३ वर्षको प्रेम सम्वन्धपछि १७ वर्षमै विवाह गरेकी सम्झना ५ महिना नपुग्दै मृत फेला, श्रीमान् पक्राउ

राजधानी— कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। गत फागुनमा प्रेम विवाह गरेकी सम्झना विवाहको पाँच महिना नपुग्दै मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झनाको शव घरको ढोका र झ्याल चुकुल लगाइएको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेको हो। ढोका फोरेर शव निकालिएको प्रहरीले जनाएको छ।

सम्झना र २४ वर्षीय पवन भट्टबीच १४÷१५ वर्षको उमेरदेखि प्रेम सम्बन्ध थियो। सम्बन्धका क्रममा विवाह अगाडि र पछि पनि दुवैबीच पटक–पटक झगडा भएको र त्यसमा प्रहरीको संलग्नता समेत देखिएको छ।

‘विवाह अघि पनि उनीहरूबीच झगडा भएर प्रहरीसमक्ष उजुरी परेको थियो,’ एक प्रहरी अधिकारीले भने, ‘गत मङ्सिरमा महिला सेलामा पुगेको विवाद दुई दिनको छलफलपछि समाधान गरिएको थियो।’

काठमाडौंमा बस्दाबस्दै पनि उनीहरूको झगडा भएपछि सम्झना कञ्चनपुर फर्किएकी थिइन्। घटनाको अघिल्लो दिन मात्रै इलाका प्रहरी कार्यालय बेलडाँडीमा उनीहरूको झगडा भएको र सम्झाएर घर पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि सम्झनाका श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए।

‘सम्झनालाई घरमा कुटपिट हुने गरेको आरोप छ,’ डिएसपी बोहराले भने, ‘शवको पोस्टमार्टम भइरहेको छ। घटनाको वास्तविकता अनुसन्धानबाट सार्वजनिक हुनेछ।’

परिवारले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिनको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयले गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट