भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाः ‘भाग्यले जोगियो’ ५६ जनाको ज्यान

दमक— भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा परेको छ। काठमाडौँबाट उडेको विमान अवतरणका क्रममा रन–वे नाघेर घाँसे मैदानमा भासिँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।

मानवीय क्षति ठूलो हुनबाट जोगिएको यो घटना ‘भाग्यको खेल’जस्तो देखिए पनि नागरिक उड्डयन व्यवस्थापनको कमजोरीलाई भने नढाक्ने दुर्घटनाका रूपमा आएको छ। कलसाइन ९०१ रहेको उक्त विमान राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो। निर्धारित समयअनुसार राति ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज रन–वेभन्दा करिब ३०० मिटर पूर्वतर्फ ओभर रन हुँदै नियन्त्रण बाहिर गएको र माटो तथा झाडीमा भासिएर रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विमान धावनमार्गमै रोक्न नसक्नु, अवतरण प्रक्रियामा किन यस्तो अवस्था आयो भन्ने विषयले अहिले गम्भीर बहस जन्माएको छ। जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र सोही स्थानकी १६ वर्षीया प्रिया घतानी छन्। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली खटिएको थियो। प्रहरी टोलीले सबै यात्रु र चालक दललाई जहाजबाट सकुशल बाहिर निकाली अस्पताल पु¥याएको थियो। उद्धार छिटो भए पनि मूल प्रश्न भने अझै अनुत्तरित छ— रन–वे ओभर रन हुने अवस्था किन आयो?

भद्रपुर विमानस्थल कुनै नयाँ विमानस्थल होइन। पटक–पटक अवतरण र उडान हुने व्यस्त विमानस्थलमा यस किसिमको घटना हुनु सामान्य लापरबाही भनेर टार्न मिल्दैन। मौसम, प्राविधिक अवस्था, रन–वे लम्बाइ, अवतरण व्यवस्थापन र पाइलट–टावर समन्वय— यी सबै पक्षको गहिरो र निष्पक्ष छानबिन अपरिहार्य छ।

यदि समयमै गम्भीर समीक्षा भएन भने, ‘ठूलो दुर्घटना भएन’ भन्ने राहतको सास नै आगामी दिनमा ठूलो क्षतिमा रूपान्तरण हुन सक्छ। सामान्य घाइते र सीमित क्षतिमा टुंगिएको यो घटना वास्तवमा चेतावनी हो– नेपालका विमानस्थल र नागरिक उड्डयन प्रणाली अझै सुरक्षित यात्राको मापदण्डमा कति तयार छन् भन्ने प्रश्नको।

अब दुर्घटनालाई संयोग भनेर पन्साउने कि, जिम्मेवारी खोजेर संरचनागत सुधारतर्फ जाने भन्ने निर्णय सरोकारवाला निकायको हातमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट