१६ दिने सुत्केरीको मृत्यु प्रकरणः भातको विषयमा मनमुटावले देवरले गरे हत्या, गहना निकालेर नालिमा फाले शव

काठमाडौँ– तीन दिन अघि रहस्यमय रूपमा मृत फेला परेकी १६ दिने सुत्केरी तुलसी नाथको उनकै देवरले हत्या गरेको पुष्टि भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ शुक्रबार बिहान घर नजिकैको नालीमा मृत फेला परेकी थिइन्। प्रारम्भिक रूपमा घटनालाई रहस्यमय मानिएको थियो। अनुसन्धानका क्रममा उनका २० वर्षीय देवर नवीन नाथले हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए।

प्रहरीका अनुसार घटना भएको दिन बिहान तुलसी आफ्नो १६ दिने शिशुलाई खोप लगाउन स्वास्थ्य चौकी गएकी थिइन्। दिउँसो घर फर्किएपछि खाना थोरै भाग लगाएको भन्दै सामान्य विवाद भएको थियो। साँझ देवर नवीनले खाना पकाएका थिए र परिवारका सदस्यसँगै बसेर खाना खाएका थिए। नवीनकी श्रीमती भने बिरामी भएको भन्दै खाना खाएकी थिइनन्।

राति सबै सुतिसकेपछि नवीनले भाउजुको कोठामा गई उनको मुख थुनेर हत्या गरेको र लगाएका सुनका गहना निकालेर शवलाई नालीमा फालेको प्रहरीको भनाइ छ।

भोलिपल्ट बिहान नन्द हेमा मर्निङ स्कुल जान उठ्दा घर नजिकै नालीमा भाउजू तुलसीको शव देखेकी थिइन्। घटनापछि परिवारका सदस्यले तुलसीले लगाएका सुनका गरगहना हराएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान गहना चोरी र हत्या दुवै कोणबाट अघि बढाएको थियो।

तुलसीका श्रीमान् र देवर पहिले भारतमा सँगै काम गर्थे। दाजुले कमाएको पैसा तुलसीकै खातामा पठाइने गरेको र घरको आर्थिक जिम्मेवारी तुलसीले सम्हाल्ने गरेकीले नवीन असन्तुष्ट भएको खुलेको छ।

प्रहरीले नवीनका बाबु मार्फत सोधपुछ गर्दा नवीनले अपराध स्वीकार गरेका थिए। उनका अनुसार हत्या गरेर गहना घर बाहिर गिट्टी थुपारेको ठाउँमा लुकाएका थिए। प्रहरीले उक्त स्थानबाट गहना बरामद गरेको छ।

तुलसीको शव पोस्टमार्टमका लागि पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट