केपी ओलीलाई गाली गर्ने अनेरास्ववियुका जिल्ला अध्यक्ष सिग्देल ‘किक आउट’ !

इटहरी— नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटीमा चर्किएको आन्तरिक विवाद अन्ततः नेतृत्व परिवर्तनमा टुंगिएको छ। धरानमा सम्पन्न विशेष भेलाले संगठनका जिल्ला अध्यक्ष उज्वल सिग्देललाई पदबाट हटाउँदै शेखर रेग्मीको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको छ।

भदौ २३ यता जेन–जी आन्दोलन र त्यसपछिका घटनालाई लिएर एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका सिग्देल नेतृत्वको कमिटीलाई भंग गर्ने निर्णय विशेष भेलाबाट गरिएको हो। पार्टी नेतृत्वप्रति असन्तुष्टि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकै कारण सिग्देल बर्खास्तीमा परेको संगठन स्रोतको भनाइ छ।

विशेष भेलाले शेखर रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ। नयाँ कमिटीमा उपाध्यक्ष आदित्य खड्का, सचिव अरुण चौधरी चयन भएका छन्। सहसचिवको जिम्मेवारी इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङलाई दिइएको छ। कोषाध्यक्षमा सज्नु खड्का चयन हुँदा कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला नियुक्त भएका छन्।

रोचक पक्ष के छ भने यही सिग्देल नेतृत्वको कमिटीलाई एमाले सुनसरीले केही समयअघि औपचारिक रूपमा वैधानिकता दिएको थियो। साउन ३० गते एमाले सुनसरीको पार्टी कार्यालयमा केन्द्र तथा जिल्ला तहका नेताहरूको उपस्थितिमा सिग्देलसहित ३४ सदस्यलाई शपथग्रहण गराइएको थियो।

त्यसबेला बहुमत प्रतिनिधि र अध्यक्षमण्डलको सहमतिमा सिग्देल अध्यक्ष रहेको कमिटीलाई कार्यसम्पादनको बाटो खुला गरिएको थियो। प्रदेश अध्यक्ष तथा अध्यक्षमण्डलका अध्यक्ष गंगाबहादुर खड्का (जीवी गजल) ले सिग्देलको नाममा सहमति भएको घोषणा गरे पनि त्यसलगत्तै शेखर रेग्मी नेतृत्वमा समानान्तर कमिटीको सूची सार्वजनिक भएपछि विवाद चुलिएको थियो।

उक्त कमिटी केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीको पहलमा बनेको थियो, जहाँ शेखर रेग्मी अध्यक्ष र रोशन रेग्मी स्वयं सिग्देल नेतृत्वको कमिटीमा उपाध्यक्ष थिए। एमाले सुनसरीका सचिव राम कोइरालाले त्यसबेला अध्यक्षमण्डलको निर्णय र ५१ सदस्यीय प्रतिनिधिको बहुमतका आधारमा सिग्देल नेतृत्वको कमिटी नै वैधानिक भएको स्पष्ट पारेका थिए।

उनले पार्टीभित्र असन्तुष्ट, प्रतिक्रियावादी र दक्षिणपन्थी तत्व सक्रिय भएका कारण समानान्तर कमिटी बनेको दाबी गरेका थिए। तर भदौ अन्त्यतिर जेन–जी आन्दोलन र त्यससँग जोडेर केपी ओलीमाथि सिग्देलले दिएको सार्वजनिक अभिव्यक्तिले परिस्थितिलाई मोडिदियो। पार्टी नेतृत्वमाथि खुलेआम प्रश्न उठाएपछि उनलाई संगठनको जिम्मेवारीबाट हटाइएको हो।

यसले अनेरास्ववियुभित्र मात्रै होइन, एमालेभित्र पनि आलोचनात्मक आवाजलाई कसरी हेरिन्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट