनाएको छ।

पहिले ठूलो पण्डालभित्र दलित समुदायका लागि एउटा कुना छुट्याइन्थ्यो। त्यही कुनामा बसेर उनीहरू पूजा गर्थे। कुना छुट्याएर राख्ने व्यवहारबाट चित्त दुखेपछि उनीहरूले छुट्टै पण्डाल बनाएको स्थानीयको भनाइ छ। एक दशकभन्दा बढी समयदेखि चाँदी नदीमा छठ मनाउँदै आएका माझी र महरा समुदायका करिब १६ परिवारले यस वर्ष अलग्गै पण्डालमा बसेर पूजा गरेका छन्।

स्थानीय रामनाथ महराले सामाजिक व्यवहारमा परिवर्तन नआएपछि अलग्गै बस्नुपरेको बताए। अर्की व्रतालु रामतरियादेवीले पनि आफूहरूलाई फरक व्यवहार गरिएको अनुभूति भएपछि छुट्टै बस्ने निर्णय गरेको बताइन्।

तर, राजपैडा छठघाट समितिका अध्यक्ष गणेश चौधरीले भने विभेदको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार दलित समुदायका केही व्यक्ति आफैं अलग्गिएका हुन्। उनले सबै जाति र धर्मप्रति सम्मान रहेको दाबी गरेका छन्। स्थानीय सुनिता महराले भने एउटै पण्डालमा राखिए पनि दलित समुदायका लागि कुना छुट्याउने गरिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएकी छिन्।

कानुनमा समानता, घाटमा विभेद
गढीमाई नगरपालिका–९ रौतहटका डा. रामजी राम छठ सबैको साझा पर्व भए पनि घाट र पण्डालमै जातीय विभेद देखिनु दुःखद् भएको बताउँछन्। उनका अनुसार गैरदलितले आफूलाई ठूलो र बलियो देखाउन छुट्टै घाट बनाउने तथा दलित समुदायलाई अलग राख्ने अभ्यास अझै कायम छ।

‘पूजा गर्ने देउता उही हो, तर त्यही देउतालाई पूजा गर्ने दलित समुदाय र दलितले पूजा गर्ने ठाउँसम्मै स्वीकार गर्न नसक्नु दुःखद् हो,’ उनले भने। उनले छठमा छुट्टाछुट्टै घाट नबनाउन सरकारले आग्रह गरे पनि त्यसको कार्यान्वयन र अनुगमन प्रभावकारी नभएको बताए। स्थानीय सरकारको भूमिका पनि सन्तोषजनक नरहेको उनको गुनासो छ।

नेपालको संविधानले धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातका आधारमा भेदभाव गर्ने तथा छुवाछुतजन्य व्यवहार गर्नेलाई दण्डनीय मानेको छ।

कानुनले सार्वजनिक स्थलमा सबै नागरिकको समान पहुँच सुनिश्चित गरे पनि सप्तरीका दर्पी र अमृत पोखरीमा देखिएको अवस्था त्यसको कार्यान्वयनमाथि गम्भीर प्रश्न हो। एउटै पोखरीमा पूजा गर्न नपाएर छुट्टै घाट बनाउनुपर्ने वा पुर्ख्यौली पोखरी नै छाड्नुपर्ने अवस्था कायम रहनुले सामाजिक समानताको दाबीलाई चुनौती दिएको छ।

छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाले अघ्र्य दिइन्छ। तर, सूर्यको पूजा गर्ने मानिसबीच नै जातका आधारमा दूरी कायम रहनु समाजका लागि गम्भीर प्रश्न बनेको छ। पर्वको उत्सवले जातीय विभेदको पीडा छोप्न सकेको छैन, बरु सप्तरीका केही घाटमा त्यो विभेद अझै खुलस्त देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट