जेनजी आन्दोलनमा लुटिएका प्रहरीको वर्दी लगाएर घुम्न थाले चोर, गाउँमा थपियो सुरक्षा चुनौती

काठमाडौँ– चितवनको कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति चार व्यक्तिले चोरी गर्ने प्रयास गरे। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा पुगेका उनिहरुले लगाएको लुगा ठ्याक्कै प्रहरीको वर्दी जस्तै थियो।
चोरी गर्न समुह वनाएर पुगेका उनीहरुको घरधनीसँग जम्काभेट भयो। चोरीमा संलग्न व्यक्तिहरूले आफूहरू प्रहरी भएको दाबी गर्दै फरार कैदी खोज्न आएको बताए। तर, पछि भागेका थिए।
जानकारी अनुसार सोमबार राति १२ बजे खतिवडाको घर अगाडि सडक पोलको बत्ती निभेको थिए। त्यसपछि अँध्यारोमै घरको बरन्डाबाट एक अपरिचित युवा आँगनमा निस्किए। ‘यहाँ कारागारबाट भागेको कैदीको लोकेशन देखिएको छ, खै कहाँ छ’ भनेर सोध्न थाले। त्यसपछि खतिवडा डराएर काकाको घरतिर गए।
भाइ विवेक खतिवडासँग घर फर्कँदा ती व्यक्ति मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेका थिए। उनीहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्दै आएको बताएका थिए। घरमा प्रवेश गर्दा मोटरसाइकल अलि पर सारिएको, जुत्ता र हेलमेट सडक किनारमा राखिएको, झ्यालको पल्ला खोलेको अवस्था देखेपछि खतिवडाले उनीहरू चोरीमा लागेको पुष्टि गरेका छन्।
घटनापछि राति प्रहरीलाई खबर गरिएको थियो। खतिवडाका अनुसार, मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु बोकेको देखिएको थियो। चोरीमा प्रयोग भएको पल्सर मोटरसाइकल कालिदास खतिवडाको घरबाट चोरी भएको पाइएको छ।
इलाका प्रहरी कार्यालय रत्ननगरका नायब उपरीक्षक सुवास भट्टले घटनाको अध्ययन सुरु गरिएको र चोरी गर्न आएको हुन सक्ने बताए। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले फरार कैदीबन्दीले लुटिएका प्रहरीको वर्दी लगाएर चोरी गर्न थालेको सम्भावनासहित अनुसन्धान भइरहेको बताएका छन्।
चितवनसहित देशभरका कारागारबाट ठूलो संख्यामा कैदी फरार छन्। विशेषज्ञहरूको दृष्टिमा, जेन–जी आन्दोलनपछि चोरीमा संलग्न केही समूहहरूले प्रहरी वर्दी लगाएर गाउँ–सहरमा देखिन थालेको घटनाले सुरक्षा चुनौतीलाई उजागर गरेको छ। यस्तो घटनाले गाउँघरमा सामान्य नागरिकको सुरक्षा र प्रहरी प्रति नै शंका बढाउने खतरा पैदा गर्दैछ।’