सर्लाहीका एसपीलाई आमाचकारी गाली गरेर ‘फरार’ भएका भनिएका जसपा अध्यक्ष सामाजिक सञ्जालमा

सर्लाही — सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमै गाली गरेर ‘फरार’ भएका भनिएका जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादव सामाजिक सञ्जालमा देखिएका छन्।

आज सामाजिक सञ्जालमा फोटो र भिडियो सेयर गर्दै यादवले आफूले कुनै अपराध नगरेको र कतै नभागेको दाबी गरेका छन्। कतिपय मिडियाले उनलाई फरार अभियुक्तको रूपमा लेखेपछि यादवले फेसबुकमा पोस्ट गर्दै आफ्नो छोराको उपचार गराइरहेको र चाँडै सर्लाही फर्किने बताएका छन्।

यादवले भनेका छन्–‘मैले कुनै अपराध गरेको होइन, म निमुखा जनता, शोषित–पीडित र विपन्न वर्गको पक्षमा आवाज उठाएको छु। जिल्लामा भइरहेको बेतिथि, भ्रष्टाचार र लुटतन्त्रको विरोधमा बोल्दैमा राज्यले अपराधी ठानेर मुद्दा चलाउने हो भने म सय वटा मुद्दा खेप्न तयार छु।’

उनको दाबी अनुसार प्रहरी डाँका शैलीमा मध्यराति घरमा पसेर छोरा माथि निर्घात कुटपिट गरेको थियो। ‘प्रहरीको कुटपिटबाट छोराको घाँटीको एउटा नसामा चोट लागेको छ। त्यसपछि गाउँलेहरूले ढुंगा–मुढा हानेर प्रहरीलाई लखेटेका थिए,’ यादवले भनेका छन्।

‘अहिले म छोराको उपचार गराउन आएको हुँ, म फरार भएको होइन। मैले कुनै अपराध गरेको छैन’ उनले अगाडि भने ‘म मधेशको सिपाही हुँ, रहिरहनेछु।’

केही दिनअघि एसपी खड्कालाई ‘आमाचकारी’ गाली गरेको अडियो सार्वजनिक भएपछि शुक्रबार उनको नाममा पक्राउ पुर्जी जारी भएको छ। त्यसयता प्रहरी उनको खोजीमा जुटेको छ। उनलाई पक्राउ गर्न गएका डीएसपीको गाडीसमेत तोडफोड भएको थियो।

यादवविरुद्ध दुईवटा मुद्दा दायर गर्न तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। यसअघि पनि उनीविरुद्ध ७ वटा मुद्दा दर्ता भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट