काठमाडौं–हेटौंडा मार्गको भीमफेदीमा जिप खस्दा ६ को ज्यान गयो, ४ जनाको पहिचान खुल्यो

हेटौंडा — काठमाडौं र हेटौंडालाई जोड्ने छोटो मार्गमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ टाटासुमो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको १२ घण्टापछि ४ जना मृतक र घाइतेको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना१ज १७७८ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। जिपमा चालकसहित ९ जना सवार थिए, जसमा ६ जना पुरुष, एक महिला, एक बालिका र एक बालक रहेका थिए। साँघुरो सडक, तीव्र घुम्ती र सुरक्षा पूर्वाधारको अभाव रहेको उक्त खण्डमा दुर्घटना हुनु नौलो भने होइन, तर प्रत्येकपटक ज्यान जानु प्रशासनका लागि चेतावनी बन्न सकेको छैन।

डिएसपी पुष्कर बोगटीका अनुसार मृतकमध्ये हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र बिहारकै बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमारको पहिचान भएको छ। बाँकी दुई मृतक करिब ३५ र ४० वर्ष उमेरका पुरुषको पहिचान अझै हुन सकेको छैन। उनीहरूलाई हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइतेमध्ये जिप चालक हेटौंडा–४ कर्राचोकका करिब ४०–४५ वर्षीय गणेश थापा र मृतक सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्सालको अवस्था गम्भीर भएपछि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ। अर्की घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ की रिचा चौधरीको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उद्धार, पहिचान र उपचार व्यवस्थापनमा देखिएको ढिलाइप्रति स्थानीयवासीले असन्तोष जनाएका छन्। छोटो मार्ग भनेर प्रचार गरिए पनि आवश्यक सुरक्षा मापदण्ड, गार्डरेल, चेतावनी संकेत र नियमित अनुगमन नहुँदा यो सडक ‘मृत्यु मार्ग’ बन्दै गएको उनीहरूको आरोप छ। पटक–पटक दुर्घटना हुँदा पनि सम्बन्धित निकाय मौन बस्नु र घटना भएपछि मात्र प्रतिक्रिया दिनु गम्भीर लापरवाही भएको टिप्पणीसमेत हुन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट