जसपामा भूकम्पः लहानका उपमेयरसहित ७ नेता एकैचोटि निष्कासित, चुनावअगाडि पार्टीभित्र खुल्यो गुटयुद्ध

लहान — चुनावको मुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको आन्तरिक किचलो फेरि सतहमा आएको छ। पार्टी अनुशासनको नाममा यसपटक सिरहाकोलहान नगरपालिकाकै उपमेयरसहित सात जना नेतामाथि एकैपटक ‘निर्दयी’ कारबाही गरिएको छ।

स्थानीय तहको नेतृत्व सम्हालिरहेका जनप्रतिनिधिलाई समेत जोगाउन नसक्ने अवस्था आउनुले जसपाको जिल्ला संगठनभित्र गम्भीर दरार परेको संकेत दिएको छ। गत स्थानीय तह निर्वाचनबाट जसपा नेपालको तर्फबाट लहान नगरपालिकाको उपमेयरमा निर्वाचित रामचलितर महतोलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

निर्वाचित जनप्रतिनिधिलाई नै पार्टीबाट हटाउने निर्णयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। पार्टीकै चुनाव चिन्हबाट जितेको उपमेयरलाई बीच कार्यकालमै हटाइनुले जसपाभित्र नेतृत्व–कार्यकर्ताबीचको टकराव खुला रूपमा बाहिरिएको विश्लेषण हुन थालेको छ।

जसपा नेपालको सिरहा जिल्ला कार्यसमितिले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार महतोसँगै अन्य प्रभावशाली नेतामाथि पनि कारबाही गरिएको छ। नरहा गाउँपालिकाका अध्यक्षका प्रत्यासी तथा जिल्ला अधिवेशन प्रतिनिधि रामसोगारथ यादव, हरिनारायण यादव र महेश यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको छ।

त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश गोइत यादव, सोही वडाका पार्टी वडा समिति अध्यक्ष योगेन्द्र झा र लहान नगर समिति सचिव रामऔतार महतोसमेतलाई साधारण सदस्यता समेत खारेज हुने गरी पार्टीबाट बाहिर निकालिएको छ।

जिल्ला अध्यक्ष अशोक कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनीहरूले पार्टीको नीति, विधान, अनुशासन र हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। तर ती गतिविधि के–के हुन् भन्ने विषयमा पार्टीले स्पष्ट खुलासा नगरेकाले कारबाही राजनीतिक प्रतिशोध, गुटबन्दी वा शक्ति संघर्षको परिणाम त होइन भन्ने प्रश्न उठ्न थालेको छ।

स्थानीय तहमा निर्वाचित उपमेयरदेखि वडा अध्यक्ष र संगठनका जिम्मेवार पदाधिकारीसम्मलाई एकैसाथ निष्कासन गर्नुले जसपाको जिल्ला संगठनभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद चरम बिन्दुमा पुगेको देखिन्छ। चुनाव नजिकिँदै गर्दा यस्ता कदमले पार्टीको जनआधार थप कमजोर हुने र कार्यकर्तामा नैराश्यता बढ्ने चिन्ता समेत व्यक्त हुन थालेको छ।

‘परिवर्तन’ र ‘समावेशी राजनीति’को नारा बोकेर अघि बढेको जसपा आफ्नै घरभित्रको असन्तोष व्यवस्थापन गर्न नसक्दा अनुशासनको डण्डा चलाउन बाध्य भएको देखिन्छ। तर जनमतबाट निर्वाचित प्रतिनिधिलाई पार्टीबाटै निष्कासन गर्नुले पार्टीको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। सिरहामा जसपाको संगठन अब सुदृढ हुने कि अझै छिन्नभिन्न हुने भन्ने कुरा आगामी दिनका गतिविधिले तय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट