ओली–लेखकविरुद्धको उजुरी आयोगमा, बालेन्द्र–सुदनविरूद्ध ‘राज्यविरूद्ध जासुसी’ आरोपमा प्रहरी अनुसन्धान माग

काठमाडौँ— जेनजी आन्दोलनका घटनामा बालेन्द्र साह र सुदन गुरुङसहितको सत्तारूढ गठबन्धन र एमाले अखिल (अनेरास्ववियु) बीचको राजनीतिक टकराव गहिरिँदै गएको छ। ओली र लेखकविरूद्ध दर्ता भएको उजुरी प्रहरीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भन्दै पठाएपछि अनेरास्ववियुले उल्टै काठमाडौँका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष सुदन गुरुङ विरूद्ध ‘राज्यविरूद्ध जासुसी’ गरेको आरोप लगाउँदै प्रहरीमै अनुसन्धान गर्न माग गरेको छ।
मुलुकी अपराध संहिता ऐनका दफा १७७, १७८, २४४ र २८५ अन्तर्गत गम्भीर अभियोग लगाइएको उजुरीमा साह र गुरूङले प्रहरीको ज्यान जाने र सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड गर्न उक्साएको आरोप लगाईएको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको जाहेरीले राजनीतिक वृत्तमै ठूलो तरंग ल्याएको छ। जेन–जी आन्दोलनका क्रममा मारिएका र घाइते भएका व्यक्तिका परिवारहरूले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर ‘राज्यविरूद्ध र मानवताविरूद्ध अपराध’ गरेको भन्दै उजुरी दर्ता गर्न माग गरेका थिए। उनीहरूका साथमा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ पनि थिए।
तर प्रहरी उजुरी दर्ता गर्न हिच्किचायो। राति अबेरसम्म प्रहरी परिसरबाहिर मृतक परिवारहरू बसेका थिए। सोही रात गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, एआइजी दानबहादुर कार्की र एसएसपी रमेश थापा सहितका वरिष्ठ अधिकारीहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर सम्भावित राजनीतिक असरबारे छलफल गरेका थिए।
त्यसपछि आइजिपी खापुङ सोमबार राति नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए, जहाँ प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग लामो छलफल गरेकी थिइन्।
छलफलपछि निष्कर्ष निक्लियो— ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्छ। त्यसैले जिल्ला प्रहरी परिसरले मंगलबार दिउँसो उक्त उजुरी आयोगमा पठायो।
तर त्यसलगत्तै, एमाले निकट अनेरास्ववियुले नयाँ मोर्चा खोल्यो। संगठनका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिककुमार बडाल नेतृत्वको टोलीले मंगलबार अपराह्न मेयर बालेन साह र सुदन गुरुङविरुद्ध उजुरी दर्ताका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगे।
उनीहरूले भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रीहरूका निवास र सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा बालेन र सुदनको संलग्नता रहेको दाबी गरेका छन्। उजुरीमा मुलुकी अपराध संहिता ऐनका दफा ५६ अनुसार ‘राज्यविरूद्ध जासुसी’ गरेको आरोप पनि छ।
अनेरास्ववियुको उजुरीमा उल्लेख छ— ‘बालेन्द्र साह र सुदन गुरुङले गोप्य तथ्यांक संकलन, राज्यका महत्वपूर्ण संरचनासम्बन्धी संवेदनशील विवरण माग गरी जासुसी गरेका छन्।’ यसवाहेक प्रहरीको मृत्युका लागि उक्साएको, ज्यान जान सक्ने गरी उक्साएको, चोरी–डकैती तथा लुटपाटमा संलग्नता भएको र सरकारी स्वामित्वका संरचनामा आगजनी, तोडफोड वा नोक्सानी पु¥याउने कार्यमा उक्साएको आरोप पनि उनीहरुमाथि लगाईएको छ।
ओली र लेखकविरुद्धको उजुरी आयोगमा पठाएपछि अब प्रहरीले मेयर साह र गुरुङविरुद्धको उजुरी पनि बुझ्ने कि नबुझ्ने भन्ने दोधारमा परेको छ। परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, ‘प्रहरीले २४ घन्टाभित्र जवाफ दिने’ प्रतिबद्धता जनाएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष बडाल भन्छन्, ‘यदि प्रहरीले उजुरी दर्ता गरेन भने, हामी अन्य कानुनी बाटो अपनाउनेछौं।’
अब, प्रहरीले यो ‘काउन्टर उजुरी’लाई कसरी व्याख्या गर्छ? भन्ने प्रश्न खडा भएको छ। ओली र लेखकविरुद्धको उजुरी आयोगमा पठाएर जिम्मेवारी टारेको प्रहरी, बालेन्द्र र सुदनमाथिको ‘राज्यविरूद्ध जासुसी’ उजुरीलाई पनि त्यस्तै व्यवहार गर्छ कि सीधा अनुसन्धान थाल्छ ? यहीँबाट आगामी राजनीतिक घटनाक्रमको दिशा तय हुने विश्लेषकहरु बताउँछन्।