सप्तरीः जंगलमा हराएको बाख्रा खोज्न गएका ७२ वर्षीय वृद्धलाई जंगली हात्तीले लखेटेर मार्‍यो

राजविराज– हराएको बाख्रा खोज्न जंगल छेउको गोठतर्फ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरका ७२ वर्षीय गोपी चौधरीले जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका छन्। आइतबार बेलुका भएको आक्रमणमा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गाउँबाट पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ बाख्रा खोज्न गएका बेला चौधरीमाथि हात्तीले आक्रमण गरेको थियो। उनीसँगै अन्य चार–पाँच जना स्थानीय पनि हराएको बाख्रा खोज्न गएका थिए।

स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउ पुगेपछि हात्ती कराउन थालेको थियो। त्यसपछि गोपी चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसलगत्तै हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

घटनापछि विरनगर र आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको आवागमन बढ्दै गएको भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

बाख्रा खोज्न जंगल छेउ पुगेका वृद्धले ज्यान गुमाएपछि स्थानीयको सुरक्षा र मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणको विषय फेरि गम्भीर बनेको छ। जंगल आसपासका बस्तीमा हात्तीको आवागमन बढिरहेका बेला स्थानीयलाई सुरक्षित राख्न सम्बन्धित निकायले आवश्यक सतर्कता र रोकथामका उपाय अपनाउनुपर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट