बलात्कारपछि किशोरीको हत्या गर्ने शिक्षकलाई आजीवन काराबासको सजाय

गुल्मी — बलात्कारपछि किशोरीको हत्या गर्ने एक शिक्षकलाई जिल्ला अदालत गुल्मीले बुधबार आजीवन काराबासको सजाय सुनाएको छ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले बाँकेको खजुरा गाउँपालिका–७ का ३२ वर्षीय रहिस खाँलाई आजीवन कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी कमल पन्थीका अनुसार खाँलाई पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश पनि गरेको छ।

खाँ गुल्मीको चन्द्रकोट गाउँपालिका–४ स्थित एक मदरसामा शिक्षकका रूपमा कार्यरत थिए। उनीमाथि २०८० कात्तिक १६ गते बाग्लुङ बरेङ गाउँपालिका घर भई हाल गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरेको आरोप थियो।

त्यो दिन किशोरी खेतमा धान काट्ने क्रममा खेतालाका लागि सुर्ती किन्न गएकी थिइन्। उनी फर्किएर नआएपछि खोजी गर्दा स्थानीय हुग्दी खोलामा उनको शव फेला परेको थियो। अनुसन्धानका क्रममा शिक्षक खाँ पक्राउ परेका थिए।

पीडित पक्षबाट किशोरीकी आमाले खाँविरुद्ध जबरजस्ती करणी र ज्यान सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। खाँलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो। अपराध भएको १८ महिनापछि अदालतले बुधवार फैसला सुनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट