कारागारमा कैदीको मृत्यु प्रकरण अनुशन्धानका क्रममा नेपाल प्रहरीका सई पक्राउ

काठमाडौँ — कैलाली कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा नेपाल प्रहरीका सई हरजीत नाथ पक्राउ परेका छन्। मृतक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीका परिवारले नाथमाथि किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिए। पक्राउ परेका सई नाथ मृतक पालीविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गर्ने वादी समेत थिए। सोही उजुरीका आधारमा जिल्ला अदालतले पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

मृतककी श्रीमती जानकी साउदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउँदै बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। उनले कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनालाई समेत दोषी ठहर गर्दै जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी सच्याउन सुझाएपछि बिहीबार उनले सई नाथविरुद्ध मात्र किटानी जाहेरी दर्ता गराएकी हुन्।

प्रहरीले सई नाथलाई नियन्त्रणमा लिएपछि मृतकका परिवार शव बुझ्न सहमत भएका छन्। शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ र पोष्टमार्टम पश्चात परिवारलाई बुझाइने जनाइएको छ।

मृतक पालीलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरी ३० गते धनगढी लगिएको थियो। ३१ गते शनिबार परेकाले उनलाई असार १ गते मात्र अदालतमा पेश गरियो। अदालतले सोही दिन कैद भुक्तानका लागि पालीलाई कैलाली कारागार चलान गर्यो। तर, असार २ गते राति साढे १० बजे कारागारको बाथरुम नजिकै अचेत अवस्थामा फेला परेका उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्याइयो। उपचारको क्रममा सोही राति उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

पालीका शरीरमा देखिएका चोटपटकका आधारमा परिवारले उनलाई योजनाबद्ध रूपमा कुटपिट गरी हत्या गरिएको दाबी गरेका छन्। घटनाबारे हाल प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट