‘रास्वपाभित्र विस्फोटको संकेत ! वर्षमान पुन भन्छन्– बालेनले रविलाई थुन्न सक्छन्, रविले प्रधानमन्त्री हटाउन सक्छन्’

काठमाडौँ– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्षले कुनै पनि बेला गम्भीर राजनीतिक मोड लिन सक्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले दाबी गरेका छन्।

उनले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीचको शक्ति टकरावले सरकार मात्र होइन, राज्यका स्थापित संस्थाहरूसमेत कमजोर बनाएको आरोप लगाएका छन्।

नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपाभित्रको आन्तरिक विवाद सामान्य असन्तुष्टिमा सीमित नरहेको टिप्पणी गरे। उनका अनुसार राज्यका निकायलाई आफ्नो प्रभावमा राख्ने विषयमा प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच प्रतिस्पर्धा चलिरहेको छ।

यही शक्ति संघर्षका कारण राज्यका निकाय विभाजित र कमजोर बनेको तथा राष्ट्रियतासमेत प्रभावित भएको उनको आरोप छ। पुनले बालेन र रविबीचको टकराव जुनसुकै बेला अप्रत्याशित घटनामा परिणत हुन सक्ने दाबीसमेत गरे। उनले प्रधानमन्त्रीले पार्टी सभापतिलाई पक्राउ गराउने वा सभापतिले नै प्रधानमन्त्रीलाई पदबाट हटाउने अवस्था आउन सक्ने बताए।

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन,’ पुनले भने।

उनको यो अभिव्यक्ति सत्तारुढ दलभित्रको शक्ति सन्तुलन र सरकार सञ्चालनमा देखिएको विवादप्रति लक्षित छ। यद्यपि, बालेन र रविबीच पक्राउ वा प्रधानमन्त्री हटाउने तहको कदम चालिने भन्ने पुनको दाबी हो, त्यसलाई पुष्टि गर्ने कुनै स्वतन्त्र प्रमाण उनले सार्वजनिक गरेका छैनन्। यद्यपी सरकारका कृयाकलाप र रविले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा व्यक्त गरेका अभिव्यक्तिले पुनको दावीलाई वल दिएको देखिन्छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले वर्तमान सरकारको राजनीतिक दिशा संविधान र विद्यमान व्यवस्थामाथि प्रहार गर्ने तथा प्रतिक्रान्तितर्फ अघि बढ्ने खालको रहेको आरोप लगाए। सरकारको कार्यशैलीले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गरेको उनको भनाइ थियो।

यस्तो प्रवृत्तिलाई रोक्न र राष्ट्रिय स्वाधीनता बलियो बनाउन संविधान मान्ने राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनले बताए। विशेषगरी वामपन्थी दलहरूबीच एकता र ध्रुवीकरण हुनुपर्नेमा उनले जोड दिए।

पुनले नेकपा एमालेसँग पनि सहकार्य गर्नुपर्ने धारणा राखे। विगतका कमजोरी र खराब प्रवृत्तिको समीक्षा गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने र संविधान मान्नेहरूका बीचको सहकार्य पनि आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ,’ उनले भने, ‘खराब प्रवृत्ति र फासिस्ट कार्यशैलीबारे समीक्षा गर्दै सहकार्य गर्दै जानुपर्छ। देशको स्वाधीनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ।’

नेकपा एमालेका नेताहरू पनि सहकार्य र एकताका लागि पछिल्लो समय हतारिएको पुनको दाबी छ। विभिन्न भेटघाटमा एमाले नेताहरूले त्यस्तो चाहना व्यक्त गर्ने गरेको उनले जानकारी दिए।

समाजवादको एजेन्डासहित जनतामा जाने दाबी
पुनले नेकपाले सुशासन र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने गरी आफ्नो राजनीतिक कार्यक्रम अघि बढाउनुपर्ने बताए। वैज्ञानिक समाजवादको लक्ष्यसहित पार्टी जनतामाझ जाने उनको भनाइ थियो।

उनका अनुसार वैज्ञानिक समाजवादी व्यवस्थासँग प्रतिस्पर्धा गर्न नसकेपछि पुँजीवादी मुलुकहरूले समेत लोककल्याणकारी राज्य र समाजवादसँग सम्बन्धित आर्थिक तथा सामाजिक कार्यक्रम अवलम्बन गर्न थालेका छन्।

विश्वभर क्रान्तिकारी आन्दोलन कमजोर बनाउने रणनीति असफल हुँदै गएको दाबी गर्दै उनले कम्युनिस्टहरूले पनि आफ्ना कार्यक्रम र कार्यशैली परिमार्जन गर्नुपर्ने बताए। जनताका आवश्यकता र अपेक्षाअनुसार रूपान्तरण हुँदै प्रतिस्पर्धाबाट निर्वाचित भएर समाजवादतर्फ अघि बढ्ने रणनीति नेकपाले लिनुपर्ने उनको तर्क थियो।

गणतन्त्र स्थापना भएको दुई दशक र त्यसअघिको पछिल्लो ३५ वर्षमा देशमा केही पनि उपलब्धि भएन भन्ने आरोपको पनि पुनले खण्डन गरे। भौतिक पूर्वाधार, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको उनको दाबी थियो।

पुनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै वामपन्थी शक्तिहरूबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट