डमी, कुखुरा र लम्पसार राजनीतिः रास्वपाका उम्मेदवारको ‘स्टन्ट शो’ ले चुनावी मर्यादा ध्वस्त
काठमाडौँ— चुनाव नजिकिँदै जाँदा मतदाताको मन जित्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो, भेटघाट र एजेन्डा प्रस्तुत गर्नुपर्ने हो। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही उम्मेदवारको गतिविधि भने नीति र कार्यक्रमभन्दा बढी तमासा र चटकतर्फ मोडिएको देखिएको छ।
गोरखा–१ का उम्मेदवार सुधन गुरुङले कपडा पसलमा राखिएको डमीसँगै भोट मागेको दृश्य सार्वजनिक भएपछि चुनावी राजनीति गम्भीर बहसबाट प्रदर्शनमुखी नाटकमा सीमित भएको टिप्पणी हुन थालेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गुरुङ डमी अगाडि उभिन्छन् र ‘मलाई भोट दिनुहोला, घरदैलो गर्दै आएको हुँ’ भन्दै संवाद गर्छन्। जवाफ नआएपछि चस्मा खोलेर ‘ए ! सरी’ भन्दै फर्किन्छन्। दृश्य हेर्दा हास्यास्पद लागे पनि यसले एउटा गम्भीर प्रश्न उठाएको छ— मतदाता अब राजनीतिक कार्यक्रम सुन्न पाउने कि केवल ‘कन्टेन्ट’ बन्ने?
गुरुङको यो शैली नयाँ होइन। गत भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा पानी बाँड्दै चर्चामा आएका उनी त्यसयता विवादास्पद अभिव्यक्तिका कारण निरन्तर आलोचनामा छन्। ‘संविधान राखौँ कि च्यातौँ’ जस्तो अराजनीतिक टिप्पणीदेखि रवि लामिछाने र बालेन्द्र साहलाई एउटै कोठामा थुनेर बाहिरबाट ताल्चा लगाउने जस्ता हर्कतले उनी राजनीतिकभन्दा बढी स्टन्टबाज पात्रका रूपमा चिनिँदै आएका छन्।
कुलमान घिसिङलाई जबर्जस्ती रास्वपामा मिसाइएको भन्दै प्रचार गरिएको घटनाले समेत उनको शैलीलाई गम्भीर नेतृत्वभन्दा ‘ड्रामाटिक प्रस्तुति’सँग जोडेको छ। गुरुङमात्र होइन, रास्वपाका अन्य उम्मेदवारहरू पनि यस्तै गतिविधिका कारण चर्चामा छन्।
धादिङ–१ की उम्मेदवार आशिका तामाङले कुखुराको भाले र बाख्राको पाठोसँग भोट मागेको दृश्य सार्वजनिक भइसकेको छ। विवाह भोजमा पुगेर भोट माग्दा स्थानीयले प्रश्न उठाएपछि विवाद सिर्जना भएको अर्को भिडियो पनि भाइरल छ। विदेशी नागरिकता सम्बन्धी आरोपमाथि सोधिएको प्रश्नमा उनी आक्रोशित बनेको दृश्यले स्थिति झनै असहज बनाएको देखिन्छ।
नुवाकोट–२ का उम्मेदवार अच्युतम लामिछाने मतदाताको अगाडि लम्पसार परेको तस्वीरले समेत चुनावी अभियानलाई नीतिगत बहसभन्दा भावनात्मक र नाटकीय प्रदर्शनतर्फ धकेलिरहेको संकेत गर्छ।
रास्वपा आफूलाई ‘पुरानो राजनीतिक संस्कारको विकल्प’ भनेर प्रस्तुत गर्दै आएको पार्टी हो। तर डमी, जनावर वा नाटकीय हर्कतमार्फत मत माग्ने प्रवृत्तिले त्यो दाबीलाई नै उल्ट्याइरहेको छ। विकल्पको राजनीति भनेको गम्भीर नीति, स्पष्ट योजना र जिम्मेवार व्यवहार हुनुपर्नेमा यहाँ चुनाव मनोरञ्जन जस्तो बन्दै गएको छ। मतदातालाई हँसाएर होइन, विश्वस्त बनाएर जित्नुपर्ने ठाउँमा दृश्य–प्रदर्शनलाई प्राथमिकता दिँदा राजनीति स्वयं हल्का बन्दै जाने जोखिम देखिन्छ।
अन्ततः चुनावी मैदान स्टन्ट देखाउने मञ्च होइन, सार्वजनिक नीतिको परीक्षा स्थल हो। डमीसँग संवाद गरेर, जनावरसँग भोट मागेर वा लम्पसार परेर केही क्षणको भाइरलता त कमाउन सकिएला, तर त्यसले शासन चलाउने क्षमता प्रमाणित गर्दैन। ‘देश चलाउने नेतृत्व चाहिएको हो कि ‘भिडियो क्लिप’ बनाउने पात्र?’ यसको जवाफ मतदाताले नै दिनुपर्नेछ। तर अहिलेका दृश्यहरूले रास्वपाको चुनावी शैलीमाथि गम्भीर चिन्ता र बहस अपरिहार्य बनाइदिएको छ।
