बुधन मण्डलको अपराधको कुण्डली सार्वजनिक गरेर प्रहरीको बर्दीमा लागेको ‘३० लाखको दाग’ मेटिन्छ ?

राजविराज — सप्तरी प्रहरीले साढे दुई वर्षअघि भएको लागू औषध गाँजा तस्करीसम्बन्धी एक घटनामा फरार प्रतिवादीको रूपमा असार १ गते पक्राउ गरेको भनिएका हनुमाननगर कंकालिनी नगरपालिका–१, कोशी ब्यारेजका ३५ वर्षीय जोगानन्द मण्डल उर्फ बुधनको आपराधिक पृष्ठभूमि सार्वजनिक गरेको छ।

सप्तरी प्रहरीका अनुसार मण्डल २०७९ पुस १४ गते कोशी टापुमा बरामद ८१० किलो गाँजा प्रकरणका मुख्य अभियुक्त हुन्। उनका नाममा हाल ४ वटा लागुऔषधसम्बन्धी मुद्दा अनुसन्धानको क्रममा छन् भने तीन मुद्दामा ३ वर्ष ९ महिना २ दिन कैद, ४० हजार जरिवाना र ४ सय क्षतिपूर्ति असुल गर्न बाँकी रहेको विवरण प्रहरीले सार्वजनिक गरेको हो।

अघिल्ला मुद्दामा दोषी ठहर, तर खुलेआम होटल सञ्चालन
प्रहरी तथ्यअनुसार २०७१/७२ मा लागुऔषध मुद्दामा मण्डललाई २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। यस्तै, २०७७/७८ को अर्को गाँजा मुद्दामा २ वर्ष कैद र १५ हजार जरिवाना तोकिए पनि २ महिना २८ दिन थुनामा बसेको कट्टा गरी १ वर्ष ९ महिना २ दिन कैद अझै बाँकी छ।

त्यस्तै, २०८०/८१ मा ब्राउन सुगर सम्बन्धी मुद्दामा १० हजार जरिवाना र ४ सय क्षतिपूर्ति तिर्न बाँकी छ। यसबाहेक मण्डलविरुद्ध हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधसम्बन्धी पुराना मुद्दाहरू पनि रहेका छन्।

स्रोतका अनुसार उनी नेपालमा मात्र नभई भारतमा समेत लागू औषध कारोबारमा संलग्न रही पटक–पटक पक्राउ परेका थिए।

प्रहरीले संरक्षण दियो, पैसा माग्दा पक्राउ?


एसपी ढकेन्द्र खतिवडाको निर्देशनमा बुधन मण्डल पक्राउ परेको चर्चा चलिरहेका बेला उनको विगत उजागर गर्ने नाममा प्रहरीले अपराधको कुण्डली सार्वजनिक गरे पनि, आलोचकहरू भन्छन् — यो विवरणले एसपीमाथिको आर्थिक लेनदेनको आरोपको खण्डन गर्दैन।

किनभने मण्डल विगत दुई वर्षदेखि कोशी ब्यारेजस्थित आफ्नै होटल ‘होलिडे’ सञ्चालन गर्दै आएका थिए। उनी ठेक्कापट्टामा समेत संलग्न थिए। यही अवधिमा मण्डलविरुद्धका मुद्दा ‘फरार प्रतिवादी’ लेखिए पनि उनले उच्च अदालत जनकपुरको राजविराज इजलासमा गाँजा मुद्दामा नियमित हाजिरी गरेका थिए।

अदालती तथ्यअनुसार उनी २०८० भदौ १२ देखि २०८१ साउन ३० सम्म हरेक महिना अदालतमा तारेखमा हाजिर भएका थिए। यस्तो व्यक्तिलाई प्रहरी फरार प्रतिवादीको रूपमा प्रस्तुत गर्नु स्वयम् प्रहरी अनुसन्धान र अभियोजन प्रक्रियामाथि प्रश्न उठाउने विषय बनेको छ।

प्रहरी घुमुवामार्फत ३० लाखको बार्गेनिङ?
बुधनका आफन्तहरूका अनुसार प्रहरी घुमुवाले बुधनसँग पटक–पटक आर्थिक बार्गेनिङ गर्दै आएका थिए। घुमुवा प्रहरीले ‘एसपी सावलाई भेटन जानु’ भन्दै फोन गरेको भीडीओ र अडियो शीर्ष खबरसँग सुरक्षित छ। एकपटक त सई नै प्रहरीको पोशाकमा होटल पुगेर ४ लाख रुपैयाँ लिँदै गरेको भिडियोसमेत सार्वजनिक भइसकेको छ। यसअघि प्रहरीलाई झण्डै १० लाख बुझाइसकेको परिवारको दाबी छ।

तर एसपी खतिवडा सप्तरी प्रहरी प्रमुख बनेपछि ३० लाख रुपैयाँ माग भएको, पैसा दिन नमानेपछि असार १ गते राति बुधनलाई पक्राउ गरिएको आफन्तहरूको आरोप छ। पक्राउको दिन पनि ‘एक घण्टामा १० लाख ल्याए छोडिन्छ’ भनिएको उनीहरूको दाबी छ।

त्यसैले, सप्तरी प्रहरीको पछिल्लो विवरणले मण्डलको अपराधको चरित्र पुष्टि गरे पनि, प्रहरीको आन्तरिक चलखेल, अदालतसँगको समन्वय अभाव र आर्थिक लेनदेनको आरोपले सम्पूर्ण प्रक्रियामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

‘फरार प्रतिवादी’ भनेर खोजी गरिएका व्यक्ति अदालतमै महिनौंदेखि हाजिर भइरहँदा पनि नपक्रिनु अनि रकम अस्वीकार गरेपछि मात्रै पक्राउ गरिनु — यसले प्रहरी संगठनको निष्पक्षता र नैतिक साखमाथि गम्भीर धक्का पुर्‍याएको जानकारहरु वताउँछन्।

सप्तरी प्रहरी र एसपी खतिवडाले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट