कानुनमा क्यासिनोमा नेपालीलाई निषेध, भित्र भने खुलेआम जुवाको खेल ! वीरगन्जबाट १२ जना पक्राउ
वीरगञ्ज– क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले वीरगन्जबाट १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोभित्र जुवा खेलिरहेका ९ जना र नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोप लागेका ३ जना छन्।
वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार राति छापा मारेको थियो।
प्रहरीका अनुसार क्यासिनोभित्र नेपाली नागरिक जुवा खेलिरहेको र उनीहरूलाई प्रवेश गराएर खेलाउने कार्य भइरहेको अवस्थामा टोलीले १२ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका विजय अग्रवाल (६२), सन्तोषकुमार यादव (३०), अनुरागकुमार (२४) र दीपक साह (४८) छन्।
त्यस्तै पर्साको गढी गाउँपालिकाका दिनेश साह (२६), बाराको कलैया उपमहानगरपालिकाका नरेश प्रसाद (४०), काभ्रेको महाभारत गाउँपालिकाका गुन्जमान मोक्तान (४७), सिन्धुलीको मरिन गाउँपालिकाका विनोदकुमार (२७) र काठमाडौंको शंखरापुर नगरपालिकाका राजेश श्रेष्ठ (४०) पनि पक्राउ परेका छन्।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिकाका तिलकप्रसाद भट्ट (५४), वीरगन्ज महानगरपालिकाका प्रभु साह तुरहा (३७) र सिरहाको धनगढीमाई नगरपालिकाका दीपकराज पराजुली (४६) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइएको घटनाले कानुनी व्यवस्थाको कार्यान्वयन र त्यसको निगरानीमाथि प्रश्न उठाएको छ। क्यासिनोमा प्रवेश निषेधसम्बन्धी व्यवस्था हुँदाहुँदै नेपाली नागरिक कसरी त्यहाँ प्रवेश गरेर जुवा खेलिरहेका थिए भन्ने विषय अनुसन्धानको दायरामा छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख छ।
लोकप्रिय
सरकारी स्रेस्ता नै हेरफेर गरेर अर्काको जग्गा हत्याएको आरोपमा मालपोत प्रमुखदेखि वडाध्यक्षसम्म सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा !
श्रीमान क्रोएसियामा, बुहारी दुई वर्षीया छोरीसहित अर्कैसँग हिँडेपछि जेठाजु तनावमा ! ७ लाख नगद र सुन पनि लगेको दाबी

