प्रचारमुखी मुख्यमन्त्रीको विरोधाभासः आफैंले सुरु गरेको योजना अलपत्र, बुबाको अधुरो काममा चासो नै छैन

राजविराज — मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह आफुलाई विकासवादी, प्रगतिशील, परिवर्तनकारी र समाज रूपान्तरण गर्ने नेताका रूपमा प्रस्तुत गर्न हरसम्भव प्रयासमा छन्। उनी कहिले अस्पताल अनुगमनमा पुग्छन्, कहिले विद्यालयमा विद्यार्थीसँग संवाद गर्छन्। कहिले बालुवा–गिटी तस्करी रोक्न खोला–खोला धाउँछन्। यस्ता सबै गतिविधिको फेसबुकमार्फत नियमित अपडेट दिने उनले आफूलाई सक्रिय, जिम्मेवार र जनताको सरकारको प्रतिनिधिका रूपमा देखाउन खोजेका छन्।
मुख्यमन्त्री सिंहको पछाडि युट्युबर र पत्रकारको टोली सक्रिय देखिन्छ। उनी यतिमा मात्रै सिमित छैनन। उनको प्रचारमुखी क्रियाकलापको प्रभाव सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि परेको छ। नीति तथा कार्यक्रममा ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ पुर्याउने भन्दै ‘हेल्लो सीएम’ कार्यक्रम ल्याइएको छ। तर यही कार्यक्रममाथि प्रदेश सभामै आलोचना सुरु भइसकेको छ।
एकीकृत समाजवादीका सांसद कनिस पटेलले सोमबारको प्रदेशसभा बैठकमा ‘हेल्लो सीएम’ कार्यक्रमप्रति गम्भीर प्रश्न उठाए। ‘सांसदले बारम्बार संसद्मा उठाएका माग, कुरा र समस्यालाई बेवास्ता गर्ने सरकारले फेसबुक र फोनमार्फत जनताको कुरा कसरी सुन्छ?’ भन्दै उनले सरकारको नियतमाथि नै शंका गरे।
पटेलले नीति तथा कार्यक्रमलाई ‘नारा र फूलबुट्टाले सजाइएको किताब’ भन्दै मन्त्रीमुखीलाई योजनाबाट माथि उठ्न आग्रह गरे।
अधक्ष हुँदा सुरु गरेका योजना अलपत्र
मुख्यमन्त्री सिंहको नेतृत्व क्षमताप्रति प्रश्न उठ्ने अर्को उदाहरण तिलाठी कोइलाडी गाउँपालिकामै छ, जहाँ उनको घर छ। उनले गाउँपालिकाको अध्यक्ष हुँदा सुरु गरेको संग्रहालय, पुस्तकालय र सभाकक्ष निर्माण योजना अहिलेसम्म अलपत्र छ।
कोइलाडीस्थित आफ्नै घरनजिकको खाल्डोमा माटो भरेर सुरु गरिएको योजनाका लागि संघीय पर्यटन मन्त्रालयबाट बजेट विनियोजन भएको थियो। २०७८ माघ २ गते ओम साइराम कन्स्ट्रक्सनसँग ५ करोड ६८ लाख १८ हजार रुपैयाँको सम्झौता भयो। २०८० पुस १५ भित्र निर्माण सम्पन्न गर्ने कार्यादेश दिइएको थियो। तर हालसम्म जम्मा १० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
ठेकेदार कम्पनीले १ करोड रुपैयाँ पेस्की र ५० लाख भुक्तानी लिइसकेको छ। तर बाँकी ३ करोड ९३ लाख रुपैयाँ बजेटको सुनिश्चितता नहुँदा योजना फ्रिज भएको छ। दुई वर्षदेखि बजेट विनियोजन नभएको भन्दै गाउँपालिका पन्छिएपछि योजना रोकिएको छ। निर्माण कम्पनीले पालिकामाथि भुक्तानी नदिएको गुनासो गरेको छ भने पालिकाले स्रोतको अभाव देखाएको छ। यसले योजनाप्रति सिंहको बेवास्ता झल्काएको छ।
बुबाले सुरु गरेको कन्या छात्रावास पनि २० वर्षदेखि अधुरो
मुख्यमन्त्री सिंहको नेतृत्व मात्र होइन, पृष्ठभूमिले समेत उनीप्रति प्रश्न उठाउने अवस्था बनाएको छ। उनका बुबा शेखरकुमार सिंहले २०६२ जेठ २९ गते सम्झौता गरेर राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सुरु गरेको कन्या छात्रावास अझै अधुरो छ। भारतीय दूतावासको १ करोड ९६ लाख ४५ हजार ५३२ रुपैयाँको सहयोगमा सन् २००६ भित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ५६ कोठे भवन अहिले पनि अपूरो अवस्थामा छ।
छात्रावासको झ्याल, ढोका, सिँढी, छत र घरको रेलिङ, रंगरोगन, विद्युत् जडान, क्यान्टिन र शौचालयलगायतका पूर्वाधार अझै बन्न सकेका छैनन्। हालसम्म करिब २० प्रतिशत मात्र काम सम्पन्न भएको छ। योजनाको जिम्मेवारी शेखरकुमार सिंहकै नेतृत्वमा रहेको समितिले लिएको थियो। तर २० वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुनु गम्भीर बेवास्ताको नमुना बनेको छ।
स्थानीयवासीले अब शेखर सिंहका छोरा तथा मुख्यमन्त्री बनेका सतिश सिंहबाट योजना पूरा हुने आशा गरेका थिए। सप्तरी निवासी भएकाले जनताको अपेक्षा स्वाभाविक थियो। तर, भ्रष्टाचार र जनहितका पक्षमा आवाज उठाउने दाबी गर्ने मुख्यमन्त्री सिंहले बुबाको अधुरो कामप्रति कुनै सार्वजनिक टिप्पणी नगर्नुले उनको कथन र व्यवहारबीचको गहिरो अन्तर उजागर गरेको छ।
मुख्यमन्त्री सिंहले बुबाले सुरु गरेका योजनाको जिम्मा लिएर त्यसलाई पुरा गर्न पहल गर्छन/गर्दैनन भन्ने विषय अहिले पनि चर्चाको केन्द्रमा छ। एकातिर उनी सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा सक्रिय देखिन्छन्, अर्कोतिर आफ्नै नेतृत्व र घरका योजनाहरू अधुरै छन्। मुख्यमन्त्री सिंहले इतिहास उल्ट्याउँदै आफ्नो र बुबाको अधुरो जिम्मेवारी पूरा गर्छन् कि प्रचारमुखी मौनताकै यात्रामा अघि बढ्छन? त्यो भने हेर्न अझै बाँकी नै छ।