डाक्नेश्वरीका प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अधिकृत यादवसहित इन्जिनियरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सव–इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परियार, योजना शाखामा कार्यरत सहायक पाँचौं निकिता चौधरी, जीएस निर्माण सेवा र प्रोपराइटर विजयकुमार यादव उपर आरोप–पत्र दायर भएको हो।
उनीहरुले एलईडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई लाईट जडान कार्यका लागि ठेक्का दिएको कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भर्पाई बनाई नगरपालिकामा पेस गरीएको र पूरै रकम असार मसान्तमा नै भुक्तानी गरी हिनामिना गरेको अख्तियारको दाबी छ।
नगरपालिकाले आ.व. २०७८/०७९ मा नगरका सम्पूर्ण वडामा १ सय ४८ थान एलईडी स्ट्रिट लाइट जडानसम्बन्धी ४८ लाख २४ हजार ८ सय ७४ रुपैयाँ कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधिविपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ र डाक्नेश्वरी नगरपालिकालाई गैरकानूनी हानि पु¥याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदनबमोजिम फिल्डमा नभएका कामहरूको समेत मूल्याङ्कन गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दाबी छ।
पुष्ट्याइको आधार तथा बिना नम्स अस्वाभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको समेत गरी जम्मा २५ लाख ४ हजार ५ सय ३० रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारको भनाइ छ।