‘चोभारमा बगाएर बाघद्वारतिर खोज्न जानु पर्ने’ स्वभावका एमाले नेताको घर स्थानीयको हस्तक्षेपले जोगियो

काठमाडौँ— जेन–जी आन्दोलनको हिंसामा गत मंगलबार काठमाडौंका धेरै एमाले–कांग्रेस नेताका घर तोडफोड र आगजनीबाट ध्वस्त भए। तर, चोभारमा बस्ने एमाले उपमहासचिव विष्णु रिमालको घर भने स्थानीयको रणनीतिक हस्तक्षेपको कारण जोगिएको छ।

रिमालको घर शान्तिनगरस्थित घना बस्तीमा छ। यदि घरमा आगो लाग्थ्यो भने छिमेकीका घर पनि सल्केर टोल नै ध्वस्त हुने खतरा थियो। त्यसैले गाउँलेहरूले आन्दोलनकारीको भीडलाई रोक्दै दुई हात जोडेर अनुनय–विनय गरेका थिए। रिमाल निवास नजिकका एकजनाले भने, ‘सँधै ठूलो पदमा रहेका उनले टोल, छिमेकीलाई कहिल्यै सम्झेनन्। उनको स्वभाव चोभारमा बगाएर बाघद्वारतिर खोज्नुपर्ने जस्तो छ। तर हामीले टोल जोगाउन उनका घर जोगायौं।’

त्यस्तै, धुम्बाराहीतिर बस्ने एक पूर्वमन्त्रीले आफ्नो गरगहना प्लास्टिकमा बेरी पानी ट्याङ्कीमा लुकाएको खुलेको छ। आन्दोलनकारीले घर तोडफोड गरे पनि आगो नलगाउँदा घर सुरक्षित रह्यो। छिमेकीका अनुसार, उनी पनि रिमालभन्दा फरक प्रवृत्तिका होइनन्, तर आफ्नो सम्पत्ति बचाउन रणनीतिक उपाय अपनाएका थिए।

सुरक्षा निकायले कतिपय न्यायाधीश, पूर्वमन्त्री र उच्चपदस्थ अधिकारीहरूलाई सुरक्षा घेरामा राखेका थिए। तर अधिकांश नेताका घर जलाइएपछि उनीहरू आफ्नै घर पुग्न असमर्थ छन्। भक्तपुर बालकोटस्थित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका घर पनि आन्दोलनकारीले जलाएका छन्। उनी घर फर्कने अवस्था नभएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट