के साँच्चै राजेन्द्र लिङ्देनका पूर्खा भारतबाट गाडी चोरेर नेपालमा ल्याई काटेर बेच्ने काम गर्थे ?

राजधानी — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘गाडी चोरको सन्तान’ भन्दै निकृष्ट आरोप लगाएका छन्।

आफनै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने– ‘तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन।’ उनले गत चैत १५ गते राप्रपाले आफूलाई धोका दिएको र ‘छुरी हानेको’ आरोपसमेत लगाए। ‘चैत १५ गते राप्रपा मिलेर मलाई छुरी हानियो, म बाँच्न सफल भएँ। अब जीवनमै तिमीले धोका दिन सक्दैनौं,’ उनले लिङ्देनलाई लक्षित गर्दै भने।

प्रसाईंले राजसंस्था पुनस्र्थापना आन्दोलन बिगार्ने जिम्मेवार राप्रपा र राजावादी नेताहरू भएको आरोप लगाए। उनका अनुसार, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणाले आन्दोलन भड्काउने काम गरे तर दोष उनलाई लगाइयो। ‘म त दुई मिनेट पनि मञ्चमा बसिनँ, आन्दोलन भड्काउने मिश्र र राणा हुन्,’ उनले भने।

चैत १५ गते प्रसाईं नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको राजसंस्था पुनस्र्थापना आन्दोलन हिंसात्मक बन्दा दुई जनाको मृत्यु, केही घाइते, सरकारी तथा निजी सम्पत्तिमा आगजनी भएको थियो। आन्दोलनपछि उनी पक्राउ परेर केही समय हिरासत र कारागारमा बसेका थिए। उच्च अदालत पाटनले साउन १९ गते ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा छुटेको १५ दिनमै उनले नयाँ दल खोल्ने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा उनले चैत १५ गते तीनकुनेमा आफूलाई इन्काउन्टर गर्ने तयारी भएको दाबीसमेत गरे। उनका अनुसार, आन्दोलन हुनु अघिल्लो दिन नै कसैले उनलाई ‘तपाईँलाई मार्ने योजना छ’ भनेको थियो। ‘म आउनुअघि नै गोली चलिसकेको थियो, मानिस लडिसकेका थिए। त्यसपछि मैले चालक नपाएपछि आफैंले गाडी चलाएँ र प्रहरीको भिडतिर हानिएँ। त्यसपछि एक डिएसपी आएर ‘तपाईंले जे गर्नुभयो ठीक गर्नुभयो’ भने’– उनले भने।

प्रहरीलाई अश्रुग्यास नहान्न र प्रदर्शनकारीलाई ढुंगा नहान्न आग्रह गरे पनि छतबाट गोली चलिरहेको आफुले देखेको उनले दाबी गरे। ‘त्यसपछि कोही सिभिल ड्रेसमा आएका मान्छेले मलाई ‘तपाईँलाई मार्ने योजना छ, निस्कनुस्’ भनेपछि म निस्किएँ। करफ्यु लाग्दा मैले काठमाडौं छोडिसकेको थिएँ,।’ उनले भने। आफूलाई इन्काउन्टर गर्ने तयारी हुनुको कारणबारे उनले भने, ‘मदन भण्डारी बाँचेको भए अरूको चान्स आउँदैनथ्यो, मलाई पनि त्यस्तै बनाउने योजना थियो।’
नयाँ दल खोलेर राजनीति गर्ने घोषणा
प्रसाईले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फस्र्ट अभियान जस्तै फस्र्ट नेपाल, फस्र्ट नेपाली भन्ने एजेन्डा अघि सार्दै अबको राजनीतिक यात्रा दलमार्फत अघि बढाउने बताएका छन्।

प्रसाईंले आफ्नो दल राजावादी नभई राष्ट्रवादी हुने बताए। ‘यो दल नेपाल र नेपालीका लागि, भुइँमान्छेका लागि हुनेछ। राजावादी दल हुँदैन, राष्ट्रवादी दल हुन्छ।’– उनले भने। दलको नाम, दर्ता गर्ने समयावधि र अन्य संरचना भने उनले अझै खुलाएका छैनन्। तर उनले अबको राजनीतिक यात्रा नयाँ तरिकाले अघि बढ्ने दाबी गरे।

उनले प्रस्तुत गरेको नयाँ दलका एजेन्डामा नेपाल र नेपालीकै हातमा व्यापार र निर्माण राख्ने, वैदिक सनातन धर्म र बौद्ध किरातसहित हिन्दु अधिराज्य स्थापना गर्ने, संघीय संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, युवालाई सीपअनुसार रोजगारी दिलाउने, खाडीका जेलमा रहेका युवालाई नेपाल फर्काउने, भुइँमानिसले लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्ने, २० लाखभन्दा माथिको ऋणलाई २५ वर्षमा ५ प्रतिशत ब्याजदरमा तिर्ने सुविधा दिने, सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने व्यवस्था गर्ने, ६५ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार र मासिक १० हजार भत्ता दिने, निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकलाई मासिक १ लाख तलब दिने लगायतका विषय छन्।

तर पछिल्लो आन्दोलनमा उनले उठाएका राजसंस्था पुनस्र्थापनाको एजेन्डा भने यसपटक देखिएन। उनले आफू कहिल्यै राजावादी नभएको स्पष्ट पार्दै, राजा पनि राजावादी नभएर राष्ट्रवादी भएको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट