पहलगाम आक्रमणको भावुक तस्वीरः जस्ले जन्म दियो ‘अपरेशन सिन्दूर’

काठमाडौंँ– जम्मु–कास्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा भारतीय सेनाले मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा मिसाईल आक्रमण गरेपछि अहिले ‘अपरेशन सिन्दुरको’ ब्यापक चर्चा छ।
गत अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव बढेको थियो। त्यही प्रकरणमा भारतले ‘अपरेशन सिन्दूर’ सैन्य कारबाही गरेको हो।
पहलगाममा हमलाकारीहरूले नाम सोधी–सोधी गैर–मुस्लिम पुरुषको हत्या गरेका थिए। जसले भारतीय जनमानसमा गहिरो आघात पु¥याएको थियो। उक्त हमलामा २६ जना मारिएका थिए। जसमध्ये अधिकांश भारतीय पर्यटक थिए भने मारिनेमध्ये एकजना नेपाली युवा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपाने पनि थिए।
हमलापछि एक महिला आफ्नो श्रीमानको शवसँगै बसेको तस्वीर भाइरल भएको थियो। शव हनिमुन मनाउन गएका भारतीय नौसेनामा कार्यरत लेफ्टिनेण्ट (हरियाणा राज्यको कर्नाल जिल्लाका) विनय नरवालको थियो भने शव रुँघेर वसेकी उनकी पत्नि हिमान्सी थिईन। गुरुग्रामकी हिमान्सी र विनयको एक साताअघि मात्रै विवाह भएको थियो।
बिहेभोज (रिसेप्सन) गरेपछि उनीहरु हनिमुन मनाउन कश्मिर गएका थिए। विनयले हनिमुनका लागि स्वीट्जरल्याण्ड जाने योजना बनाएका थिए। भिसाको प्रक्रियामा समस्या भएपछि उनीहरू स्वीट्जरल्याण्डको योजना बदलेर मिनी स्विट्जरल्यान्ड भनेर चिनिने कश्मिर पुगेका थिए।
श्रीमतीसँगै रहेका बेला उनीमाथि गोली प्रहार भयो। उनी ठाउँमै ढले। सामाजिक सञ्जालमा उनी ढलिरहेको र हिमान्सी छेउमा वसेर विलौना गरिरहेको फोटो भाईरल भयो। सोही तस्वीरले भारतीय समाजमा भावनात्मक आक्रोश पैदा गरेको थियो।
यही सन्दर्भमा भारतले आफ्नो सैन्य कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ, जुन हिन्दु विवाहित महिलाले लगाउने रातो सिन्दूरको प्रतीक हो। अपरेशनले ‘हिन्दु महिलाको सिन्दुर सस्तो छैन’ भन्ने भावनात्मक सन्देश दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यो नामले हमलामा विधवा भएका महिलाहरूको न्यायको मागलाई प्रतिबिम्बित गरेको दाबी गरिएको छ।
भारतले यो हमलाको लागि पाकिस्तान समर्थित लश्कर–ए–तय्यबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)जस्ता आतंकवादी समूहहरूलाई जिम्मेवार ठहराएको छ। गएरातिको सैन्य आक्रमणमा आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) का प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएको बताईएको छ।
यसको जानकारी अजहर आफैँले दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। जेईएमको विज्ञप्तिको हवाला दिँदै समाचारमा अजहरका दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी मारिएको जनाइएको छ। त्यस्तै, आक्रमणबाट उनका चार जना नजिकका साथीको पनि ज्यान गएको छ। समाचारमा भनिएअनुसार मसूद अजहरका तीन सहयोगी र सहयोगीमध्ये एककी आमा मारिएका हुन्।
पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको ज्यान गएको जनाइएको छ। अजहर मुम्बई आक्रमणमा संग्लग्न व्यक्ति हुन्। फेब्रुअरी २०१९ मा (जेईएम) ले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए। सोही वर्ष उनलाई विश्वव्यापी आतङ्कवादीको रूपमा घोषणा गरिएको थियो।
पाकिस्तानी अधिकारीहरूका अनुसार अजहरका आफन्तहरूसहित एकै रातमा कम्तीमा २६ जनाको ज्यान गएको छ भने भारत–प्रशासित कश्मीरमा १० जनाको मृत्यु भएको छ।
यो पनि,
- पहलगाम आक्रमणको वदलामा पाकिस्तानमा भारतको ‘अपरेशन सिन्दुर’ :९ ठाउँमा मिसाईल आक्रमण
- पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, जम्मू–कश्मिर बन्द
- हनिमुन मनाउन गएका नौसेनाका लेफ्टिनेण्ट कश्मिर आक्रमणमा मारिए, साता दिनमै पुछियो हिमान्सीको सिउँदो
- जम्मू–कश्मिरमा आतंकबादी हमलामा परी परिवारसहित घुम्न गएका नेपाली युवकको यसरी भयो मृत्यु