रवि–मुकुलको दुई वर्षदेखिको चिसो सम्बन्ध विवाहको निम्तोले तोडियो, मंसिर १० गते मुकुल–निशाको बिहे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले विवाहको निम्तो दिन पार्टी सभापति रवि लामिछानेको घरमै पुगेर पुरानो संवादहीनता पनि तोडेका छन्।

मुकुल र निशा मंगलबार साँझ रवि लामिछानेको बूढानीलकण्ठस्थित निवास पुगेका थिए। उनीहरूले रवि र उनकी पत्नी निकिता पौडेललाई विवाहको निम्तो दिए। निम्तो स्वीकार गर्दै रवि–निकिताले विवाहमा सहभागी हुने वचन दिएका छन्।

मुकुलका अनुसार उनीहरूबीच भेटघाटका क्रममा पारिवारिक वातावरणमा कुराकानीसमेत भयो। पार्टीभित्रको विवादपछि रविसँग संवाद बन्द भएको लामो समयपछि भएको यो भेटलाई सम्बन्धमा आएको सहजताका रूपमा हेरिएको छ।

रास्वपाको स्थापनाकालदेखि नै रवि लामिछानेका निकट सहयोगी रहेका मुकुल २०८१ असारमा पार्टीबाट निष्कासित भएका थिए। पार्टीको केन्द्रीय समिति बैठकअघि आन्तरिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको आरोप उनीमाथि लगाइएको थियो। त्यसपछि रवि र मुकुलबीचको सम्बन्ध चिसिएको थियो र उनीहरूबीच बोलचालसमेत बन्द भएको थियो।

पार्टीबाट निष्कासित भए पनि निशा भने रास्वपामै सक्रिय रहिन्। चितवनमा भएको पार्टीको पहिलो महाधिवेशनबाट उनी सर्वाधिक मतसहित सहमहामन्त्री निर्वाचित भएकी थिइन्। अहिले पार्टीभित्र फरक राजनीतिक अवस्थिति भए पनि उनीहरूको प्रेम सम्बन्ध विवाहमा परिणत हुन लागेको हो।

मुकुल र निशाले बुधबार बिहान सभामुख डीपी अर्याल र उनकी पत्नी अम्बिकालाई पनि भेटेर विवाहको निम्तो दिएका छन्। सभामुख अर्यालले पनि विवाहमा आउने प्रतिबद्धता जनाएको मुकुलले बताएका छन्। उनीहरूबीचको सम्बन्धबारे रवि र डीपी दुवैलाई पहिल्यै जानकारी रहेको मुकुलको भनाइ छ।

प्रधानमन्त्री वालेन्द्र साह भारत भ्रमणको तयारीमा व्यस्त रहेकाले उनलाई भने भारतबाट फर्किएपछि विवाहको निम्तो दिने तयारी गरिएको छ। विवाहका लागि मुकुलले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम तय गरेका छन्। पार्टीभित्रको राजनीतिक उतारचढाव र सम्बन्धमा आएको दूरीका बीच मुकुल र निशाको वैवाहिक यात्राले रास्वपाको राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट