श्रीमतीको हत्या गर्न ४ लाख सुपारी दिएका चुँडामणि योजना उल्टो पर्दा आफैं मारिए

काठमाडौँ– धादिङमा श्रीमतीको हत्या गर्न आफनै घरका कामदारलाई ४ लाख ‘सुपारी’ दिएका ब्यक्ति योजना असफल हुँदा आफैं मारिएको घट्ना सार्वजनिक भएको छ।
घट्ना गजुरी गाउँपालिका–२ को हो। स्थानीय ६० वर्षीय चुडामणि कँडेल २७ चैतमा आफ्नै घरको शौचालयमा मृत फेला परेका थिए। उनको घाँटी डोरीले कसिएको थियो भने शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।
प्रारम्भिक चरणमा चुडामणिको हत्या उनकै श्रीमती सुस्मिता सिलवालले गरेको हुन सक्ने आशंका गरिएको थियो। तर, प्रहरीको अनुशन्धानका क्रममा चुडामणिले श्रीमतीकै हत्या गर्न सुपारी दिएको तर सुपारी लिएका ब्यक्तिले काम फत्ते गर्न नसकेपछि पैसा पचाउन उनकै हत्या गरेर फरार भएको खुलेको छ।
हत्यामा संलग्न भएको प्रमाण जुटेकाहरु मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी दिपेन्द्र शाहीका अनुसार उनीहरुले अपराध स्विकार गरेका छन्।
शाहीका अनुसार चुँडामणि र सुस्मिता बीचको सम्वन्ध खासै राम्रो थिएन। सुस्मिता प्रायः सीतापाइलाको घरमा गएर बस्थिन्। सँगै हुँदा पनि उनीहरुको बोलचाल हुँदैनथ्यो। उनी मारिनु करिव १५ दिनअघि सुस्मिता गाउँमा पुगेकी थिईन।
त्यहाँ १० दिन बसेर पति मारिएकै दिन उनी सितापाईला फर्किएको पाईएको छ। त्यही कारण पनि उनी श्रीमानको हत्यामा संलग्न भएको आशंका गरिएको थियो। तर, अनुशन्धानका क्रममा उनी आफैं भाग्यले बाँचेको खुलेको छ।
प्रहरीको अनुशन्धान अनुसार चुडामणिले आफ्नै खेतमा कृषि मजदुरका रुपमा काम गर्ने अक्कलबहादुरलाई श्रीमतीको हत्याका लागि ४ लाख रुपैयाँ दिएका थिए। उनले हत्याको योजनामा पृथलाल र सञ्चलाललाई पनि सहयोग मागे।
त्यसपछि पटक–पटक सुस्मिताको हत्याका लागि प्रयास गरेको तर सफल नभएको खुलेको छ। निकै दिन वितेपछि ‘काम गर्न नसकेको’ भन्दै चुडामणिले पैसा फिर्ता माग्न थाले। तर, पैसा खर्च गरिसकेका कारण उनीहरुले फिर्ता गर्न सकेनन्। त्यसपछि चुँडामणिकै हत्या गर्ने योजना वनेको प्रहरीले जनाएको छ।
योजना अनुसार २४ चैतको राति चुडामणिलाई घरभित्रै कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ। त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेका थिए। ४ लाख मध्ये १ लाख रुपैयाँ प्रहरीले अक्कलबहादुरको कोठाबाट बरामद गरेको छ।
चुँडामणिको हत्यामा संलग्न विरुद्ध सुस्मिताले प्रहरीमा जाहेरी दिएकी छन्। उनीहरुका छोरा क्यानडा र छोरी काठमाडौंमै पढ्दै गरेको एसपी शाहीले बताए।