रुबीको हत्या गौरमै भएको खुलासा, हत्या गरेर आरोपी लक्ष्मण पासवान फरार

रौतहट— रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको प्रहरीले पुष्टि गरेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि मृत शरीरको व्यवस्थापन गरेका थिए। विवाह पूर्वका रुबीका प्रेमीका रुपमा चिनिएका लक्ष्मण घट्नापछि फरार छन्।
प्रहरी स्रोतका अनुसार, पासवानले शव ठेगान लगाउन गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए। शवसहितको सुटकेस ई–रिक्सामा बोकेर पासवान बरहवा पुल पार गर्ने क्रममा ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो।
त्यसपछि चालकले अर्को ई–रिक्सा बोलाई दिने प्रयास गरे पनि पासवानले अर्को इ–रिक्सा प्रयोग गर्न मानेनन्। त्यसपछि उनी सुटकेस बोकेर पैदल अघि बढेको खुलेको छ।
ई–रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। उनले बताएअनुसार आरोपितले गंगा पिप्रासम्म ५ सय रुपैयाँमा रिक्सा भाडामा लिएका थिए।
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ। ‘हामी अनुसन्धानको निस्कर्षतिर पुगेका छौँ। अनुसन्धानका सबै पाटो पोजेटिभ छन्।’– अनुसन्धान अधिकारीले भने।
अनुसन्धानमा खटिएको प्रहरीले गौर–५ को बालमन्दिरको पछाडि रहेको घरमा रुबीकुमारीका चप्पल लगायतका व्यक्तिगत सामान फेला परेको जानकारी दिएको छ। प्रहरीका अनुसार, घटना घटेको दिनदेखि पासवान सम्पर्कविहीन छन् र उनको खोजी कार्य जारी छ।
२६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ। शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन्।
तर त्यसै राति गौर नगरपालिका ९ मुडवलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो। राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनि प्रहरीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो।
यो पनि