४७ वर्षअघि रेडियो चोरेको कसुरमा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौँ– स्याङ्जामा ४७ वर्षअघि दर्ता भएको चोरी मुद्दामा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। स्याङ्जा जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले गल्याङ नगरपालिका–७ का लालबहादुर रानालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, लालबहादुरले २०३५ सालमा आफ्ना छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। सो मुद्दामा अदालतले २०४५ मंसिर १६ गते उनलाई दोषी ठहर गर्दै एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

तर उक्त फैसला कार्यान्वयन हुन सकेको थिएन। अदालतको फैसला लागू नभएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष टोली गठन गरी रानाको खोजी थालेको थियो।

स्याङ्जा प्रहरीका एसपी दधिराम न्यौपानेले भने, ‘उक्त चोरी मुद्दा म जन्मिनुअघिको हो। तर अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेकाले हाम्रो टोलीले खोजी गरेर लालबहादुर रानालाई पक्राउ गरेको हो।’

अदालतको आदेशअनुसार कैद र जरिवानाको सजाय कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। अदालतले सोमबार रानालाई थुनाका लागि कारागार चलान गर्ने आदेश जारी गरेको हो।

२३ वर्षको उमेरमा मुद्दा परेका लालबहादुर अहिले ७० वर्षका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट