एमाले नेता भट्टराईको आक्रोश, ‘बालेनलाई गिरफ्तार गर्नुपर्छ’

काठमाडौँ — नेकपा (एमाले)का युवा नेता गुरुप्रसाद भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई गिरफ्तार गर्नुपर्ने माग गरेका छन्। जेन–जी आन्दोलनका क्रममा भएको ध्वंस र ठूलो जनधनको क्षतीमा बालेन्द्रकै जिम्मेवारी रहेको भट्टराईको आरोप छ।

उनका अनुसार भदौ २३ गते मात्रै १९ जनाको मृत्यु भएको स्पष्ट भए पनि भदौ २४ गते थप ५६ जनाको मृत्यु हुनमा बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिम्मेवार छन्। ‘सरकारले २३ गते मार्यो भन्ने बुझियो, तर २४ गते ५६ जनाको मृत्युका जिम्मेवार रवी र बालेन हुन्,’ भट्टराईले आरोप लगाउँदै भनेका छन्, ‘यिनीहरुलाई गिरफ्तार गरेर जेल हाल्नुपर्छ।’

भट्टराईले अर्काे प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आर्थिक अवस्थाबारे पनि टिप्पणी गरेका छन्। उनका अनुसार रास्वपाले पार्टी मुख्यालयको भाडा तिर्न नसकेको र यही कारण घरधनीले तीन महिनाभित्र खाली गर्न सूचना पठाएको उनले खुलासा गरेका छन्। यसलाई रवि लामिछानेमाथिको व्यंग्यसँग जोड्दै भट्टराईले भनेका छन्, ‘पैसाको जोहो गर्ने ठग (रवी) जेलमा छ। कसरी तिर्नु भाडा ? अब फेरि घण्टेहरुले भाडामा पनि प्रतिशोध साँधियो भन्ने त होला !’

एमाले नेता भट्टराईको यस्तो अभिव्यक्तिले मुलुकको पछिल्लो राजनीतिक तनावलाई थप चर्काउने आशंका गरिएको छ। बालेन्द्र र रविमाथि ध्वंस, जनधनको हानि र वित्तीय नोक्सानीको आरोप लगाउँदै उनले गरेको आक्रामक टिप्पणीले राजनीतिक वृत्तभित्र तरंग पैदा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट