उदयपुरमा ‘जन्मभूमि’को भावनात्मक कार्ड खेल्दै चुनावी च्याँखे थाप्दै गेलाल, राजनीतिक दाउपेचमाथि उठे गम्भीर प्रश्न

बेल्टार (उदयपुर)– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै जाँदा उदयपुर क्षेत्र नम्बर–१ को राजनीतिक माहौल तातिरहेको छ। यही बीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारसमणि गेलालले सामाजिक सञ्जालमा ‘जन्मभूमिको मायाँले ओतप्रोत भएको’ स्ट्याटस सार्वजनिक गरेका छन्।

फेसवुकमा सार्वजनिक भएको उनको कथाले भावनात्मक तरंग त सिर्जना गरेको छ, तर त्यसले उठाएका प्रश्नहरू भने अझै गम्भीर र असहज छन्। उनले स्ट्याटसमा ‘गाउँको सम्झना, बाल्यकालको दुःख, बिरामी पर्दा नदी तरेर अस्पताल पु¥याएको कथा, विकासको अभाव, धुलाम्मे सडक, भत्किएका पुल, बेरोजगारी, विदेश पलायन’ जस्ता शब्दहरु बडो मार्मिक ढंगले उठाएका छन्। उनका शब्दहरू पीडाले भरिएका छन्।

स्ट्याटस पढ्दा लाग्छ, यो कुनै उम्मेदवारको स्ट्याटस नभएर गाउँ छोड्न बाध्य भएको एक सामान्य नागरिकको आत्मकथा हो। तर ठीक त्यही ठाउँमा राजनीति सुरु हुन्छ। व्यक्तिगत स्मृतिलाई मत माग्ने हतियार बनाइँदा संवेदनशीलता र रणनीतिको सीमा धमिलो हुन्छ।

गेलालले तीन दशकमा भएका कतिपय विकासका पुर्वाधारहरुको नाम लिँदै त्यसलाई असफल करार गरेका छन्, राज्यलाई भ्रष्ट भन्छन् र आफूले ‘शून्य भ्रष्टाचारमा विकास देखाउने’ दाबी गर्छन्। तर कसरी? कुन योजना? कुन प्राथमिकता? कुन बजेट? कुन संरचना? यी प्रश्नहरूको जवाफ उनको स्ट्याटसमा कतै भेटिँदैन। नाराहरू छन्, आक्रोश छ, आरोप छन— तर ठोस कार्यक्रमको खाका छैन।

उनको राजनीतिक प्रस्तुति स्पष्ट रूपमा ‘एण्टी–इस्ट्याब्लिस्मेन्ट’ शैलीको छ। भत्किएको पुल देखाएर पुराना दललाई असफल सावित गर्न खोजिएको छ। ‘भ्रष्टको फाइल बनाएर कारबाही’ गर्ने चेतावनी दिइएको छ। तर प्रमाणबिना गरिने यस्ता आक्रामक अभिव्यक्तिले समाधानभन्दा बढी उत्तेजना पैदा गर्छ। विकास बहसलाई तथ्य र नीतिभन्दा भावनात्मक क्रोधतिर मोड्ने प्रयास जस्तो देखिन्छ।

अर्कोतर्फ, उनी आफूलाई उदयपुरको सन्तान भनेर चिनाउन खोज्छन्, तर स्थायी ठेगाना सुनसरीको इनरुवा हो। यसले स्थानीय मतदातामा स्वाभाविक प्रश्न उठाउँछ— चुनावको बेला मात्र ‘जन्मभूमि’ सम्झिनु कत्तिको स्वाभाविक छ? वर्षौंदेखि स्थानीय राजनीतिक, सामाजिक र आर्थिक संघर्षमा नदेखिएको व्यक्ति अचानक ‘उद्धारकर्ता’ बनेर आउँदा त्यसलाई कत्तिको विश्वसनीय मान्ने? यो प्रश्न भावनात्मक होइन, राजनीतिक हो।

स्थानीयका अनुसार गेलालको अघिल्लो निर्वाचन इतिहास पनि धेरै बलियो देखिँदैन। सुनसरीको इनरुवामा उपमेयर उठ्दा ५२ मत पाएका उनी अहिले ‘घण्टी लहर’को भरमा उदयपुरमा नेतृत्व खोजिरहेका छन्। यसले उनलाई स्वतन्त्र लोकप्रियताभन्दा पार्टीको ट्रेन्डमा निर्भर उम्मेदवारको रूपमा देखाउँछ। स्थानीय आधारभन्दा ‘ब्रान्ड’ को भरोसा बढी देखिनु चुनावी जोखिम नै हो।

उनको स्ट्याटसमा समस्या धेरै छन— शिक्षा कमजोर, अस्पताल टाढा, सडक दुरावस्था, रोजगारी अभाव, भ्रष्टाचार व्याप्त। तर समाधान भने ‘म गर्छु’ मै सीमित छ। राजनीतिमा इच्छा मात्र काफी हुँदैन, क्षमता र योजना आवश्यक पर्छ। भावनाले चुनाव जित्न सकिएला, तर विकास चलाउन तथ्य, नीति र व्यवस्थापन चाहिन्छ।

‘समग्रमा, पारसमणि गेलालको प्रस्तुति संवेदनशील कथाभन्दा बढी चुनावी रणनीति जस्तो देखिन्छ— दुःखको स्मृति बेचेर विश्वास किन्ने प्रयास।’ कतिपय मतदाता भन्छन्– ‘तर मतदाता अहिले पहिलेभन्दा सचेत छन्। हामीलाई आँसु होइन, उत्तर चाहिएको छ। कथा होइन, कार्ययोजना चाहिएको छ।’

अब फैसला मतदाताको हातमा छ— भावनात्मक अपिललाई पत्याउने कि ठोस आधार र विश्वसनीय योजनाको खोजी गर्ने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट