सभामुखको स्वागत गर्ने होटल छान्ने विवादमा रास्वपामा कुटाकुट, महोत्तरीमा सांसद र जिल्ला उपसभापति आमनेसामने

बर्दिबास– सभामुख डीपी अर्यालको स्वागत तथा सत्कार कहाँ गर्ने भन्ने सामान्य व्यवस्थापकीय विषयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीभित्र ठूलो विवादको रूप लिएको छ। एउटै पार्टीका दुई समूहले फरक–फरक होटलमा स्वागत कार्यक्रम राखेपछि सुरु भएको विवाद जिल्ला उपसभापति चन्द्रकिशोर महतोमाथि हातपातको प्रयास र गालीगलौज भएको आरोपसम्म पुगेको छ।

घटनामा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोको नाम जोडिएको छ। तर सांसद महतोले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। सोमबार बर्दिबासमा सभामुख अर्यालको स्वागत कार्यक्रम आयोजना गर्ने विषयमा रास्वपाका नेताहरू दुई समूहमा विभाजित भएका थिए। प्रतिनिधिसभा सदस्य प्रमोद महतोसहितको समूहले गौतम होटलमा स्वागत तथा सत्कारको कार्यक्रम तय गरेको थियो भने अर्को समूहले विनायक होटलमा कार्यक्रम राखेको थियो।

एउटै पार्टीका नेताहरूले एउटै अतिथिका लागि छुट्टाछुट्टै स्थानमा कार्यक्रम तय गरेपछि विवाद चर्किएको थियो। दुवै होटलमा कार्यक्रम गर्ने विषयमा सहमति जुट्न नसकेपछि अन्ततः दुवै स्थानका कार्यक्रम रोकिए। सभामुखसँगको भेटघाट कार्यक्रम बर्दिबास उद्योग वाणिज्य संघको सभाहलमा सारियो भने खाना तथा सत्कारका लागि गौरिडाँडास्थित खुकुरी होटल रोजिएको थियो।

तर कार्यक्रमस्थल परिवर्तन गर्दैमा विवाद साम्य भएन। खुकुरी होटलको गेटमा समेत विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन्। यही घटनाक्रमपछि जिल्ला उपसभापति चन्द्रकिशोर महतोमाथि हातपातको प्रयास, गालीगलौज र अभद्र व्यवहार भएको आरोप सार्वजनिक भएको हो।

रास्वपा महोत्तरीले प्रेस नोट जारी गर्दै आफ्नै संगठनका जिम्मेवार नेतृत्वमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस नोटमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोको निर्देशनमा उपसभापतिमाथि हातपातको प्रयास र दुव्र्यवहार भएको आरोप लगाइएको छ।

पीडितसमेत रहेका कार्यवाहक जिल्ला सभापति चन्द्रकिशोर महतोले राजनीतिक शक्ति, पद र पहुँचको आडमा संगठनभित्रै जिम्मेवार नेतृत्वलाई धम्क्याउने, अपमानित गर्ने र भौतिक आक्रमणको प्रयास गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।

‘संगठनको जिम्मेवार तहमा रहेका नेतृत्वमाथि जनप्रतिनिधिकै निर्देशनमा हातपातको प्रयास र दुर्व्यवहार भएको भन्ने विषय सामान्य घटना नभई संगठनको विधि, विधान, अनुशासन, मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार हो,’ महतोको प्रेस नोटमा उल्लेख छ।

जिल्ला समितिले संगठन कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभएको भन्दै जनप्रतिनिधि वा पदाधिकारी कसैलाई पनि पार्टीको विधि, विधान र मर्यादाभन्दा माथि रहने छुट नभएको जनाएको छ। पद र शक्तिको दुरुपयोग गरी संगठनभित्र भय सिर्जना गर्ने तथा जिम्मेवार नेतृत्वमाथि दबाब र दुर्व्यवहार गर्ने कार्यलाई समर्थन गर्न नसकिने उसको भनाइ छ।

घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा दोषी प्रमाणित हुनेलाई संगठनको विधान, नियम र अनुशासनअनुसार हदैसम्मको कारबाही गर्न जिल्ला समितिले माग गरेको छ।

यता सांसद प्रमोदकुमार महतोले भने आफू वा आफ्नो समूहबाट जिल्ला उपसभापतिमाथि हातपात, गालीगलौज वा दुव्र्यवहारसम्बन्धी कुनै गतिविधि नभएको दाबी गरेका छन्। यसरी एउटै घटनाबारे पार्टीको जिल्ला नेतृत्व र निर्वाचित सांसदका दाबी परस्पर विरोधी देखिएका छन्।

विवादको वास्तविकता र जिम्मेवारीबारे स्पष्टता खोज्न बर्दिबास उद्योग वाणिज्य संघमा बैठकसमेत बसेको छ। बैठकमा रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मधेस प्रदेश महामन्त्री मनिष साह, केन्द्रीय सदस्य अंकित यादव लगायतका नेताहरू सहभागी छन्।

सभामुखको स्वागत कार्यक्रम व्यवस्थापन गर्नुपर्ने विषयबाट सुरु भएको विवाद पार्टीभित्रै आरोप–प्रत्यारोप र अनुशासनको प्रश्नसम्म पुगेको छ। एउटा होटलमा कार्यक्रम गर्ने कि अर्कोमा भन्ने विषयमा सहमति जुटाउन नसक्ने संगठनले आफ्नै नेतृत्वमाथि दुर्व्यवहार भएको आरोपको निष्पक्ष छानबिन कसरी गर्छ भन्ने प्रश्नसमेत उठेको छ।

अझ गम्भीर प्रश्न त के छ भने, संगठनको विधि, विधान र अनुशासनको कुरा गर्ने पार्टीभित्रै निर्वाचित जनप्रतिनिधि र जिल्ला नेतृत्वबीच यस्तो विवाद किन र कसरी उत्पन्न भयो? आरोपको निष्पक्ष छानबिन हुन्छ कि यो विवाद पनि गुटगत शक्ति संघर्षमै सीमित हुन्छ, त्यसको जवाफ पार्टी नेतृत्वले दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट