झापामा धान काट्ने मेसिनमा ठोक्कियो मोटरसाइकल, दुई युवकको घटनास्थलमै मृत्यु

दमक– झापाको बाह्रदशी गाउँपालिका–५ मा मोटरसाइकल र धान काट्ने मेसिन एकापसमा ठोक्किँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि धान काट्ने मेसिनका चालक सवारीसाधन छाडेर फरार भएका छन्।

बुधबार राति करिब पौने ११ बजे बाह्रदशी–५ स्थित चारपाने–राजगढ सडकको खटखटी टोलमा दुर्घटना भएको हो। राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै युवकको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनापछि धान काट्ने मेसिनका चालक सवारीसाधन छाडेर फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। राति करिब पौने १ बजे कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र धान काट्ने मेसिन प्रहरी नियन्त्रणमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट