श्रीमतीले विदेशबाट पठाएको पैसामा विवाद हुँदा भाइको चिर्पट प्रहारबाट दाजुको मृत्यु
नुवाकोट — नुवाकोटको किस्पाङ गाउँपालिका–३, गुन्साका ५१ वर्षीय सेल बहादुर तामाङविरुद्ध आफ्नै सहोदर दाजु ५२ वर्षीय कामी तामाङको हत्या गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले जन्मकैदको मागसहित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ।
जिल्ला न्यायाधिवक्ता प्रकाश थापाद्वारा दर्ता गरिएको अभियोगपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) र (२) अन्तर्गत कर्तव्य ज्यान कसुरमा कडा सजाय माग गरिएको छ। साथै, मृतकको उपचारमा भएको चार लाख सन्तानब्बे हजार तीन सय सन्तानब्बे रुपैयाँ खर्च प्रतिवादीबाट क्षतिपूर्ति स्वरूप असुल गरिनुपर्ने मागसमेत गरिएको छ।
०८२ फागुन २३ गते बिहान करिब सवा ११ बजे मृतक कामी तामाङ आफ्नै घरको आँगनछेउको धारामा पानी भर्दै थिए। त्यही समयमा पछाडिबाट आएका भाइ सेल बहादुरले अचानक दाउराको चिर्पटले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका कामी आँगनको डिलबाट लडेर अचेत अवस्थामा पुगेका थिए।
घटनापछि तत्काल उद्धार गरी त्रिशूली अस्पताल पुर्याइए पनि अवस्था गम्भीर रहेकाले सोही दिन काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा स्थानान्तरण गरिएको थियो। पाँच दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेपछि फागुन २७ गते साँझ करिव ६ बजे उनको निधन भएको थियो।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्टले टाउकोमा लागेको गम्भीर चोटकै कारण मृत्यु भएको स्पष्ट पारेको छ। घटनास्थलबाट बरामद गरिएको काठको चिर्पटलाई मुख्य हतियारका रूपमा प्रमाणका रूपमा पेश गरिएको छ।
अनुसन्धानका क्रममा प्रतिवादी सेल बहादुरले अपराध स्वीकार गरेका थिए। पुरानो पारिवारिक विवाद र तत्कालको आवेगका कारण घट्ना भएको उनको भनाई छ। बयानअनुसार उनकी श्रीमतीले वैदेशिक रोजगारीबाट कमाएको रकम दाजु र भाउजूलाई राख्न दिएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो।
घटनाको दिन पनि सोही पृष्ठभूमिमा दाजुले सोधपुछ गर्दै ‘लाटो’ भन्दै गाली गरेपछि आफू आवेगमा आएर प्रहार गरेको उनले बताएका छन्। घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीहरूले पनि पानी भर्दै गरेका कामी तामाङमाथि पछाडिबाट अचानक प्रहार गरिएको बताएका छन्। उनीहरूले घटनास्थलको अवस्था, घाइतेलाई उद्धार गरी अस्पताल लगिएको विवरण र त्यसपछिको परिस्थितिबारे दिएको बयान अभियोगपत्रमा समेटिएको छ।
सरकारी वकिल कार्यालयले घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट, बरामद हतियार, प्रतिवादीको साविती बयान र साक्षीहरूको भनाइलाई बलियो प्रमाणका रूपमा अदालतसमक्ष पेश गरेको छ। हाल प्रतिवादी प्रहरी हिरासतमा रहेका छन् र अदालतमा थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ।
