सत्ताको छायाँमा ‘भन्सार छली काण्ड’ दबाउने खेलः १ दिन सप्तरीमा देखियो, फेरि हरायो बालेन चढेको ‘डिफेण्डर’
काठमाडौँ— सत्ता परिवर्तनको हावा हुण्डरीसँगै बहुचर्चित ‘डिफेण्डर काण्ड’ लुकाउने प्रयास भईरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को नेतृत्वमा सरकार बन्ने निश्चित भएसँगै भन्सार छलेर भित्र्याएको महँगो सवारी साधन तत्काल सडकमा देखिनु र फेरी वेपत्ता हुनु संयोग नभई सत्ताको छायाँमा हुने शक्तिको खेलका रुपमा देखिएको छ।
फागुन २६ गते मंगलबार सप्तरीको रुपनी क्षेत्रमा देखिएको उक्त कालो डिफेण्डर ल्याण्डरोभर गाडी लामो समयदेखि लुकाइएको थियो। भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि अदृश्य बनाइएको गाडी अचानक सडकमा देखिनु र त्यसपछि पुनः गायब हुनुले घट्नालाई थप रहस्यमय बनाएको छ।
बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको उक्त गाडी करिब आठ करोड रुपैयाँ बराबरको हो। अनुसन्धानबाट खुलेअनुसार करेण्ट चाउचाउ, सुर्ती तथा गुट्खा उद्योगका सञ्चालक कमलकिशोर मालपानीले सो गाडी ‘कोसेली’का रूपमा बालेनलाई उपलब्ध गराएको तथ्य स्थापित भइसकेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनकपुरदेखि झापा–५ मा उम्मेदवारी दर्ता गर्न जाँदा र त्यसपछि सुर्खेतसम्मको यात्रामा बालेन स्वयंले यही गाडी चलाएको दृश्य सार्वजनिक भएपछि विषयले राजनीतिक तरंग सिर्जना गरेको थियो।
तर व्यापारीसँगको प्रत्यक्ष लेनदेनको चर्को आलोचना बढेपछि बालेनले उक्त गाडी प्रयोग गर्न छोडेका थिए। त्यसैबीच असोज २३ गते वीरगञ्ज भन्सार कार्यालयमार्फत यो गाडीमा ठूलो परिमाणमा राजस्व छली भएको तथ्य बाहिरियो। अनुसन्धानका क्रममा एउटामात्र होइन, सोही मोडेलका दुई वटा गाडी अवैध रूपमा भित्र्याईएको खुलासा भयो। जसमा एउटा गाडीमा ७६ लाख र अर्कोमा ७३ लाख रुपैयाँ राजस्व छली गरिएको पुष्टि भएको छ।
यो प्रकरणमा अन्तर्राष्ट्रिय तहको मिलेमतोसमेत रहेको देखिएको छ। सुन तथा चाँदी व्यवसायसँग जोडिएका विवादास्पद व्यक्ति राकेश अडुकिया र बिचौलिया दिपक भट्टलगायतको संलग्नतामा हङकङमा नक्कली प्रज्ञापनपत्र तयार गरी गाडी नेपाल भित्र्याईएको प्रारम्भिक निष्कर्ष छ। यस विषयमा थप जानकारी संकलन गर्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको र कूटनीतिक तहमा समेत छानबिन विस्तार भएको स्रोतहरूलाई उधृत गर्दै जनआस्था डटकमले लेखेको छ।
घटनाको अर्को संवेदनशील पाटो भनेको अनुसन्धान प्रक्रियामै देखिएको अवरोध हो। भन्सार विभागले प्रहरीमार्फत भैरहवा, वीरगञ्ज र विराटनगर क्षेत्रमा समन्वयका लागि पत्राचार गरे पनि प्रकरणमा संलग्न भनिएका अधिकांश व्यक्तिहरू सम्पर्कविहीन बनेका छन्। मोबाइल फोन बन्द गरेर फरार रहनु, गाडी पटकपटक बुझाउन पत्राचार गर्दा अटेर गर्नु र अन्ततः गाडी लुकाउनुजस्ता गतिविधिले नियोजित रूपमा प्रमाण मेटाउने प्रयास भएको आशंका बलियो बनेको छ।
स्रोतका अनुसार, आफू फस्ने जोखिम बढेपछि कमलकिशोर मालपानीले गाडी लुकाएका थिए। तर बालेन नेतृत्वको सरकार बन्ने सुनिश्चिततासँगै पुनः गाडी बाहिर निकालिएको देखिन्छ। रुपनीमा फागुन २६ गते गाडी रेडिएटर तातिएर बिग्रिएको अवस्थामा फेला परेको थियो। सिप्रदी अटोमोबाइल्सले मात्र मर्मत गर्न सक्ने उक्त सवारी साधन तत्काल पूर्ण मर्मत सम्भव नभएपछि अस्थायी रूपमा बनाएर काठमाडौँ ल्याउन खोजिएको थियो। तर सिरहा पुग्दा फेरि बिग्रिएपछि रातभर त्यहाँ राखेर सामान्य मर्मतपछि काठमाडौँ भित्र्याईएको र अख्तियारको नियन्त्रणमा पर्ने डरले फेरि गायब पारिएको दाबी गरिएको छ।
ट्राफिक प्रहरी स्रोतका अनुसार गाडी देखिएपछि अनुसन्धान सुरु गरिए पनि त्यसलाई नियन्त्रणमा लिन नसक्नु आफैंमा शंकास्पद अवस्था हो। स्रोत भन्छ, ‘अख्तियारको हात लाग्ने डरले गाडी फेरि लुकाइएको छ, तर अनुसन्धान रोकिएको छैन।’ सरोकारवालाहरू भने नयाँ सरकार बनेपछि यो प्रकरण नै ओझेलमा पर्ने गम्भीर आशंका व्यक्त गरिरहेका छन्।
यसअघि कोरोना महामारीका बेला मेडिकल व्यवसायी सुलभ अग्रवालले थर्मल गन तस्करी गरेको प्रकरणमा अख्तियारले सवारी साधन नै नियन्त्रणमा लिएर मुद्दा नटुंगिँदासम्म राखेको उदाहरण प्रस्तुत गर्दै अहिलेको अवस्था त्यसको ठीक विपरीत देखिएको टिप्पणी भईरहेको छ। बालेन निकट शक्तिको प्रभावका कारण सम्बन्धित निकायहरू सक्रिय रूपमा अगाडि बढ्न नसकेको र कानुनी प्रक्रिया कमजोर बनाइएको स्रोतहरूको दाबी छ।
राजनीतिक शक्ति, आर्थिक पहुँच र प्रशासनिक संयन्त्रबीचको मिलेमतोले कानुन कार्यान्वयनमै प्रश्न उठाइरहेको यो प्रकरणले राज्य संयन्त्रको निष्पक्षतामाथि गम्भीर चुनौती खडा गरेको छ।
