लोकतन्त्रको शवमाथि वंशवादको शासनः मृगेन्द्र परिवारको सत्ता लुट, उपेन्द्र यादवको खुला संरक्षण

राजविराज — लोकतन्त्रमा सत्ता जनताबाट निर्वाचित प्रतिनिधिमार्फत सञ्चालन हुन्छ भन्ने मान्यता छ। तर सप्तरीको पछिल्लो राजनीतिक अभ्यास हेर्दा त्यो सिद्धान्त क्रमशः खण्डित हुँदै गएको देखिन्छ। यहाँ दल फरक–फरक देखिए पनि शक्ति, पहुँच र निर्णय एउटै परिवार वरिपरि घुमिरहेको यथार्थ स्पष्ट बन्दै गएको छ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का मृगेन्द्रप्रसाद सिंह यादव परिवारको राजनीतिक फैलावटले सप्तरीको राजनीति प्रतिनिधित्वभन्दा नियन्त्रणको अभ्यासतर्फ धकेलिएको आरोप बलियो बन्दै गएको छ। साढे तीन दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय मृगेन्द्रप्रसाद सिंह यादव स्वयं राष्ट्रिय पञ्चायतदेखि संघीय लोकतान्त्रिक व्यवस्थासम्म सत्ता र शक्तिको केन्द्रमा रहे।

पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य, सहायक सिचाइ मन्त्री, जलस्रोत समितिका सभापति हुँदै उनी बहुदलीय व्यवस्थापछि पनि सांसद, मन्त्री हुँदै राष्ट्रिय सभा सदस्यसम्म बने। दल फेरिरहे। सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक र राजपा हुँदै अहिले उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा छन्। तर सत्ता नछाड्ने निरन्तरता भने कहिल्यै टुटेन।

यो राजनीतिक निरन्तरताको विस्तार अहिले परिवारमै केन्द्रित देखिन्छ। मृगेन्द्रका भाई हुँदै राजनीति छोरी र भतिजोतर्फ सर्दैछ। मृगेन्द्रकी छोरी बबीसिंह यादव जसपाकी केन्द्रीय सदस्य मात्र होइन, फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाइएकी छन्। केही समय अघि ‘पेस्तोल काण्ड’ जस्ता विवादले चर्चामा आएकी उनलाई पनि पार्टीले राजनीतिमा अगाडि सारेको छ। यसले जसपाभित्र योग्यता र आचरणभन्दा परिवारिक पहुँच नै निर्णायक भएको आरोपलाई बल दिन्छ।

मृगेन्द्रकै राजनीतिक छायाँमा अघि बढेका पात्र हुन— उनका भाई अनिरुद्धप्रसाद सिंह यादव। जसपाका पुराना नेता अनिरुद्ध २०७९ को निर्वाचनमा टिकट नपाएपछि पार्टीविरुद्ध उभिए। प्रदेश सभा सदस्याको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उनले जसपाकै आधिकारिक उम्मेदवार (रेणु यादवका छोरा अभिषेक यादव) लाई पराजित गरे। यही निर्वाचनमा मृगेन्द्र यादव स्वयंले पार्टीको निर्णयविपरीत अनिरुद्धलाई सघाएको आरोप खुलेआम लाग्यो। परिणामस्वरूप पार्टीभित्र ठूलो विवाद चुलियो, रेणु यादव पार्टी छोडेर हिँडिन्, जसपा आन्तरिक रूपमा चिरा पर्‍यो। यद्यपी, चुनावअघि रेणु पुनः पार्टीमा फर्किएकी छिन्।

अनिरुद्धको पनि राजनीतिक यात्रा विवादमुक्त छैन। प्रदेशसभा सदस्यमा निर्वाचित भएको करिब एक वर्षपछि उनी १६ वर्ष पुरानो हत्या मुद्दामा पक्राउ परे। २०६४ सालमा माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्या प्रकरणमा किटानी जाहेरी परेका उनी लामो समय फरार सूचीमै रहे। फरार रहेकै वेला प्रदेश सभा निर्वाचन लडे र विजयी भए। पक्राउपछि पुर्पक्षका लागि थुनामा पठाइएका अनिरुद्ध प्रदेशसभा सदस्य पदबाट निलम्बित भए। तर उच्च अदालत जनकपुरको आदेशपछि धरौटीमा छुटे र निलम्बन फुकुवा भयो।

त्यसपछि उनी पुरानै पार्टी जसपामा फर्किए। परिवारवादको अर्को सशक्त केन्द्र बोदेबर्साइन नगरपालिका हो। अनिरुद्धका छोरा आतेशकुमार सिंह यादव त्यहाँका मेयर छन्। उनी दोहोर्‍याएर मेयर निर्वाचित भएका हुन। उनी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। यसरी, स्थानीय सरकारदेखि प्रदेशसभा र संघीय संसदसम्म एउटै परिवारको उपस्थिति देखिनु संयोग मात्र नभई योजनाबद्ध राजनीतिक कब्जाको उदाहरणका रूपमा हेर्न थालिएको छ।

यता, मृगेन्द्रप्रसाद सिंह यादवमाथि दोहोरो नागरिकताको गम्भीर आरोप पनि लागेको छ। उनले भारतको बिहार राज्यबाट समेत मतदाता परिचयपत्र लिएको तथ्य खुलेको छ। बिहारको मधुबनी जिल्लाअन्तर्गत बसहा पञ्चायतको बबुराही थानाबाट उनी स्वयं मात्र होइन, उनका दाजुभाइ र श्रीमतीको नाममा समेत भारतीय मतदाता परिचयपत्र बनाइएको भेटिएको हो। यो प्रकरणमा मृगेन्द्रसँगै उनका भाइ अनिरुद्धप्रसाद सिंह यादवको नाम पनि जोडिएको छ।

भारतको पञ्चायत आमनिर्वाचन नामावली–२०२१ (बिहार) अन्तर्गतको मतदाता विवरणमा मृगेन्द्र यादवसहित उनका परिवारका सदस्यहरूको नाम दर्ता रहेको देखिन्छ। उक्त मतदाता नामावलीको सूची नम्बर ४५३ मा यादवको मतदाता नम्बर डब्लुसीडी १३७५७२४ उल्लेख छ। भारतीय मतदाता विवरणमा उनले श्रीमतीको नाम ‘सुनिता देवी’ राखेका छन् भने नेपालका आधिकारिक कागजातहरूमा उनकी श्रीमतीको नाम ‘सरिता सिंह यादव’ उल्लेख गरिएको पाइएको छ।

भारतीय मतदाता परिचयपत्र रहेको आधारमा उनलाई राष्ट्रिय सभा सदस्य पदबाट पदमुक्त गरिनुपर्छ भन्दै युवराज सफलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष लिखित उजुरी दिएका थिए। उजुरीसँगै सफलले भारतीय मतदाता परिचयपत्र र त्यससँग सम्बन्धित विवरणहरू प्रमाणका रूपमा पेस गरेका थिए।

यस विषयमा सञ्चारमाध्यमसँग कुरा गर्दै यादवले विगतमा भारतका केही शिक्षकहरूले आफू र आफ्नो परिवारका सदस्यहरूको नाम भारतीय मतदाता सूचीमा समावेश गरिदिएको स्वीकारेका थिए। तर, आफूले कहिल्यै भारतमा मतदान नगरेको उनको दाबी छ। ‘भारतको बसहामा हाम्रो घर र जग्गाजमिन छ। त्यही कारण त्यहाँका केही शिक्षकहरूले हाम्रो परिवारका सदस्यहरूको पनि नाम भोटर लिस्टमा लेखाइदिएका हुन्। तर मैले त्यहाँ कहिल्यै भोट खसालेको छैन,’ यादवले पत्रकारसँग भनेका थिए। उनले थप्दै भने, ‘त्यहाँ हाम्रो मौजा थियो। धेरैजसो जग्गाजमिन बेचिसकेका छौं, तर अझै पनि धेरै जग्गा बाँकी नै छ।’

यादवका अनुसार भारतको बसहामा उनीहरूको परिवारले सयौं बिघा मौजा पाएको थियो र अहिले पनि करिब १७–१८ बिघा जग्गा बाँकी छ। ‘त्यहाँ अहिले पनि खेतिपाती हुन्छ। खेतीको कामका लागि म्यानेजरसहित स्टाफहरू राखिएको छ,’ उनले बताए।

उनका अनुसार उनिहरु पाँच दाजुभाइ (मृगेन्द्र, व्रिजेन्द्र, गजेन्द्र, अनिरुद्ध र दिलिप) छन् र पाँचै दाजुभाइको नाममा भारतमा जनही १७ देखि १८ बिघासम्म जग्गा छ। नेपालमा पनि तत्कालीन राजा महेन्द्रले २०१३ सालमा २२ वटा मौजा प्रदान गरेको उनको दाबी छ। ‘नेपालमा चन्द्रावती स्कूलको नाममा २०१३ सालमा राजा महेन्द्रले मेरो बुवा शत्रुघनप्रसाद यादवलाई २५० बिघा मौजा दिनुभएको थियो। अहिले पनि स्कूलको नाममा १६१ बिघा जग्गा बाँकी छ,’ यादवले भने।

नेपालमा आफ्नो नाममा पनि करिब १० बिघा जग्गा अझै कायम रहेको उनले बताएका छन्। उनका अनुसार उनका बुवालाई तत्कालीन राजा महेन्द्रले ‘सिंह’को उपाधि प्रदान गरेका थिए। त्यसपछि उनिहरुले ‘कुमार यादव’को सट्टा ‘प्रसाद सिंह यादव’ लेख्दै आएको बताएका छन्।

‘मेरो बुवा राष्ट्रिय पञ्चायत सदस्य पनि बन्नुभएको थियो। सूर्यबहादुर थापाको क्याबिनेटमा उहाँ सिँचाइ सहायक मन्त्रीसमेत बन्नुभएको थियो। अहिले आएर दोहोरो नागरिकताको विवाद निकाल्नु भनेको मलाई दुःख दिनु मात्र हो,’ यादवको भनाइ छ।

यसरी, राष्ट्रिय सभामै उजुरी दर्ता हुँदा पनि त्यस विषयमा छानविन भएको छैन। छानबिन टुंगोमा नपुग्दै उनी निरन्तर राष्ट्रिय राजनीतिमा सक्रिय रहनु राज्य संयन्त्रको मौनतामाथि पनि प्रश्न हो। कानुनभन्दा माथि पहुँच र प्रभाव चल्ने हो भने लोकतन्त्रको अर्थ के रहन्छ भन्ने बहस सप्तरीमा मात्र होइन, राष्ट्रिय तहमा उठ्न थालेको छ।

आजको सप्तरीको राजनीति हेर्दा दलहरू नामका लागि मात्र फरक देखिन्छन्, सत्ता भने एउटै परिवारमा घुमिरहेको छ। कहिले राष्ट्रिय सभामा, कहिले प्रदेशसभामा, कहिले नगरपालिकामा, त कहिले प्रत्यक्ष निर्वाचनको मैदानमा। जनताले भोट हाल्ने विकल्पहरू फरक देखिए पनि अन्ततः निर्णय, प्रभाव र शक्ति एउटा परिवारमै सीमित हुने अवस्था सिर्जना भएको भन्दै आलोचना चर्किँदै गएको छ।

लोकतन्त्रमा परिवारको राजनीतिक सहभागिता अपराध होइन। तर एउटै परिवारले निरन्तर रूपमा पद, पार्टी र सत्ता कब्जा गर्दै जाँदा त्यो लोकतन्त्र होइन, वंशवादी संरचना बन्छ। सप्तरीमा अहिले उठिरहेको मूल प्रश्न पनि यही हो—यो जनप्रतिनिधिको शासन हो कि एउटै परिवारद्वारा सञ्चालित राजनीतिक साम्राज्य?

यो सवै प्रकरणको संरक्षण भने जसपा नेपालकाका अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन्। उनी पार्टीका कुनै पनि नेता/कार्यकर्ताको विरुद्धमा कुनै पनि कुरा सुन्न तयार छैनन्। मृगेन्द्रप्रसाद सिंह यादव परिवार मात्रै होईन, किर्ते गरेर नेपाली नागरिक्ता लिएका शैलेन्द्रमोहन झालाई उनले चुनावको सारथी नै बनाएका छन्। अध्यक्ष यादवका यस्तै प्रकणले उनी आफै पनि सुरक्षित छैनन्। हरेक पटक क्षेत्र परिवर्तन गर्नु उनका लागि नियमित प्रकृया जस्तै भएको छ।

चौथो पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सप्तरी २ मा आई पुगेका अध्यक्ष यादव एक कार्यकाल विशाल मत ल्याएर निर्वाचित भए। तर, कुरा अनुसार काम नगरेपछि त्यहाँका जनताले उनलाई ०७९ को निर्वाचनमा पराजित गरी दण्ड दिए। जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको लज्जास्पद हारपछि उनी आसन्न निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। यो उनको पाँचौ निर्वाचन क्षेत्र परिवर्तन हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट