नकारात्मक भोटिङदेखि ‘स्टन्ट राजनीति’सम्मः नानीमैयाँको पुनरावृत्ति त होइनन् बालेन ?

काठमाडौँ – नेपाली राजनीतिक इतिहासमा बेलाबेला यस्ता पात्र जन्मिन्छन्, जसले जित्दा पनि प्रणाली जित्दैन र हार्दा पनि विचार हार्दैन। उनीहरू आशाका प्रतिनिधि होइनन्, आक्रोशका प्रतीक हुन्छन्। उनीहरूको उदय निर्माणका लागि होइन, विरोधका लागि हुन्छ। क्षणिक उत्साहमा उठ्ने यस्ता पात्रहरूले भीडको ताली त पाउँछन्, तर इतिहासमा उनीहरू प्रायः एउटा प्रयोगका रूपमा मात्र सिमित हुन्छन्।

पञ्चायतकालीन मालेले जन्माएको ‘नकारात्मक भोटिङ’ मार्फत उदाएकी नानीमैयाँ दाहाल र आज वैकल्पिक राजनीतिको नाममा उदाइरहेका बालेन्द्र साह (बालेन) को उभारलाई एउटै ऐनामा राखेर हेर्दा, समय फरक भए पनि प्रवृत्ति उस्तै देखिन्छ। इतिहासको पुरानो छायाँ फेरि वर्तमानमा फैलिँदै गरेको अनुभूति हुन्छ।

पञ्चायतकालको नेकपा (माले) आजको एमाले उग्र र टकराववादी थियो। मालेले ०३७ सालको जनमत संग्रह बहिष्कार नगरेको भए त्यतिबेलै बहुदल आउन सक्थ्यो भन्ने तर्क आज पनि सुनिन्छ। तर बहिष्कारकै कारण करिब चार लाख मतको अन्तरले पञ्चायत बलियो बन्यो। त्यसको रिस, असन्तोष र निराशाले मालेले ०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा चुनाव जित्ने होइन, चुनावकै वैधतामाथि व्यंग्य ‘नकारात्मक भोटिङ’ को रणनीति अपनायो। वीरगञ्ज, झापा र काठमाडौंमा चुनावलाई नै व्यंग्य बनाउने योजना बनाइयो।

काठमाडौंमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरलाई उठाउने सोच थियो, तर पार्टीले औपचारिक बहिष्कार नीति लियो। त्यसपछि युवा नेताहरूले ‘गम्भीर राजनीति’ भन्दा ‘व्यंग्यात्मक राजनीति’ रोजे। पञ्चायतलाई लाजमर्दो बनाउने पात्र खोजियो। यही क्रममा भेटिइन् नानीमैयाँ दाहाल।

गोल्छे सार्कीले असनबाट पार्टी कार्यालय पुर्‍याएकी नानीमैयाँ कुनै राजनीतिक कार्यकर्ता थिइनन्। उनी प्रणालीविरुद्धको प्रतीक बनाइएकी पात्र मात्र थिइन्। छाडा शब्द, उत्तेजक व्यवहार र सार्वजनिक मर्यादा भंग गर्ने शैलीलाई नै ‘राजनीतिक हतियार’ बनाइयो। पञ्चायतको गम्भीर अनुहारमाथि खुला व्यंग्य गर्ने उद्देश्यले उनलाई उम्मेदवार बनाइयो।

तर परिणामले सबैलाई चकित पार्‍यो। ०३८ सालको चुनावमा स्थापित पञ्चहरू पराजित भए र नानीमैयाँ जितिन्। त्यो जित नेतृत्वको स्वीकार्यता थिएन, त्यो व्यवस्था विरोधको विस्फोट थियो। जनताले पात्र रोजेका थिएनन्, पञ्चायतलाई हराउन मत दिएका थिए।

तर आक्रोशले जितेको राजनीति धेरै टिक्दैन। केही वर्षमै उनको प्रभाव शून्यमा झर्‍यो। बहुदल आएपछि उनी ७०–८० मतमा सीमित भइन्। एक समय राष्ट्रिय पञ्चायत पुगेकी पात्र अन्ततः राजनीतिक इतिहासको फुटनोट बनिन्। विरोधले उचालेको उचाइ धेरै दिन टिकेन।

चार दशकपछि काठमाडौंले फेरि उस्तै मनोविज्ञान दोहोर्‍यायो। भ्रष्टाचार, अकर्मण्यता र दलगत भागबण्डाबाट आजित जनताले ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई मेयर बनाए। धेरैले यसलाई ‘नयाँ राजनीति’ भने। तर प्रश्न उठ्छ—यो साँच्चै नयाँ थियो, कि पुरानै नकारात्मक भोटिङको आधुनिक संस्करण?

स्थापित दलप्रतिको घृणा, ‘पुराना सबै चोर’ भन्ने भाष्य र सामाजिक सञ्जालको उभारबाट जन्मिएको यो लहर पनि मूलतः आक्रोशकै राजनीति थियो। भावनाले जित दिलायो, तर शासन भावनाले चल्दैन।

मेयर बनेपछि देखिएको शैलीले त्यही संकेत दियो। नीति र संरचनाभन्दा स्टन्ट र टकरावलाई प्राथमिकता दिइयो। सुकुम्बासी बस्तीमा डोजर, सडक व्यापारीमाथि लाठी, ठेला–नाङ्लो व्यवसायी विस्थापन, संवादभन्दा आदेश र सहभागिताभन्दा प्रदर्शन। ‘जनताको मेयर’ को छवि विस्तारै ‘कठोर प्रशासक’ मा रूपान्तरित भयो। नागरिकसँग भेट्नै नपर्ने गरी छुट्टै लिफ्ट, आलोचकलाई शत्रु देख्ने प्रवृत्ति, प्रमुख प्रशासकीय अधिकृतसँग टकराव, बजेट खर्च हुन नसक्नु, विकासका काम ठप्प हुनु। यी सबै सुधार होइन, अव्यवस्थित नेतृत्वका संकेत हुन्।

राजनीतिमा सबैभन्दा खतरनाक कुरा शक्ति होइन, अहंकार हो। जब निर्वाचित व्यक्ति आफूलाई कानुनभन्दा माथि ठान्न थाल्छ, त्यहीँबाट पतन सुरु हुन्छ। संघीय सरकारको अनुमति बिना महानगरको पैसामा विदेश भ्रमण यसको उदाहरण हो। अहिले त्यो खर्च बेरुजु भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भईसकेको छ। यी घटनाले ‘सिस्टम बदल्छु’ भन्ने दाबीलाई उल्टै कमजोर बनाउँछन्। भाषण सजिलो हुन्छ, प्रशासन चलाउन अनुशासन चाहिन्छ।

विडम्बना अझ गहिरो छ। कहिले सबै दललाई ‘फ..’ भन्दै गाली गर्ने र ‘नयाँ पुराना– सबै चोर’ भन्ने व्यक्ति अन्ततः पार्टी संरचनामै मिसिन पुगेका छन्। जसलाई विकल्प भन्दै आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाईएको छ। उनले आफैले चोर भनेको पार्टीमा मिसिएर बालेन चुनावी मैदानमा छन्। अर्थात रास्वपाको चुनावी मोहरा बन्दै गएका छन्।

उनी झापा–५ मा उम्मेदवार बन्नु वैकल्पिक राजनीति भन्दा रणनीतिक प्रयोग जस्तो देखिन थालेको छ। प्रश्न उठ्छ—उनी नेतृत्व गरिरहेका छन् कि कसैले उनलाई चलाइरहेको छ? यो दृश्य ०३८ सालकै प्रतिध्वनि हो। त्यतिबेला पनि पात्र अगाडि थिए, निर्देशकहरू पर्दा पछाडि। जनताले विद्रोह ठाने, परिणाम क्षणिक रह्यो। आज पनि राजनीति केवल ‘पुरानालाई हराऊ’ भन्ने नारामा सीमित रह्यो भने भोलि फेरि अर्को नानीमैया जन्मिनेछ, तर प्रणाली जस्ताको तस्तै रहनेछ।

इतिहासको कठोर पाठ स्पष्ट छ—विरोधले ढोका खोल्छ, तर निर्माणले मात्रै घर बनाउँछ। नकारात्मक भोटिङ, स्टन्ट र आक्रोशले चुनाव जितिएला, तर राज्य चलाउन विचार, नीति, संगठन र संयम चाहिन्छ। त्यो बिना उठेको लहर बालुवामा बनेको घर जस्तै हुन्छ—पहिलो हुण्डरीमै भत्किन्छ।

नेपाली राजनीतिले यस्ता क्षणिक नायक धेरै देखिसकेको छ। केही वर्ष ताली, त्यसपछि मौनता। आजको उभार पनि त्यही बाटो दोहोरिने हो कि साँच्चै संस्थागत विकल्प बन्ने हो, त्यो निर्णय भावनाले होइन, व्यवहारले गर्नेछ। इतिहास फेरि प्रतीक्षा गरिरहेको छ—अर्को प्रयोग असफल हुन्छ कि परिपक्व बन्छ समयले बताउँने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट