कांग्रेसका दिग्गज नेताहरूको भाषणले दर्शक र स्रोता नै पाएन, विराटनगरमा समानान्तर अधिवेशन उदघाटनमै कुर्सी रित्तै !
विराटनगर— नेपाली कांग्रेसका केन्द्रीय तहका दिग्गज नेताहरू मञ्चमा उभिएर भाषण गरिरहँदा दर्शकदीर्घाका अधिकांश कुर्सी खाली थिए। पार्टीभित्रको शक्ति संघर्ष र समानान्तर अधिवेशनको राजनीतिक सन्देश दिन खोजिएको विराटनगरको कार्यक्रमले उदघाटन सत्रमै कार्यकर्ता र श्रोता जुटाउन सकेन।
भावी सभापतिको रुपमा हेरिएका डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र मोहन बस्नेतजस्ता नेताहरूको उपस्थिति रहे पनि उनीहरूका भाषण सुन्ने कार्यकर्ताको उपस्थिति भने निकै पातलो देखियो।
मंगलबार विराटनगरस्थित जैन भवनमा आयोजित नेपाली कांग्रेसको देउवा पक्षीय मोरङ जिल्ला अधिवेशनको उदघाटन सत्रमा नेताहरूको बाक्लो उपस्थिति र दर्शकदीर्घाको रित्तोपनबीच स्पष्ट विरोधाभास देखिएको थियो। मञ्चमा शीर्ष नेताहरू पालैपालो सम्बोधन गरिरहेका थिए, तर अगाडिदेखि बीचका पंक्तिसम्म अधिकांश कुर्सी खाली थिए। उपस्थित सीमित कार्यकर्तासमेत छरिएर बसेका थिए। कतिपय मोबाइल चलाउन व्यस्त देखिन्थे।
कार्यक्रमस्थलमा भेटिएका एक कार्यकर्ताले दर्शक नै नभएको अवस्थामा पनि नेताहरूले पुरानै कुरा दोहो¥याएर लामो भाषण गरेको भन्दै दिक्दारी व्यक्त गरे। नेताहरूको भाषण सुन्नेभन्दा कार्यक्रम कहिले सकिन्छ भन्ने प्रतीक्षामा कार्यकर्ता देखिएको उनको टिप्पणी थियो।
बिहान ११ बजेका लागि तय गरिएको उदघाटन सत्र दिउँसो करिब २ बजे मात्रै सुरु भएको थियो। ढिलोगरी सुरु भएको कार्यक्रम लम्बिँदै जाँदा जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ता तितरबितर भएको नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दाबी गरे। उनले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको जिकिर गरे पनि कार्यक्रमस्थलको दृश्यले उनको दाबीलाई साथ दिएको देखिँदैनथ्यो।
यो अधिवेशनमा कार्यकर्ताको कमजोर उपस्थितिसँगै कांग्रेसभित्रको गुटगत विभाजन पनि सतहमा देखिएको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा देउवा पक्षले समानान्तर अधिवेशन प्रक्रिया अघि बढाएको हो। तर, मोरङमा आयोजित यस अधिवेशनमा डा. शेखर कोइराला पक्षका नेताहरू भने अनुपस्थित रहे। केदार कार्कीबाहेक कोइराला पक्षका नेताहरू कार्यक्रममा नदेखिनुले पार्टीभित्रको दूरी र असहमतिलाई थप उजागर गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नाम नलिई तटस्थ बसेका नेताहरूप्रति असन्तुष्टि जनाए। उनले पार्टीभित्रको विवादमा तटस्थ बसेर समस्या समाधान नहुने भन्दै डा. शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्कालक्षित टिप्पणी गरे। विवादका बेला आफ्नो धारणा स्पष्ट राख्न र सक्रिय भूमिका निर्वाह गर्न उनले आग्रह गरे।
तर, मञ्चबाट पार्टी एकता, सक्रियता र नेतृत्वको पक्षमा गरिएका आग्रहबीच खाली कुर्सीले अर्को सन्देश दिइरहेको थियो—नेताहरूको उपस्थिति मात्रै अधिवेशनको राजनीतिक शक्ति देखाउन पर्याप्त हुँदैन। कार्यकर्ता र समर्थकको सहभागिताबिनाको अधिवेशनले नेतृत्वको दाबीलाई कति बलियो बनाउँछ भन्ने प्रश्न कार्यक्रमस्थलमै उठेको थियो।

लोकप्रिय
अदालतले पुनर्बहाली गरे पनि दानबहादुरलाई काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी, अर्को बाटो खोज्ने संकेत

