केपी ओलीलाई गृहमन्त्री अर्यालको चेतावनीः औकातमा ल्याईदिनु पर्ने हो ?

राजविराज— नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री ओमप्रकाश अर्यालबीच राजनीतिक र वैचारिक टकराव खुलेर सतहमा आएको छ। ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई असंवैधानिक भन्दै सरकारविरुद्ध कठोर टिप्पणी गर्न गालेपछि गृहमन्त्री अर्यालले ओलीलाई ‘औकातमा ल्याई दिनुपर्ने हो’ भन्दै चेतावनी दिएका छन्।
ओलीले हाल ‘सुशीला कार्की पूर्वप्रधानन्यायाधीश हुन्, संविधानले त्यस्ता व्यक्तिलाई प्रधानमन्त्री बन्ने अनुमति दिएको छैन। त्यसैले यो सरकार असंवैधानिक हो, ‘हा–हु’ गरेर बनेको हो।’ भन्दै टिप्पणी गर्ने गरेका छन्।
बुधबार अनलाईन खबरले अर्यालसँग अन्तरर्वाता लिने क्रममा यही प्रसंग उठाएको थियो। ‘केपी ओलीले के भन्नु हुन्छ भने– सुशीला कार्की पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने प्रावधान नै छैन संविधानमा। त्यस कारणले यो असंवैधानिक सरकार हो। यो ‘हा हु’ बाट बनेको सरकार हो।’ भन्ने अनलाईनको प्रसंगमा अर्यालयले भने– ‘मुद्दा गरेको खैत वहाँले। वहाँलाई कोर्टप्रति विश्वास छैन, हँ। केपी ओलीलाई कोर्ट प्रति विश्वास छैन ? भन्नु परोनी त वहाँले। केपी ओलीजीले भन्नु पर्यो। अदालत प्रति विश्वास छैन।’
उनले थपे–‘हा हु भनेर कहाँ भन्ने हो ? सडकमा भन्ने हो ? त्यत्रो जिम्मेवारी पूर्ण पदमा वसेको मान्छेले, पटक पटक प्रधानमन्त्री भएको मान्छेले ? वहाँलाई पनि त्यस्तै भनौ अव हामीले ? वहाँले हाहु भन्ने, गृहमन्त्रीलाई बाबु भन्ने, पुलिसका आईजीपीहरुलाई बाबु भन्ने, सेनपातीलाई मर्यादा गर्नुभोकी गर्नु भएन, वहाँहरुका सुझावहरु नमान्ने। वहाँ त्यस्तो हो, वहाँ सुपर ह्युमन हो वहाँ ? वहाँको औकातमा लेई दिनु पर्ने भो अव राज्यले ? सरकारले ? औकातमा ल्याउनै पर्ने देखिन्छ के। यो हिसावले वहाँले चै हरेक कुरामा परिस्थिती भड्काउने मात्रै, गुण्डागर्दीलाई प्रोत्साहन दिने, करप्सनलाई प्रोत्साहन दिने, आर्थिक अपराधलाई प्रोत्साहन दिने, त्यसैको जगमा चै सत्ता कब्जा गर्न खोज्ने। यो प्रवृत्ति ठिक भएन नी। यो प्रवृत्तिको विरुद्ध जव यत्रो जनविद्रोह भयो, अव यो प्रवृत्तिलाई कसरी छुट दिन्छ त यो जनविद्रोह पछि वनेको सरकारले ?’
वर्तमान सरकारलाई ‘जनविद्रोहको विचबाट आएको सरकार’ भन्दै उनले ‘वहाँको यो प्रवृत्तिलाई हामीले एउटा शान्ति सुरक्षाको, ल एण्ड अर्डरको चुनौतीका रुपमा मात्रै नभएर यसलाई हामीले देशको फौजदारी कानुन मिचेको अर्थमा पनि वुझ्न सक्छौं वहाँले धेरै यो खालको भड्काउ पूर्ण कृयाकलाप गर्नु भो भने।’ भन्दै प्रतिक्रिया जनाए।
उनका अनुसार, ओलीजस्ता जिम्मेवारीपूर्ण पदमा पुगेका व्यक्तिबाट यस्तो भाषिक असंयमता अस्वीकार्य छ। अर्यालले थपे, ‘ओलीजी सुपर ह्युमन होइनन्। उहाँलाई सवै जनताले बा भन्नु पर्ने मान्यता म मान्दिनँ। हामी सबै समान नागरिक हौं।’
गृहमन्त्रीले ओलीले आफ्नो सुरक्षा घटाइएका विषयमा दिएको टिप्पणी पनि असान्दर्भीक भएको बताए। मापदण्ड विपरित राखेका सुरक्षाकर्मी फिर्ता गरेकाले ओलीले आक्रोश पोखेको उनको भनाई छ। ‘वहाँलाई मापदण्ड विपरित खटाईएका सुरक्षाकर्मी फिर्ता गरेको रिस उठेको छ।’– उनले भने।
अर्यालका अनुसार, ओलीले विगतदेखि नै सुरक्षा संयन्त्र र प्रशासनिक निर्णयलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै आएका छन्। ‘उहाँले परिस्थितिलाई भड्काउने, गुण्डागर्दीलाई प्रोत्साहन दिने र भ्रष्टाचारलाई राजनीतिक औजार बनाउने काम गर्दै आउनु भएको छ,’ उनले भने, ‘त्यो प्रवृत्ति अब स्वीकार्य छैन। जनविद्रोहपछि बनेको सरकारले यस्तो चरित्रलाई संरक्षण गर्न सक्दैन।’
लगत्तै आज बालकोटस्थित आफ्नो जलाईएको घर हेर्न पुगेका ओलील प्रतिक्रिया दिंदै गृहमन्त्री अर्यालले आफूविरुद्ध व्यक्तिगत दुस्मनी राखेको बताएका छन्। उनले सरकारले आफूमाथि ‘राजनीतिक प्रतिशोधको योजना’ बनाइरहेको आरोप पनि लगाए। गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ्ग देखिएको उनले बताए। अचानक पलाएका सरकारको तमासासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे।
त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरूले देश विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे। सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भए पनि उनीहरूलाई सरकारले कारबाही समेत गर्न नसकेको आरोप उनको छ।
ओली र अर्यालबीचको यो सार्वजनिक वाकयुद्धले सत्ता र राजनीतिक दलबीचको सम्बन्ध झनै तनावपूर्ण बनाएको छ। जेनजी आन्दोलनपछि सरकार गठन भएसँगै आरोप–प्रत्यारोप अब वैयक्तिक र संस्थागत स्तरमा पुगेको देखिन्छ। राजनीतिक विश्लेषकहरूले यसलाई ‘अस्थिर सत्तासंरचनाभित्रको अधिकार संघर्ष’ र ‘सत्ताको वैधानिकता–अवैधानिकताको व्याख्यामा केन्द्रित वैचारिक युद्ध’का रूपमा लिएका छन्।
सरकारले यस विषयमा आधिकारिक टिप्पणी नगरे पनि मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले चुनावलाई लक्षित गरी बोलाएको वैठकमा गृहमन्त्री अर्यालको तिव्र आलोचना भएको छ। राजनीतिक दलका प्रतिनिधिहरुसँग भएको उक्त छलफलमा अधिकांश समय अर्यालको कार्यशैली र वेलगाम बोलिका विषयमा नेताहरुले टिप्पणी गरेका थिए। गृहमन्त्रीको यो शैलीले निर्वाचन प्रभावित हुने उनीहरुले चेतावनी दिएका छन्।