राजविराज–छिन्नमस्ता–गोविन्दपुर सडक निर्माण अलपत्रः ठेकेदार र सरकार खोज्दै मैनवत्ती बालेर पूर्वमन्त्रीको पदयात्रा

राजविराज– सप्तरीको राजविराज–छिन्नमस्ता–गोविन्दपुर सडक निर्माणको माग गर्दै पूर्वमन्त्रीदेखि स्थानीय बासिन्दासम्म मैनबत्ती लिएर सडकमा उत्रिएका छन्। सोमबार बिहान छिन्नमस्तादेखि विसनपुर चोकसम्मको पदयात्रा गर्दै उनीहरुले मैनवत्ती बालेर सरकार र ठेकेदारको खोजी गरे।

पूर्वसिँचाइ मन्त्री उमेशकुमार यादवले सडकको अवस्था जोखिमपूर्ण रहेको वताए। छिन्नमस्ता शक्तिपीठ जाने यात्रु र सीमावर्ती न्यौर बोर्डर हुँदै आवत–जावत गर्ने सर्वसाधारणका लागि सडक जोखिमपूर्ण बनेको उनको भनाई छ। ‘सडक निर्माणको नाममा हामीलाई वर्षौंदेखि अन्धकारमा राखियो, त्यसैले मैनबत्ती बालेर ठेकेदार र सरकार खोज्न निस्केका हौं।’– उनले भने।

सडक निर्माणको काम तत्काल सुरु नभए संघर्षलाई अझ तीव्र बनाउँने उनले चेतावनी दिएका छन्।

यो सडक निर्माणको ठेक्का २०७९ असार २३ मा साह इन्जिनियरिङ कन्सट्रक्सनले पाएको थियो। २०८१ असार ३० मा सम्पन्न हुनुपर्ने काम अहिले २० प्रतिशतमै अड्किएको छ। म्याद एक वर्ष थप्दा पनि गति उस्तै सुस्त छ।

२५ करोड ८८ लाख रुपैयाँ लागतको यस आयोजनाबाट ठेकेदार कम्पनीले अहिलेसम्म ६ करोड ८८ लाख बढी भुक्तानी लिईसकेको छ। तर सडक भने अझै बनेको छैन। सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णका अनुसार ठेकेदारको गैरजिम्मेवारीका कारण ठेक्का तोड्ने प्रक्रिया सुरु भइसकेको छ।

ठेक्का तोडिएपछि नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाइने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट