ऐतिहासिक आर्यघाट मास्ने प्रयासविरुद्ध सप्तकोशी नगरपालिकामा स्थानीयवासीको तालाबन्दी (फोटो फिचर)
फत्तेपुर/सप्तरी— सप्तरीको सप्तकोशी नगरपालिका–१ मा पर्ने त्रियुगा नदी किनारमा रहेको ऐतिहासिक आर्यघाट विवादको घेरामा परेको छ। परापूर्वकालदेखि हिन्दू समुदायले दाहसंस्कारको लागि प्रयोग गर्दै आएको आर्यघाट अहिले मास्ने षड्यन्त्र गरिएको भन्दै स्थानीयवासी आक्रोशित छन्।
शुक्रबार विहान स्थानीय युवा मुकेश परियारको शव वोकेर दाहसंस्कारका लागि पुगेका मलामिलाई आर्यघाट अतिक्रमण गरी वसेका वासिन्दाले अवरोध गरेपछि विवाद थप चर्किएको छ। त्यसपछि आक्रोशित फत्तेपुरबासीले नगरपालिकाको कार्यालय र वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरेका छन्।
स्थानीयहरूको आरोप छ — ‘जनप्रतिनिधिहरूको मौन समर्थन र केही घरधनीहरूको स्वार्थका कारण आर्यघाट नष्ट हुँदै गएको छ। बाढी नियन्त्रण र पर्यटन प्रवर्द्धनका नाममा ठूला पर्खाल बनाइएका छन्,’ स्थानीयवासी भन्छन्, ‘त्यो पर्यटन प्रवर्द्धन नभई आर्यघाट मास्ने षडयन्त्र हो।’
नगरपालिका र प्रदेश सरकारको लगानीमा बनेको भनिएका ती संरचनाको औचित्यबारे स्थानीयलाई जानकारी छैन। ‘कति पैसा लगानी भयो? कसको पालामा बजेट आयो? त्यो कोही बताउँदैन,’ एक स्थानीयवासी भन्छन्–‘अव हामीले मर्दा जलाउँने ठाउँ पनि नपाउँने ?’
आर्यघाटको नाममा राजनीति र ठेक्काको खेल भने खुलमखुला छ। शुक्रबार विहान मुकेश परियारको शव दाहसंस्कारका लागि पुर्याउँदा झगडा भएको थियो। ‘शव लिएर पुग्दा छेउका घरधनीहरूले बाटो नै रोके,’ मलामी गएका स्थानीय नवराज खत्रीले भने, ‘चिता बाल्न नदिनेसम्मको अवरोध भएपछि झण्डै हात हालाहाल भयो।’
२५ वर्षीय मुकेश परियारको बिहीबार मोटरबाट करेण्ट लागेर मृत्यु भएको थियो। परिवार र समुदायका मानिसहरु विहान दाहसंस्कारका लागि घाट पुगेका बेला हात हालाहालको स्थिति आएको मलामीहरुले वताएका छन्।
स्थानीयहरूको भनाइमा, आर्यघाट छेउका करिब एक दर्जनवढि परिवारले ‘घरको सुरक्षाको बहाना’ बनाएर दाहसंस्कार रोक्ने गरेका छन्। विगत केही वर्षदेखि उनीहरूले शव जलाउने क्रममा धुवाँ, आगो र भीडका कारण असुविधा हुने भन्दै अवरोध गर्दै आएका छन्। उनीहरु बसोबास गरेको जग्गा समेत चन्द्रनहरको भएको वताईएको छ। यद्यपी यसको पुष्टि भने भएको छैन।
स्रोतका अनुसार राजनीतिक दलहरूले विगतका चुनाव ताका त्यहाँका वासिन्दासँग आर्यघाट सारेर जुटपानी खोला (करिव २ किलोमिटर टाढा) लाने वाचा गरेका थिए। तर चुनाव सकिएपछि सबै मौन भए। ‘सार्न पहल गरौं भने ठुलो समुदाय विपक्षमा जाने खतरा छ, नसारौं भने बाचा पुरा भएको छैन।’ स्रोत भन्छ–‘यही दुविधाका कारण कुनै पनि राजनीतिक दलका नेता र जनप्रतिनिधि विवादका क्रममा मुख खोल्न तयार छैनन्।’
यसो त फुँयाल समुदायका सदस्यहरूले आफ्नै प्रयासमा आर्यघाट निर्माणका लागि ३ लाख ४८ हजार ४ सय रुपैयाँ संकलन पनि गरेका थिए। तर डर र धम्कीका कारण उनीहरूले निर्माण सुरु गर्न सकेका छैनन्। उक्त रकम अहिले पनि बैंकमा थन्किएको छ।
पूर्व मेयर उत्तम गौतमको पालामा आर्यघाट निर्माणका लागि १० लाख रुपैयाँ निकासा गरिएको थियो। निर्माण समितिको संयोजक वर्तमान १ नम्वर वडाध्यक्ष रोहीणी प्रसाद पोखरेल हुन। तर त्यो रकम कहाँ गयो र किन निर्माण कार्य अघि वढेन ? भन्नेबारे कसैलाई जानकारी छैन। ‘आर्यघाट बनाउनका लागि बजेट आएको थियो भन्ने सुनेका थियौं,’ एक स्थानीयले भने, ‘तर न घाट बन्यो, न पैसा देखियो।’
श्रद्धाञ्जलीको राजनीति
आर्यघाट नै नभएको सप्तकोशी नगरपालिकामै एउटा प्रथा सुरु भएको छ– मानिस मरेपछि श्रद्धाञ्जलीको प्रमाण पत्र बोकेर जाने। यो प्रथाको अगुवा वडा नम्बर १ का अध्यक्ष रोहिणी प्रसाद पोखरेल नै हुन। तर उनले अहिलेसम्म शव जलाउँने ठाउँको संरक्षणका लागि भने पहल नगरेको स्थानीयको गुनासो छ। ‘मृतकको घरमा श्रद्धाञ्जली प्रमाणपत्र बोकेर पुग्ने तिनै नेताहरु शव कहाँ जलाउने भन्ने कुरामा भने मौन छन्’– स्थानीय भन्छन्–‘जव आर्यघाटको कुरा आउँछ उनिहरु भाग्छन्।’
फत्तेपुरमा हरेक घरमा कम्तीमा १० वटा श्रद्धाञ्जली प्रमाणपत्र छन्, तर मसानघाट चाहिँ छैन। बङ्ला चौरी (फुटवल ग्राउण्ड) र रक्तमाला सामुदायिक वन उपभोक्ता समिति भवन नजिक स्थानीयवासीकै पहलमा किरिया गर्ने घर पनि बनेको छ, तर शव जलाउने ठाउँको टुङ्गो अझै छैन।
यस विषयमा नगरपालिकाले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर स्थानीयहरूले ‘यदि पुरानो आर्यघाट मेटाइयो भने हामी कानुनी र सडक दुवैतर्फ आन्दोलनमा उत्रिन्छौं’ भन्दै चेतावनी दिएका छन्।


