ओलीको आक्रामक चेतावनी– ‘एमालेमाथि फेरि हमला भए लाखौँ कार्यकर्ता सडकमा उत्रिन्छन्, त्यसको मूल्य महँगो पर्न सक्छ’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो पार्टीमाथि निर्मम दमन गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि लाखौँ कार्यकर्ता सडकमा उतार्नुपर्ने बताएका छन्। प्रहरी प्रशासन र सरकार सञ्चालकप्रति आक्रामक रूपमा प्रस्तुत भएका उनले प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौतीसमेत दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले फेरि एमालेमाथि हमला गर्न सक्ने भन्दै त्यसको प्रतिकारका लागि अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिए। उनले सरकारले गर्ने दमनको प्रतिरोध हुने र त्यसको मूल्य महँगो पर्न सक्ने चेतावनी दिए।

‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ। अब सरकारले फेरि हमला गर्न सक्छ। त्यसको प्रतिरोध हुनेछ। त्यसको मूल्य महँगो पर्न सक्छ,’ ओलीले भने। आफू पक्राउ पर्दाका बेला सयौँ कार्यकर्तामाथि कुटपिट भएको दाबी गर्दै उनले आगामी प्रतिरोधमा कार्यकर्ताको संख्या कम हुन नहुने बताए। अबको विरोधमा लाखौँ कार्यकर्ता सडकमा उत्रिनुपर्ने उनको भनाइ थियो।

‘पहिले गिरफ्तारीका बेला संख्यामा केही कमी भयो होला। अबको प्रतिरोधमा लाखौँका लाख कार्यकर्ता विरोधमा उत्रिनुपर्छ। सबै तयार रहनुहोस्। यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ ओलीले भने।

आईजीपीलाई नै पक्राउ गरेर देखाउन चुनौती
ओलीले प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आफूलाई थुन्ने अभिव्यक्ति दिएको सुनेको भन्दै प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न उठाए। राजनीतिक दलका शीर्ष नेताहरूलाई पक्राउ गर्ने विषयमा प्रहरी प्रमुखले सार्वजनिक रूपमा बोल्नु उचित नभएको उनको तर्क थियो।

‘आईजीपी होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु ! शेरबहादुरलाई थुन्दिन्छु ! म प्रचण्डलाई थुन्दिन्छु ! केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु अरे,’ ओलीले भने।

उनले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको भन्दै प्रहरी नेतृत्वलाई राजनीतिक इतिहास र आन्दोलनको पृष्ठभूमि सम्झिन आग्रह गरे। ‘हामी राणा शासनका विरुद्ध लडेका आएका हौँ। पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ। निरंकुश राजतन्त्रका विरुद्ध लडेका आएका हौँ। अनि ६ महिनाको जागिर खान आएको एउटा सिपाहीले भन्छ– फलानालाई थुन्दिन्छु। ठट्टा मजाक ग¥या हो ?’ उनले प्रश्न गरे।

प्रहरी प्रमुख र सरकारका सञ्चालकहरू जन्मिनुभन्दा पहिलेदेखि आफूहरू देशका लागि ज्यानको बाजी थापेर आन्दोलनमा लागेको उल्लेख गर्दै ओलीले आफूहरूलाई मजाकको पात्र नठान्न चेतावनी दिए। ‘तिनीहरू जन्मिनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराख्या छौँ। मजाक गर्ने हामीमाथि ? थुने हुन्छ नि त समातेर ? जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौँ ?’ उनले भने।

गृहमन्त्रीको ‘फाइल खोल्दै छु’ भन्ने अभिव्यक्तिमाथि प्रश्न
ओलीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई पनि आफ्नो सम्बोधनको निशाना बनाए। गृहमन्त्रीले फाइल खोल्दै गरेको र सबैलाई थुन्ने चेतावनी दिएको भन्दै उनले यस्तो अभिव्यक्ति कसलाई लक्षित गरेर दिइएको हो भन्ने प्रश्न गरे।

‘गृहमन्त्री सुधन गुरुङले पनि फाइल खुल्दै छ, सबै थुनिन्छ भनेको सुनिन्छ। कसलाई भनेको हो ? धम्क्याएको हो ? फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ। एकसेएक थुनिन्छ। कसलाई भनेको हो ?’ ओलीले प्रश्न गरे।

उनको सम्बोधनमा सरकारको कारबाही र प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि मात्रै देखिएन, एमालेमाथि थप कारबाही भए त्यसको राजनीतिक प्रतिरोध गर्ने चेतावनीसमेत स्पष्ट रूपमा आएको छ।

आन्दोलनकारी शक्तिका रूपमा अघि बढ्ने दाबी
ओलीले एमाले कायर भएर नभई आन्दोलनकारी शक्तिका रूपमा अघि बढ्नुपर्ने बताए। एमाले देशको भविष्य, राष्ट्रियताको रक्षक र विकासको नायक भएको दाबी गर्दै उनले पार्टी दृढतापूर्वक अघि बढ्ने बताएका हुन्।

‘एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण एमाले दृढताका साथ अगाडि बढ्नेछ,’ उनले भने। उनले एमाले फेरि संवैधानिक बाटोबाट सरकारमा पुग्ने दाबीसमेत गरे। राष्ट्रिय भेलालाई पार्टीका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा व्याख्या गर्दै उनले आगामी राजनीतिक यात्रामा सक्रिय हुन नेता–कार्यकर्तालाई आह्वान गरे।

पराजयपछि संगठन पुनः परिचालन गर्ने रणनीति
गत फागुन २१ गतेको निर्वाचनमा पराजय भोगेपछि एमालेले पार्टी संगठनलाई पुनः सक्रिय बनाउने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरेको हो। दुईदिने भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरका नेता, जिल्ला र पालिका कमिटीका पदाधिकारी, जनप्रतिनिधि तथा जनसंगठनका प्रतिनिधि सहभागी छन्। भेलाको घोषित उद्देश्य संगठनात्मक एकता सुदृढ गर्नु र आगामी निर्वाचनको तयारी गर्नु रहेको एमालेले जनाएको छ।

ओलीले निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको स्वीकार गर्दै त्यसका पछाडि आन्तरिक तथा बाह्य तत्वबाट भएको हमलासमेत जिम्मेवार रहेको दाबी गरे। आगामी दिनमा नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले स्थानीय तहको निर्वाचन, त्यसपछि प्रदेश निर्वाचन, राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचनको प्रसंग उठाउँदै पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि तयार हुन आग्रह गरे। एमालेको राष्ट्रिय भेला संगठनात्मक पुनर्संरचना र निर्वाचन तयारीमा केन्द्रित हुने बताइए पनि ओलीको सम्बोधनले सरकारसँगको टकराव, प्रहरी नेतृत्वप्रतिको असन्तुष्टि र सम्भावित आन्दोलनको तयारीलाई प्रमुख राजनीतिक सन्देशका रूपमा अघि सारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट